जनआन्दोलनमा भएको मानवीय क्षतीको लागि कुनै पश्चाताप नभएको बताएका प्रचण्डले कम्युनिष्टहरुको एकतामा भने ओलीसँग हार खाएको स्वीकारे ।
केपी शर्मा- मंसिर ६, २०७८
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकतामा आफ्नो हार भएको स्वीकार गरेका छन् ।
चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा कम्युनिष्टहरुलाइ एकताबद्ध गरी मिलाएर सिँगो कम्युनिष्ट बनाउने कुरामा आफ्नो हार भएको बताएका हुन् । कम्युनिष्टहरुको एकताको र कम्युनिष्ट आन्दोलनको आफूले सपना देखेको र त्यसै अनुसार लाग्दै जाँदा बीचैमा असफल भएको उनले बताए ।
उनले भने,“सपना त ठूलो देखियो, सपना यति ठूलो देखियो की कम्युनिष्ट आन्दोलनको एकताको सपना, बामपन्थी आन्दोलनको एकताको सपना, त्यो एकताबाट देशको राजनैतिक स्थायीत्व हासिल गर्ने र सामाजिक न्याय सहित आर्थिक समृद्धि र नयाँ युगको नेतृत्व गर्ने सपना देखियो र एकताको प्रस्ताव राखियो । ”
केपी ओलीसँग भएको सहमतिलाई खोतल्ने प्रयास गर्दै प्रचण्डले घुमाउरो पारामा ओलीकै कारण उक्त कम्युनिष्ट एकता वीचैमा तुहिन पुगेको बताएका हुन् । उनले भने,“तर एकताको प्रकृया त्यहाँसम्म आउँदा त्यसलाई सफल पार्न सकिएन । यो वीचमा धेरै कुराहरु भए यो मञ्च ती कुराहरु बोल्न मिल्ने रहेनछ । त्यसैले म धेरै बोल्न चाहान्न । ”
भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्धि भरतपुरका लागि विकास बहस नामक कार्यक्रममा बोल्दै प्रचण्डले आफूहरुले देखेको सपना विल्कुल सही भएको बताउँदै त्यसमा कुनै पश्चाताप नभएको बताए ।
सामाजिक संजालदेखि विभिन्न ठाउँमा १७ हजार नेपाली नागरिक मारिएको आरोप खेपीरहेका प्रचण्डले त्यो आन्दोलनबाटै यहाँसम्मको परिवर्तन देशले पाएको बताए ।
उनले भने,“हामीले राष्ट्रलाई एकतावद्ध गर्ने, आन्दोलनलाई एकीकृत गर्दै समाजवाद तर्फ नेपाललाई लैजाने सपना देख्यौँ । त्यो गलत थिएन तर ती देखेको सपनालाई तुहाउन देशी विदेशी शक्ति लागेको छन् । कोको हुन् पहिचान गर्न सवै लागौँ । ”
आफू चितवन क्षेत्रनम्वर ३ को सांसद भएकाले चुनावमा वाँडेको सपना पुरा हुँदै गएको दावी समेत उनको थियो । आफूले धेरै वर्ष अगाडिदेखि भन्दै गर्दै आएको रिङरोड,लिङरोडको कार्य अगाडि बढेर पूरा हुँदै जाने उनले बताए ।
साथै चाँडै सुकुम्वासीका समस्या समाधान गर्ने आश्वासन समेत दिए । भुमि आयोगका लागि ७७ वटै जिल्लामा नियुक्त गरिने आयुक्तहरुको सूची तयार भइसकेको र चाँडै मन्त्रीपरिषदमा लगेर पास गराइ काम अगाडी बढाउने प्रचण्डको भनाई थियो ।
देशकै मध्यभागमा रहेको त्यसमापनि सबैले ७८औँ जिल्ला भनेर चिन्ने गरेको चितवनलाई भरतपुरले चिनाउने गरेको उनको भनाई थियो ।चितवनमा भएको विकासलाई राष्ट्रले नमूनाको रुपमा लिनुपर्ने उनले बताए ।
चितवनको भरतपुर महानगरले विकास निर्माण र समृद्धिको यात्रा सुरु गरिसकेको बताए । त्यो भत्किन नपाओस भनेर त्यसको रक्षा गर्नका लागि आफूहरु एकतावद्ध भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
भरतपुर महानगरको जस्तो विकासवादी मेयर नेपालका विरलै पालिकाले मात्रै पाउने उनको दावी थियो । उनले भने,“मेरो छोरी भएरमात्रै होइन भरतपुरको मेयरको ध्यान जुनसुकै बेला जस्तोसुकै परिस्थितीमा पनि महानगर र जिल्लाको विकासका लागि केन्द्रीत रहेको देखिन्छ । ”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८