• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

सास फेर्नै नसकेपछि स्थानीयले लगाए चौधरी उद्योगमा ताला


सास फेर्नै नसकेपछि स्थानीयले लगाए चौधरी उद्योगमा ताला

सत्ता र शक्तिको आडमा चलिरहेको चौधरी उद्योग ग्रामले स्थानीय जनतालाई मान्छे नगन्दाको परिणाम आज भोगिरहेको छ ।

केपी शर्मा
कात्तिक २३, २०७८

कुनैपनि उद्योग संचालन गर्नुपूर्व स्थानीय निकायसँग समन्वय गरी प्रदुषणले सो क्षेत्रमा असर गर्ने नगर्ने निक्र्योल गरेपछि मात्रै स्थापना गर्न पाइन्छ । त्यसरी नै स्थापना भएको नवलपुर जिल्लाको देवचुली नगरपालिका स्थिती दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राम अहिले प्रदुषणको हव बनेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीयले बारम्वार प्रदुषण कम गर्न लिखित तथा मौखिक रुपमानै आग्रह गर्दापनि उद्योग प्रशासनले अटेर गरेर आफ्नै पारामा उद्योग संचालन गरिरहेपछि बाध्य भएर मंगलवार स्थानीयले उद्योगको प्रवेशद्वारमै तालावन्दी गरिदिएका हुन् ।

एक हप्ता अघि नै उद्योग प्रशासनलाई प्रदुषणबारे जानकारी गराएपनि अटेर गर्दै आएपछि ताला नै लागउन वाध्य भएको स्थानीय जनप्रतिनिधि देवचुली २ का वडाअध्यक्ष माधव केसीले बताए । केसी सहित ठूलो संख्यामा स्थानीयहरु विहानै देखि यो समाचार तयार पार्दासम्म उद्योगको मूल गेटमा धर्नामा नै बसिरहेका छन् ।

उद्योगको पूर्वतर्फ जडान गरिएको १० टनको ब्रोइलरले आगो बाल्दा त्यहाँबाट कालो मुस्लो सहितको धुँवाले २ सय मिटर वरपरसम्म प्रदुषण गरिरहेको वडाअध्यक्ष केसीले बताए ।

उनले भने,“दस टनको ब्रोइलरबाट निस्किएको कालो मुस्लोले दुई सय मिटर वरीपरीको गाउँमा बसी नसक्नुभएको छ । झ्याल ढोका वन्द गर्दापनि भित्रनै धुँवा पस्ने र वाहिर सुकाएका लुगा समेत एकैछिनमा कालै हुने भइरहेको छ । तर पनि प्रशासनलाई वास्ता छैन । यिनीहरुले यहाँका स्थानीयलाई मान्छे गन्दैनन् ।”

यस विषयमा नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराइले उद्योगमा तालावन्दी भएकोवारेमा आज विहानै आफूलाई जानकारी आएको बताइन् । उनले सम्झौता अनुसार उद्योगले काम नगरेकोले स्थानीयले तालावन्दी गरेको भन्ने खबर आएको जानकारी दिइन् । उनले भनिन्,‘पहिलेनै उद्योग र स्थानीयवीच सम्झौता भएको रहेछ ।

सम्झौतालाई उद्योगले कार्यान्वयन नगरेपछि ताला लगाउने सम्मको स्थिती सृजना भएछ । अहिले हामीले प्रहरी प्रशासन पठाएको र स्थानीय र उद्योगवीच लिखित सम्झौता गरेर कार्यान्वयन गर्ने गराउने सहमतिपछि मात्रै फर्कनु भनेका छौँ ।”

उद्योग प्रशासन भने अहिले पनि टसकोमस अवस्थामा देखिएको छैन । उसले स्थानीयलाई अझैपनि अलमल्याउने वाहाना खोजीरहेको अनुमान गर्न सकिन्छ । हामीले उद्योग प्रशासनका रामचन्द्र धिताललाइ सम्पर्क गर्दा आफू यस विषयमा छलफल गरिरहेको मात्रै बताए । उनले धेरै कुरा बताउन नचाहि कुरा गर्दागर्दै फोन काटे ।

अहिले देवचुली नगरपालिकाका नगरप्रमु्ख पूर्णकुमार श्रेष्ठको टोली र उद्योग प्रशासन वीच छलफल चलिरहेको छ ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७८, मंगलवार १०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८