मंसिर ६, २०७८
चितवन । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले गोलीगठ्ठा सहित जम्बो टोली चितवन आएको र त्यो टोलीले मिसन सफल पारेर मात्र फर्कने बताएका छन् ।
भरतपुर विमानस्थल विस्तारका लागि यसअघि पनि डिपिआर तयार भइसकेको बताउँदै अव थप प्रकृयाका लागि आफूले पहल गर्ने उनले बताए ।
‘समृद्ध भरतपुरको लागि विकास बहस’ कार्यक्रममा बोल्दै मन्त्री आलेले सो कुरा बताएका हुन् । उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, डिजि, सविच लगायत कर्मचारी समेत उपस्थित भएको भन्दै उनले यसैलाई गोलिगठ्ठाको संकेत दिएका हुन् । काम गर्ने सवै पक्ष एकै ठाउँमा हुँदा अव विमानस्थल विस्तारको काम नरोकिने उनको भनाई थियो ।
नेपाली सेनाको घोडा प्रजनन केन्द्र र आर्मी ब्यारेक सार्ने विषयमा भरतपुर महानगरवीच भएको सम्झौतानै विमानस्थल विस्तारको कोशेढुँगा सावित भएको बताउँदै यो छलफलमा रक्षा मन्त्री र नेपाली सेनाका प्रमुख समेत आएको भए अझ फलदायी हुने उनको भनाई थियो ।
६ गते चितवन जाँदा रक्षा मन्त्रालयको मन्त्री र सेनाको प्रमुख पनि सँगै लिएर जाँदा राम्रो हुने कुरा आफूले प्रचण्डसँग भनेपनि सफल नभएको उनको भनाई थियो । रक्षामन्त्रीको पार्टी काँग्रेसको महाधिवेशन भएकाले त्यो परिवेश मिल्न नसकेको उनले बताए । त्यस्तै उनले भरतपुर २२ को अम्रेला स्ट्रीट देखेर आफू चकित परेको बताउँदै गल्लीमा छाता हाल्दापनि विदेशमा जस्तै देखिएको भन्दै २०,२५ करोड भए अन्य थुप्रै पर्यटक तान्न सकिने ठाउँको विकास गर्न सकिने उनको भनाई थियो ।
महानगरको पर्यटन विकासका लागि आफ्नो मन्त्रालयबाट बजेट विनियोजन गर्ने बताएका आलेले बजेट नभए नजिकै रहेका अर्थमन्त्रीतर्फ हेर्दै भने,“पर्यटनबोर्डमा बजेट यदि छ भने अवश्य पनि इमिडियट्ली छुट्याउने छु । यदि भएन भने मेरो मन्त्रालयबाट सिफारिस गरेर एक्सन ओरिन्टेड लिडर हाम्रा अर्थमन्त्री यहाँ हुनुहुन्छ, म उहाँलाई लेखर पठाउँछु उहाँले खुरुक्क बजेट दिनुहुन्छ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८