माघ २,२०७८
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसीआर प्रयोगशालामा पिसीआर परीक्षण बन्द भएको छ ।
प्रयोगशालामा रहेका दुई कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए ।
अस्पतालमा सञ्चालनमा रहेको पिसीआर प्रयोगशालामा छ कर्मचारी रहेका थिए । तीमध्ये तीन जनाको पुस मसान्तमा करार अवधि सकिएको र बाँकी तीनमध्ये दुई जनामा कोरोना देखिएपछि आइतबारदेखि पिसीआर परीक्षण रोकिएको सुवेदीले बताए । “छ कर्मचारीमा तीन जनाको करार सकियो, दुई सङ्क्रमित भए, एक जनाले मात्रै प्रयोगशाला सञ्चालन गर्न सकिने अवस्था हुँदैन, त्यसैले बन्द भयो”, उनले भने ।
पिसीआर प्रयोगशालाका कर्मचारीमा कोभिडका कारण जाँच रोकिएपछि प्रदेशमा थप जनशक्ति माग गरिएको छ । उनका अनुसार प्रदेशबाट केही दिनभित्रमा जनशक्ति व्यवस्थापन गर्ने जानकारी प्राप्त भएको छ । जनशक्ति थप नहुँदासम्म पिसीआर परीक्षण भने बन्द रहने उनले बताए ।
पिसीआर परीक्षण बन्द रहे पनि एन्टिजेन परीक्षण भने नियमित हुनेछ । अस्पतालमा कोभिड परीक्षण गर्नेको चाप बढिरहँदा पिसीआर रोकिँदा समस्या हुने देखिएको छ । यसैगरी अस्पतालले अत्यावश्यक नपरी अस्पताल नआउनसमेत सबैमा अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गरी कोभिड सङ्क्रमणको जोखिम बढदै गएकाले अस्पतालमा भीडभाड हुँदा थप जोखिम हुनसक्ने भन्दै अतिआवश्यक नपरेसम्म अस्पतालमा नआउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
अस्पतालका कर्मचारीमा समेत कोभिड सङ्क्रमण भई जनशक्ति कम भएको र भीडभाड हुँदा कोभिडको जोखिम थप बढ्ने भएकाले यस्तो अनुरोध गरिएको सूचना अधिकारी सुवेदीले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८