• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

बिवादास्पद खेलमा नुवाकोटलाई हराउँदै आर्मी फाइनलमा

  • खबरदाता

बिवादास्पद खेलमा नुवाकोटलाई हराउँदै आर्मी फाइनलमा

चैत्र १८,२०७७

चितवन – विवादास्पद खेलमा नुवाकोट युनाइटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब चितवनमा जारी सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को फाइनलमा प्रवेश गरेको छ । बुधबार  सम्पन्न पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित नुवाकोटलाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

टाइब्रेकरमा नुवाकोटका सजिन थापा मगरको पहिलो प्रहार आकाशियो भने सागर स्याङ्तानको चौथो प्रहार आर्मीका गोल रक्षक महेश्वर श्रेष्ठले रोके । त्यसअघि निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने नुवाकोटले लिएको थियो ।

खेलको चौथो मिनेटमानै दिपेश आले मगरले उत्कृष्ट गोल गर्दै नुवाकोटलाई अग्रता दिलाए । पहिलो हाफमानै नुवाकोटले अग्रता दोब्बर बनायो । ३५ औं मिनेटमा प्रयास तामाङले नुवाकोटलाई २-० को अग्रता दिलाए । पहिलो हाफमा खराब प्रदर्शन गरेको आर्मी दोस्रो हाफमा भने लयमा फर्कियो । दोस्रो हाफको दोस्रो मिनेटमानै आर्मीले अग्रता छोट्यायो । आर्मीका सुशान्त चौधरीले गोल गरे ।

दोस्रो हाफको २० औं मिनेटमा नुवाकोट १० खेलाडीमा सीमित भयो । नुवाकोटका गोलरक्षक सुदिप गिरीले रातो कार्ड पाए । डि बक्स भित्र आर्मीका रिपु भुलानलाई लडाएपछि रेफ्रीले उनलाई पहेलो कार्ड दिदै आर्मीलाई पेनाल्टी दिएका थिए । तर रेफ्रीसँग विवाद गरेको भन्दै गोलरक्षक गिरीले रातो कार्ड दिइयो।

गिरीले रातो कार्ड पाएपछि खेलमा केही बेर विवाद उत्पन्न भएको थियो । नुवाकोटले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउदै केही बेर विवाद गरेको थियो । विवादका कारण खेल १० मिनेट रोकियो । वैकल्पिक गोलरक्षक नहुदा नुवाकोटका स्ट्राइकर सन्दीप राना मगरले गोलपोष्ट सम्हाले । प्राप्त पेनाल्टीमार्फत दोस्रो गोल गर्दै सुशान्तले आर्मीलाई खेलमा फर्काए । १० खेलाडीमा सीमित नुवाकोटले आर्मीलाई निर्धारित समयमा बराबरीमा रोक्यो । खेलको म्यान अफ दि म्याच आर्मीका सुशान्त चौधरी भए ।

उपाधीका लागि आर्मीले बिहीबार हुने दोस्रो सेमिफाइनल खेलको बिजेतासँग खेल्नेछ । बिहीबार अफ्रिकन रूट्स एसोसिएसन (एआरए) र बागमती युवा क्लब सर्लाही फाइनल प्रवेशका लागि भिड्दैछ्न् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

  • प्रकाशित मिति : चैत १८, २०७७, बुधवार १३:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८