• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

भरतपुरको कोरोना प्रयोगशाला नसर्दा पक्षी प्रयोगशाला प्रभावित

  • रासस

भरतपुरको कोरोना प्रयोगशाला नसर्दा पक्षी प्रयोगशाला प्रभावित

 

माघ २१,२०७८

 

चितवन – कोरोना सङ्क्रमण सुरु भएदेखि राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला नसर्दा पक्षीरोगको परीक्षण गर्न समस्या भएको छ । पक्षीको पिसीआर प्रभावित हुँदा बर्डफ्लूजस्ता रोगको पहिचानमा कठिनाइ भएको हो ।

नेपालमा बर्डफ्लू रोग देखापरिसकेको अवस्थामा पोल्ट्रीको राजधानीका रूपमा परिचित यहाँको राष्ट्रिय प्रयोगशालामा परीक्षणको काम गर्न नपाउँदा काठमाडौँ पठाउनुपर्ने बाध्यता छ । सरोकारवालाले मानव स्वास्थ्यलाई मात्रै प्राथमिकता दिएका कारण पक्षीको पिसीआर प्रयोगशाला सञ्चालनमा ध्यान नपुगेको हो ।

राष्ट्रिय पक्षीरोग प्रयोगशाला भरतपुरमा पक्षीको पिसीआर प्रयोगशाला रहेको कक्षमा विसं २०७६ चैतदेखि भरतपुर अस्पतालको कोभिड प्रयोगशाला सञ्चालनमा रहेको छ । प्रयोगशालाका प्रमुख डा चेतनारायण खरेलका अनुसार अस्पतालको मुख्य पिसीआर उपकरणबाहेक अन्य सबै उपकरण र ठाउँ प्रयोगशालाकै प्रयोग भइरहेको छ । प्रयोगशाला सञ्चालन गर्न नपाउँदा कुखुरामा लाग्ने एभिएन इन्फ्लून्जा र एलाइजाजस्ता रोगको परीक्षण प्रभावित भएको उनले बताए ।

प्रयोगशालाले दुईपटक भरतपुर अस्पताललाई ठाउँ खाली गरिदिन पत्राचार गरिसकेको छ भने सरोकारवाला निकायमा बोधार्थसमेत पठाएको छ । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्ला बर्डफ्लू नियन्त्रण समितिको बैठकमा तत्काल प्रयोगशाला स्थानान्तरण गर्ने विषयमा निर्णय भए पनि काम नभएको उनले जानकारी दिए । यहाँ परीक्षण हुन नसक्दा सङ्कलन भएको नमूनालाई प्रयोगशालाले केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाउँदै आएको छ । कार्यालयमा तीन चिकित्सकसहित १२ कर्मचारी छन् । प्रयोगशाला सञ्चालन नहुँदा कर्मचारीको समग्र कार्यक्षमता नै प्रभावित भएको खरेल बताउँछन ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी प्रयोगशाला स्थानान्तरणका लागि गृहकार्य भइरहेको बताउँछन । प्रयोगशालाले तीन महिनाभित्र स्थानान्तरण गरे हुने जनाएकै कारण ओमिक्रोन भेरियन्ट बढेको समयमा स्थानान्तरण नगरिएको अधिकारीले बताए । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रयोगशाला सर्ने कुरा भएको जनाउँदै अझै नसरेको भए तत्काल आफूले अस्पतालसँग कुरा गर्ने बताए ।

  • प्रकाशित मिति : माघ २१, २०७८, शुक्रवार ०४:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८