• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

यसरी गर्नुहोस् ठेकेदारसँग घर निर्माण सम्झौता

  • खबरदाता

यसरी गर्नुहोस् ठेकेदारसँग घर निर्माण सम्झौता

बैशाख १०,२०७८

घर कस्तो बनाउने भनेर तपाईंले सुरुमै संरचनाबारेको प्रारम्भिक सोचाइ मनमै सँगाल्नुभएको हुन्छ । तर, त्यो सोचाइको संरचनाअनुसार घर बनेन वा न्यून स्तरको घर बन्यो भने जिन्दगीभर पछुताउनुको विकल्प हुँदैन । घर जिन्दगीमा बारम्बार बनाइरहने चीज पनि होइन ।

त्यसैले घर बनाउँदा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । तपाईंको योजना जस्तोसुकै भए पनि निर्माणपछि संरचना कस्तो देखिन्छ भन्ने कुरा ठेकेदारकै हातमा हुन्छ । त्यसैले ठेकेदार छनोट गर्दा विशेष ध्यान दिनुहोस् । सस्तो मूल्यमा ठेक्का लिन व्यवसायी तयार भए र उनैलाई दिऊँ भन्ने निर्णय छिट्टै नलिनुहोस् । यसो गर्नुभयो भने घर बनाउँदा हुने ठूलो गल्तीमध्येको एक हुनेछ । किनभने, जहिल्यै पनि मूल्यको तुलना कामसँग गर्नुपर्छ, सस्तो भन्दैमा प्रतिफल तुलनात्मक रूपमा ननिस्कए तपाईं नराम्रोसँग ठगिन सक्नुहुन्छ ।

घर बनाउँदा सबैभन्दा पहिले केही कानुनी प्रक्रिया पूरा गर्नुहोस् । जस्तो, घर निर्माण अनुमतिपत्र र निर्माण सम्पन्न प्रमाणपत्र आदि । स्थानीय तहबाट अनुमति नलिई घर बनाए त्यो कानुनी रुपमा भवन नियमावली, २०६६ अनुसार अवैधानिक हुन्छ । आर्किटेक्चरबाट घरको नक्सा र डिजाइन तयार गरेर त्यसलाई स्थानीय तहबाट पासदेखि सबै प्रक्रिया सकिसकेपछि मात्र ठेकेदार छनोट गर्नुपर्ने हुन्छ ।

ठेकेदार छनोट गर्दा सबैभन्दा पहिले आफ्नो बजेट निर्धारण गर्नुहोस् । आफ्नो बजेटको खाकासहित ठेकेदारसँग छलफल गर्नुहोस् । उक्त रकममा कस्तो घर बनाउन सकिन्छ भनेर ठेकेदारले तपाईंलाई स्पष्ट पार्न सक्छन् । बजेटको आकार तयार भएपछि तपाईं आफ्ना छिमेकमा बनाइएका घरहरू पनि हेर्नुहोस् र त्यहाँबाट ठेकेदारको सूची तयार पार्नुहोस् । जुन घरको संरचना तपाईंलाई मन परेको छ, उक्त घर निर्माणको ठेक्का लिनेसँग सम्पर्क गर्नु राम्रो मानिन्छ । तपाईं ठेकेदारलाई चिन्नुहुन्न भने यसका लागि एजेन्सीबाट पनि सहयोग लिन सक्नुहुन्छ ।

अब सूचिबाट छनोट गरिएका ठेकेदारलाई भेटेर उनीहरूले गरेका कामबारे जानकारी लिनुहोस् । तिनले बनाएका घरको तस्बिर माग्नुहोस् । ठेकेदार घर निर्माण क्षेत्रमा कहिलेदेखि संलग्न छन्, मापदण्ड के–के छन्, वारेन्टी, मूल्यमा घरसँग सम्बन्धित कुन–कुन संरचना समावेश हुन्छन् आदि बढीभन्दा बढी सवाल गर्नुहोस् ।

यदि तपाईंले खोजेजस्तै र आवश्यकताअनुसार ठेकेदार काम गर्न तयार छन् भने सम्झौता प्रक्रिया अघि बढाउन सकिन्छ । सम्झौता गर्दा लागत कति, कहिलेसम्म तयार हुन्छ, त्यस विषयमा स्पष्ट हुनुहोस् । यसरी सम्झौता गरेर अगाडि बढ्दा समयमै घर नबन्ने र ठेकेदारले दुःख दिने जोखिम घट्छ भने केही गरी सम्झौताअनुसार काम हुन सकेन भने तपाईंसँग कानुनी रूपमा पनि अगाडि बढ्न सक्ने बलियो प्रमाण हुन्छ ।

याद राख्नुहोस्, सकेसम्म सम्झौताकै बेला कुनै एक पक्षले तोडे के गर्ने भन्ने सर्त पनि राख्नुहोस् । यसरी ठेकेदार छनोट गर्दा तपाईं ठगिने सम्भावना कम हुन्छ । यदि सम्झौताअनुसार काम भएन भने तपाईँ कानुनी प्रक्रियामा अघि बढ्न सक्नुहुन्छ । सम्झौताअनुसार काम भएन भने तपाईंले करार सम्झौताअनुसार क्षतिपूर्ति पाउने वा ठेकेदारले बीचैमा काम छाडेको भए कामका लागि सहजीकरण गरिदिने काम अदालतले गरिदिन सक्छ ।

  • प्रकाशित मिति : वैशाख १०, २०७८, शुक्रवार ००:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८