• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

जीवनको परिभाषा


जीवनको परिभाषा

प्रभात कुमार जोशी – जेष्ठ २१,२०७८

आजभोली हर साँझ
डुब्न लागेको घामलाई हेर्दै
जीवनको परिभाषा खोज्न थाल्दा
त्यो (घाम) डाँडामा नठोकिउन भन्ने लाग्छ
हावामा नबगुन् र बादलले नलुकाउन् जस्तो लाग्छ ।

त्यहाँ,
म कहिले घर धान्न बाबुले चुहाएको
पसिनाको रंग देख्छु,
कहिले आमाको च्यातिएको छिटको साडीको
पारी मात्र देख्छु,

आजभोली म साँझको डुब्न लागेको घामलाई
किन किन माया गर्न थालेकोछु र
आमा बासंग भोली उदाउने घाम झैं
झलमल्ल भएर अघाउन्जेल सुखको
गीत गाउन चाहिरहेको छु

पर क्षितिजको डाँडो देख्दा
बाबाको थाकेर झुकेके ढाडलाई
सुस्तरी मुसारिरहेको जस्तो लाग्छ डुब्न लागेको घामले
बादलका छिर्काहरूबाट झरेर
मेरी टुहुरी आमालाई हर साँझ्
अंगालोमा बाँध्ने –
डुब्न लागेको घामलाई
अर्घ्य दिएर आजभोली
आराधनामा बोलाउन थाल्याछु

उ सुटुक्क आऔस्
सुखका निन्द्रा भरि सुताएर
हामीलाई सखारै उठाओस र भर भराँउदो
उज्यालो छर्दै सुख र शान्तिको संन्देश फुकोस् ।

बाबाले औंला समाएर हिँडाएको बाटो र
आमाले काखमा राखेर खाएको म्वाइ नै हो(जीवन
मैले डुव्न लागेको घामबाट सिकेको
परिभाषा हो यो – जीवनको
न त्यहाँ असफलताका संभावनाहरू छन्
न मोहका पर्खालहरू छन् ।
जीवन त आरंभ रहेछ सत्यको
जीवन त खोज रहेछ अन्त्यको ।

  • प्रकाशित मिति : जेठ २१, २०७८, शुक्रवार ०४:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८