• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

जनता भन्छन् ‘धुर्मुश भागे’, धुर्मुश भन्छन् ‘म यहीँ छु’


जनता भन्छन् ‘धुर्मुश भागे’, धुर्मुश भन्छन् ‘म यहीँ छु’

रंगशाला निर्माण गर्न सुरुका दिनमा रातदिन लागिपर्ने राजनीतिक दल र तीनका नेताहरु रंगशालाप्रति अहिले मौन छन् । चुनाव आउनै लाग्दा यसको जस लिन आफूले पाउने वा नपाउने कुराले उनीहरुले रंगशालाप्रति वेवास्ता गरेको सोझै देख्न सकिन्छ ।

केपी शर्मा, असोज १६, २०७८ ।

चितवनको भरतपुर १५ मा बन्दै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको निर्माणकार्य ठप्प भएको छ । साउन १५ बाट ठप्प भएको निर्माणकार्य कहिलेबाट पुनः सुरु हुने यसै भन्न सकिने अवस्थामा छैन ।

आर्थिक संकट मुख्य कारण देखाउँदै धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणकार्यलाई रोकेको हो । रंगशाला निर्माण रोकिएपछि रंगशालाप्रति चासो लिएका आमसर्वसाधरणले धुर्मुश सुन्तली फाउण्डेशनलाई शंकाको दृष्टिकोणले हेर्न थालेका छन् ।

धुर्मुस रंगशाला छाडेर हिँडेको भन्ने समाचारहरु पनि बाहिर आइरहेका छन् । तर फाउण्डेशनले भने निर्माणकार्य स्थगित मात्रै भएको र यसलाई चाँडै नै निरन्तरता दिने बताउँदै आएको छ । धेरैले सरकारले गर्नुपर्ने काम व्यक्तिले सुरु गर्नाले यो अवस्था आएको बताइरहेका छन् भने केहीले सरकारले वेवास्ता गरेको गुनासो पनि गरेका छन् ।

फाउण्डेशनले भने आर्थिक अभावका कारण केही समयका लागि मात्र निर्माणकार्य रोकिएको बताउँदै आएको छ । सम्भवतः असोज अन्तिम साताबाट निर्माण कार्य सुरु हुन सक्ने फाउण्डेशन बताउँछ । अहिले संरचनागत निर्माण रोकिएपनि अन्तराष्ट्रिय खेलकुद मैदानको सरसफाईको कार्य भने निरन्तर जारी रहेको छ । भएका दुवोलाई जोगाउने र अन्य झारहरुलाई फालेर त्यहाँको सरसफाईलाई निरन्तरता दिएको देख्न सकिन्छ । मुख्यकाम रोकिएपनि सामान्यतयः दैनिक गरिरहनुपर्ने कामहरु भने यथावत रुपमा भइरहेका छन् ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस रंगशाला परिसरमा नभएपनि कर्मचारीहरु भने यथावत रुपमा रहेका छन् । वाहिर धुर्मुस हिँडेको भन्ने हल्ला फिँजाएपनि असोज १४ गते विहान ७ ः ५० को बुद्धयएरमार्फत उनी भरतपुरबाट काठमाण्डौ गएका थिए । सम्भवत २० र २१ गतेभित्रमा उनी फर्किने फाउण्डेशनले जानकारी दिएको छ ।

कार्तिक १ गतेदेखि क्रिक्रेट खेल सुरु हुने भन्ने कुरा चलेको र मैदान बुकिङको कुरा आइरहेको लेखा अधिकृत मुक्ति तिमिल्सेनाले जानकारी दिए । उनले बाहिर आएका नकरात्मक समाचारहरु प्रति असन्तुष्टी जनाए । उनले भने,“यस्ता समाचार छाप्नेहरु रंगशालाका विरोधी हुन् । दुई दिनअघि मात्रै काठमाण्डौ गएको मान्छेलाई रंगशालामै छैन भनेर हल्ला फिँजाउनु गलत हो । ”

ठूलो लक्षयका साथ सुरु गरिएको राष्ट्रकै गौरव वोकेको रंगशाला निर्माणमा संघीय सरकारले अहिलेसम्म केही पनि आर्थिक सहयोग नगर्नाले निर्माणमा समस्या भएको छ । प्रदेश सरकारले गत वर्ष ३ करोड र अहिले अर्काे ३ करोड रकम रंगशालालाई विनियोजन गरेको फाउण्डेशनका लेखा अधिकृत मुक्ति तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरपालिकाले ८ करोड र भरतपुरकै वडानम्वर १३ ले छुट्टै पाँच लाख समेत रंगशाला निर्माणका लागि सहयोग गरिसकेका छन् ।

२०७७ साल श्रावण १ गतेदेखि निमार्ण कार्य सुरु गरिएको रंगशालाको समग्र कार्य ३५ प्रतिशत सकिएको प्रोजेक्ट म्यानेजर जनार्दन शर्मा देवकोटाले जानकारी दिए । डिपिआर अनुसार ३ अर्ब ५५ करोड रुपैयाको लागतमा बनाउन सुरु गरिएको रंगशालाले महायज्ञबाट ६९ करोड ४५ लाख ५६ हजार संकलन गर्ने लक्ष्य रहेपनि जम्मा २० करोड मात्रै सकलन भएको लेखा तथा प्रशासन अधिकृत तिमिल्सेना बताउँछन् ।

हालसम्म सर्वसाधरण,विभिन्न संघ संस्था सरकारी निकाय सवै गरेर ३८ करोड ७८ लाख ४४ हजार रुपैया मात्रै संकलन भएको तर ३५ प्रतिशत काम सक्दा करिव ५५ करोड २७ लाख रुपैया खर्च भएको उनको भनाई छ । काम गरेरपनि धेरै ठाउँमा तिर्नवाँकी भएपछि निर्माणको कार्य स्थगित गरिएको बुझिएको छ । फाउण्डेशनले अहिलेसम्मको लेखा अडिट गरेर छिट्टै हिसावकिताव सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको तिमिल्सेना बताउँछन् ।

रंगशाला बनाउन भरतपुर महानगर, कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिविबीच २०७५ असोज १९ गते त्रिपक्षीय सम्झौता भयो । अन्ततः चितवनमै २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने टुंगो लागेको थियो ।

देशको केन्द्रभाग समेत रहेकाले चितवन सवैको पायक पर्ने र खेलकुदको हवका रुपमा विकास गर्ने गुरुयोजना सहित क्रिक्रेट सहित २२ वटा महत्वपूर्ण विधाका खेलहरु खेल्न मिल्ने, खेल सिकाउने एकेडेमि नै संचालन गर्ने योजना छ । तर गैरनाफामूलक संस्था धुर्मुस सुन्तली फाउण्डेशले अहिले आर्थिक समस्या भोगीरहेको हो ।

अहिले ३ हजार दर्शक अट्ने प्याराफिट निर्माण भइसकेको र भिआइपि टावर १ र २ को फाउण्डेशन सकिएको प्रोजेक्ट म्यानेजर देवकोटाले बताए । उनले भने,“यदि आर्थिक समस्या नभए अवको साढे २ वर्षमा संरचनाको निर्माण कार्य सकिन्थ्यो । ”

यता हरेक भाषणमा आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी भन्दै हिँड्ने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई रंगशालाको विषयमा बुझ्न सम्पर्क गर्दा आफूले धेरै बोलेको र अव आफू यस विषयमा नबोल्ने बताइन । उनले भनिन्“म रंगशालाको बारेमा केही बोल्दिन । धुर्मुसलाई नै फोन गर्नुहोस।वास्तविकता थाहा हुनेछ । ”

  • प्रकाशित मिति : असोज १६, २०७८, शनिवार १३:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८