साउन २७,२०७८
रात्रीकालीन गतिविधिमा पूर्ण रोक लगाउने निर्णयले कोरोना नियन्त्रणमा सघाउ पुर्याउने सीडीओहरूको विश्वास। जनस्वास्थ्यविद् भन्छन्, “दिउँसो फुक्काफाल छोड्ने र राति मात्र कडाइ गर्ने निर्णय हास्यास्पद छ।”
काठमाडौं उपत्यकामा २८ साउनदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ। २६ साउनमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञामा थप कडाइ गरेको हो।
यसै पनि अहिले साँझ ७ बजेपछि पसल खोल्न पाइँदैन। निषेधाज्ञाको समय मात्रै होइन यसअघिको सामान्य अवस्थामा पनि काठमाडौं उपत्यकामा सम्साँझै सार्वजनिक गाडी गुड्न छोड्छन्। राति ८ बजेतिर उपत्यकाको ट्राफिक चाप न्यून भइसक्छ।
यस्तो अवस्थामा ८ बजेपछि सवारीसाधन चलाउन नपाउने निर्णय गर्नुको औचित्य के हो तरु भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई भीडभाड नियन्त्रण नभएकाले निषेधाज्ञा थप कडाइ गर्न बाध्य भएको बताउँछन्। “७ बजेपछि पसल खोल्न नपाइने भने पनि बाहिरको ढोका बन्द गरेर मध्यरातसम्म होटल चलाइए, कतिपय दोहोरी साँझ र डान्सबार पनि चलेको पाइयो,” उनी भन्छन्, “८ बजेपछि सवारी साधन चलाउन बन्द गरेपछि यस्ता क्रियाकलाप नियन्त्रणमा आउँछन्।” कोरोना संक्रमण बढ्दै गएकाले अटेर गरे थप कडाइ गर्दै जानुको विकल्प नभएको उनको भनाइ छ।
सीडीओे बैठकले रातिको भीडभाड नियन्त्रणका लागि सवारी साधनमा रोक लगाउने निर्णय गरे पनि दिउँसोकै भीडभाड हुने गतिविधि नियन्त्रणमा छैनन्। सभा, सम्मेलन तथा जुलुस, प्रदर्शन भइरहेकै छन्। भौतिक रूपमा नियमित पढाइ बन्द भए पनि विश्वविद्यालयदेखि लोकसेवाको परीक्षा चलिरहेकै छ।
यद्यपि काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा निरन्तर छ। कागजी निर्णयमा शैक्षिक गतिविधि, सभा, सम्मेलन, जुलुस, प्रदर्शन, रात्रीकालीन व्यवसाय, पार्टी प्यालेस, जिमखाना लगायत भने बन्द नै छन्। तर, कार्यान्वयन चाहिँ शून्य।
सीडीओे बैठकले रातिको भीडभाड नियन्त्रणका लागि सवारी साधनमा रोक लगाउने निर्णय गरे पनि दिउँसोकै भीडभाड हुने गतिविधि नियन्त्रणमा छैनन्। सभा, सम्मेलन तथा जुलुस, प्रदर्शन भइरहेकै छन्। भौतिक रूपमा नियमित पढाइ बन्द भए पनि विश्वविद्यालयदेखि लोकसेवाको परीक्षा चलिरहेकै छ।
जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित सीडीओहरूको निर्णयले कोरोना नियन्त्रणमा कुनै फरक नपर्ने दाबी गर्छन्। “कोरोना भीडभाडबाट सर्ने हो, राति र दिउँसोको कुनै वैज्ञानिक कारण छैन,” उनी भन्छन्, “यो निर्णय सीडीओले आफ्नो उपस्थिति र काम गरेको देखाउनकै लागि मात्रै लादिएको हो।” राति कडाइ गरेर दिउँसो फुक्काफाल छोड्नुको साटो हरेक समय भीडभाड हुन नदिनु नै उपयुक्त हुने उनको सुझाव छ ।
अर्का जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी चाहिँ भीड नियन्त्रणका लागि गरिएको निर्णय आम नागरिककै हितमा भए पनि राति मात्रै कडाइ गर्नु अर्थहीन भएको बताउँछन् । “रातिको मात्र होइन, दिउँसोको भीड पनि नियन्त्रण गर्नु जरुरी छ,” उनी भन्छन्, “आम नागरिक सचेत नहुँदासम्म कडाइ गर्नुको विकल्प छैन।” यो निर्णय आफ्नै स्वास्थ्यको लागि गरिएकाले सबैले पालना गर्नुपर्नेमा उनको जोड छ।हिमाल खबरबाट
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८