• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

छ दशक कष्ट झेल्ने राष्ट्रवादी नेता


छ दशक कष्ट झेल्ने राष्ट्रवादी नेता

असोज २,२०७८ –  नारद गौतम

 

प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए।

आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले नारायणहिटी दरबारमा बोलाएर तपाईंले नेतृत्व गर्नुभएको आन्दोलन सफल भएको छ, अब तपाईं प्रधानमन्त्री बन्नुहोस् भन्दा उनले त्यसलाई अस्वीकार गरे । उनको जवाफ थियो, ‘‘यो आन्दोलन म आफैँ प्रधानमन्त्री हुन गरेको होइन ।’’ नेपाली काँग्रेसका कार्यवाहक सभापति नेता कृष्णप्रसाद भट्टराईको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उनि नेपाली राजनीतिमा त्यागी नेताका रूपमा उदाएका हुन ।

इतिहास पुरुषहरूका विचारमा गणेशमान सिंह नामक पुस्तकमा गोविन्दप्रसाद उपाध्यायको स्मरण छ, ‘‘२०४६ को जनआन्दोलन सफल भएपछि गणेशमान नेपालको हिरो हुनुभयो, त्यसैले उहाँलाई सबैले सर्वमान्य भने । उहाँको त्याग, तपस्या, बलिदान र प्रजातान्त्रिक सङ्घर्षका लागि निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका कुनै पनि विश्व स्तरका राजनेताहरूसँग दाँज्न नसकिने उहाँको उचाइ छ ।’’

विसं १९७२ कात्तिक २४ गते काठमाडौँमा जन्मनुुभएका सिंहले १९९७ सालमा स्थापित प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भए । प्रजा परिषद् नेपालको पहिलो राजनीतिक दल हो ।

गणेशमानसँगै जेलमा बसेका हरिकृष्ण श्रेष्ठले भनेका छन, ‘‘एक दिन नरशमशेर आएर गणेशमानलाई निच भाषा प्रयोग गर्दै ‘गणेशमान यो तेरो नरदेवी होइन’ भन्यो । गणेशमानको जवाफ थियो, जहाँ गणेशमान हुन्छ, त्यहीँ नरदेवी हो । यो सुन्ने बित्तिकै नरशमशेरले एक मुक्का हान्यो, गणेशमानको मुखबाट रगत बग्न थाल्यो । अनि गणेशमानले चिच्याउँदै ‘मर्द होस् भने आइज, सिक्री खोलेर मैदानमा लड्न तयार छुु ।’ गणेशमानको जवाफ सुनेपछि नरशमशेर रातो मुख लगाएर हिँडेका थिए ।’’
गणेशमान सिंहका छोरा एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह भन्छन , ‘‘गणेशमानजीले जति कोर्रा सायद कसैले खानुु परेन होला, उहाँसँगै जेलमा परेका चार जनालाई वि।सं १९९७ मा राणाहरूले फाँसीको सजाय दिएका थिए ।’’ जेलबाट १२ फिट र २४ फिटका दुुईवटा पर्खाल नाघेर गणेशमान भाग्न सफल हुनुुभएको थियो ।

चार जनालाई फाँसी दिएपछि अब गणेशमान सिंहको पालो थियो । हर्षलाल श्रेष्ठले त्यतिबेलाको अवस्था औँल्याउँदै भन्नुुभएको छ, ‘‘दुई पटक हामीलाई फाँसीमा झुन्ड्याउने उद्देश्यले लगे । दुई पटक नै ठूलो पानी परेकाले के सोचेर हो, हामीलाई फाँसी दिएनन् । तेस्रो पटक फाँसीमा झुन्ड्याउन लाँदा राजा त्रिभुवनले हस्ताक्षर गर्न मान्नुभएन, बेलुकाको समय थियो, युवराजाधिराज महेन्द्रले राति हस्ताक्षर नगर्ने, भोलि बिहान गर्दा पनि हुन्छ भनेपछि त्यस दिन फाँसी ट¥यो ।’’ श्री ५ त्रिभुवन त्यहीँबाट सोझै भारतीय राजदूतावासमा शरण लिन पुगेकाले गणेशमान लगायतलाई दिने भनिएको फाँसी रोकिएको भनाइ हर्षको छ ।

‘‘नेपालमा राजनीतिज्ञहरूमध्ये गणेशमानलाई जुन लौहपुरुषको विशेषणले पुकारिन्छ, मलाई लाग्छ त्यो सार्थक कुरा हो । उहाँ कहिल्यै कोहीसँग सितिमिति नझुक्ने, अनि यस्ता नेतालाई लौहपुरुष नभने कसलाई भन्ने रु’’ डा। महेन्द्रप्रसादको स्मरणमा उल्लेख छ ।

काँग्रेस नेता सिंहका अनुसार सिद्धान्त र आदर्शको राजनीति गर्ने नेताको रूपमा गणेशमानको पहिचान छ । रैतीको अवस्थामा रहेका नेपालीलाई नागरिक बनाउनमा गणेशमान जीवनभर सङ्घर्षमा रहनुुभयो । छ दशक लामो सङ्घर्षमा विभिन्न समय गरी १५ वर्ष जति जेल र १५ वर्ष लामो प्रवासमा बिताउनुुभएका गणेशमानले राणा शासनको अन्त्यदेखि पञ्चयाती व्यवस्थालाई फाल्नका लागि नेपालका वामपन्थी दलहरूलाई विश्वासमा लिएर २०४६ को जनआन्दोलनको नेतृत्व गर्नुुभयो।

फडिन्द्रराज हमालका विचारमा ‘‘गणेशमानजीभन्दा ठूूलो राष्ट्रवादी कोही छैन, आफ्नो राष्ट्र मातृभूमिप्रति प्रेम नहुनेले यत्रो दुःख झेल्न सक्छ, त्यो पनि निरन्तर ६० वर्ष रु’’ प्रेमबहादुर शाक्यको विचारमा गणेशमान नेपालको सच्चा राजनेता हुनुहुन्थ्यो । राजनेतामा चाहिने देशप्रेम, समाज प्रेमजस्ता गुण हुनुका साथै आफ्नो भन्ने केही नराख्ने बानीले गणेशमान सर्वमान्य कहलिनुभएको हो । अमेरिका जानुहुँदा ‘नेपालका सर्वमान्य नेता, जनताका नेता’ भनेर तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसले गणेशमान सिंहको प्रशंसा गर्नुभएको थियो । अमेरिकाले बोलाएर कुनै नेपाली जनताको छोरोलाई सर्वोच्च नेता भनेको इतिहास थिएन ।

सोही पुस्तकमा सत्यमोहन जोशी भन्नुुहुन्छ, ‘‘गणेशमान उत्तम श्रेणीका त्यागी हुनुहुन्थ्यो, आफूूले लगाएको कोटसमेत फुकालेर अरूलाई दिने दयालु, सहयोगी भावना भएको नेता हो ।’’ गणेशमान सिंहले ख्याति प्राप्त अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्नुभयो । सन् १९९० मा पिसरन पुरस्कार, १९९३ मा मानव अधिकार पुरस्कार र थान्त शान्ति पुरस्कार गणेशमानले प्राप्त गर्नुभएको थियो ।

२०४८ सालमा बनेको काँग्रेसको सरकारलाई अवसर नपाएकालाई अवसर दिनुुपर्छ भनेर गणेशमान सिंहले त्यतिबेला नै अहिलेको समावेशीकरणको अवधारणालाई अगाडि बढाउनुुभएको थियो । जनतालाई अग्रस्थानमा राखेर आफ्नो सिद्धान्त र आदर्शको राजनीति गर्ने नेता गणेशमानको २०५४ असोज २ गते काठमाडौँमा निधन भयो । राजकीय सम्मानसहित उहाँको अन्त्येष्टि गरियो । उच्च पदमा नपुुगी राजकीय सम्मान पाउने उहाँ नै पहिलो राजनेता हुनुुहुन्छ। गोरखापत्रबाट ।

  • प्रकाशित मिति : असोज २, २०७८, शनिवार ००:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८