• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

पुरानालाई पछि पार्दै नयाँ बीमा कम्पनीहरू


पुरानालाई पछि पार्दै नयाँ बीमा कम्पनीहरू

भदौ २२,२०७८

जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा रू। २ अर्ब ७४ करोड बराबरको नयाँ व्यवसाय गरेका छन् । साउनमा ६ लाख २३ हजार ८४४ ओटा नयाँ बीमालेख विक्री गरेर जीवन बीमा कम्पनीहरूले सो बराबरको प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिबाट प्राप्त साउन महीनाको जीवन व्यवसायसम्बन्धी तथ्यांकअनुसार साउनमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय मात्र २३ दशमलव ४२ प्रतिशतले बढेको छ । गत आवको साउन महीनामा रू। २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको थियो ।

हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालन छन् । उनीहरूले गत साउनमा उक्त बराबरको प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।

साउनमा कम्पनीहरूको कुल व्यवसाय २७ दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको साउनमा कम्पनीहरूले रू। १३ अर्ब ४ करोड कुल बीमाशुल्क संकलन गरेका थिए । चालू आवको उक्त अवधिमा कम्पनीहरूले रू। १६ अर्ब ६१ करोड कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ ।

साउन महीनामा बीमा व्यवसाय गर्न चुनौतीपूर्ण हुने गर्छ । वर्षात्को मौसम, क्लोजिङको काम, नयाँ योजना बनाउनेलगायत कारण यस समयमा व्यवसायतर्पm त्यति ध्यान दिन सकिँदैन । तर, त्यस्ता चुनौतीका बीच पनि साउनको व्यवसायमा उच्च वृद्धि देखिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले साउनमा जीवन बीमाको व्यवसायमा उत्साहपूर्ण वृद्धि देखिएको बताए ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले पनि यसपालि साउन महीनामा राम्रो व्यवसाय भएको बताए । ‘चालू आवको शुरुआती महीना भएका कारण यस समयमा सामान्यता व्यवसायमा त्यति वृद्धि देखिँदैन थियो । तर, यसपालिको व्यवसायमा राम्रो वृद्धि देखिएको छ,’ उनले भने, ‘कोरोना महामारी पनि त्यस समयमा केही शान्त देखियो । आर्थिक क्षेत्र पनि चलायमान भए । त्यसको कारणले पनि यस्तो भएको हुन सक्छ ।’

साउनमा नयाँ व्यवसाय गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । कम्पनीले साउन महीनामा रू.५८ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स देखिएको छ । कम्पनीले समीक्षा अवधिमा २५ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको प्रभु लाइफले रू. २३ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ ।

नयाँ व्यवसाय गर्ने मामलामा नयाँ जीवन बीमा कम्पनीहरूले पुराना कम्पनीहरूले पछि पार्दै गएको देखिएको छ ।

नेपाल लाइफ र नेशनल लाइफबाहेक अन्य कम्पनीहरूलाई नयाँ कम्पनीहरूले पछि पारेका छन् । प्रभु लाइफ, युनियन लाइफ, सिटीजन लाइफ, रिलायबल नेपाल लाइफ, आईएमई लाइफले अधिकांश पुराना कम्पनीलाई पछि पारेको देखिन्छ ।

३ वर्षअघि नेपाली बीमा बजारमा १० ओटा नयाँ जीवन बीमा कम्पनी थपिएका थिए । तीमध्ये अधिकांश कम्पनीले पुरानालाई पछि पार्दै गएको देखिएको हो । बढी प्रथम बीमाशुल्क संकलन गर्ने उत्कृष्ट ५ कम्पनीमध्ये ३ ओटा त नयाँ कम्पनी रहेका छन् ।आर्थिक अभियानबाट ।

  • प्रकाशित मिति : भदौ २२, २०७८, मंगलवार ००:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८