चैत्र ५,२०७७
अर्को महिना हुने फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) मा मेघराज केसी आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिको स्वामित्वमा रहेको एफसी चितवन टिममा आबद्ध भएका छन् ।
पानी पोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधवार आयोजित एक विशेष कार्यक्रमकावीच सो सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौता पत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा।लिका प्रबन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के।सी, सहायक प्रशिक्षक शैलेश कर्माचार्य र मार्की प्लेयर राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै गेम अन प्रा।लिका प्रबन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टिमलाई समर्थन गर्दै खेलको मनोरञ्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफूले एफसी चितवन टिमको नेतृत्व लिएको उल्लेख गर्दै टिमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र पर्याप्त पूर्वाधार पनि निर्माण भई नसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन मिलोस् र दर्शकलाई भरपुर मनोरञ्जन पनि प्राप्त होस् भन्ने आफ्नो इच्छा रहेको उनले बताए । विश्वका कैयन राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठुलो आम्दानी प्राप्त गरिरहेको अवस्थालाई स्मरण गर्दै प्रबन्ध निर्देशक ढकालले नेपालमा पनि त्यस्तो खालको सम्भावना रहेको बताए ।
प्रशिक्षक मेघराज केसीले नेपालमा व्यावसायिक फुटबलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटबल खेलको स्तरोन्नतिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज केसी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्की खेलाडी भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तीन दशकभन्दा बढी समयदेखि नेपालको व्यावसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, ट्रेडिङ्ग, पर्यटन, सूचना प्रविधि, ऊर्जा, अटो मोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पुर्याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८