बीएन्डसीलाई सम्बन्धन,आर्थिक चलखेल : डा. केसी

  • खबरदाता
  • फागुन १६, २०७७

फागुन १६,२०७७

प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री , शिक्षा मन्त्री र काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा लगायतको मिलेमतोमा बीएन्डसी मेडिकल कलेजलाई कानुन बिपारित सम्बन्धन दिन लागिएकोमा आपत्ती जनाएका छन।

उनले यो गैह्र कानुनी निर्णय बदर नभए सत्याग्रह थाल्ने समेत चेतावनी दिए । उनले भने ‘चिकित्सा शिक्षा, स्वास्थ्य सुधार र सुशासनका लागि लड्दै आएको छु, फेरि पनि लड्छु,’ । चिकित्सा शिक्षा र स्वास्थ्यको गुणस्तरका लागि डा।केसि १९ पटक अनशन बसिसकेका छन् । प्रधानमन्त्री ओलीको पालामा ६ पटक अनशन बसेको स्मरण गर्दै उनले भने, ‘सम्झौताअनुसार सरकारी मेडिकल कलेज स्थापना गर्न सरकारलेनै अवरोध गर्दै आएको छ ।’

बैठकको एजेन्डानै नभएको विषयमा सामान्य छलफल पनि नगरी निर्णयमा लेखेर ल्याउनुमा प्रधानमन्त्री र शिक्षामन्त्रीको दबाबमात्र होइन, आर्थिक चलखेल पनि जोडिएको हुन सक्छ,’ उनले भने । शिक्षा ऐनको प्रावधानविपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउने निर्णय गर्नु बदनियतपूर्ण काम भएको उनको भनाइ थियो ।

गैरकानुनी निर्णय गराउने उपकुलपति थापाले पदबाट राजीनामा दिनुपर्ने केसीको माग छ । ‘डिनले सम्बन्धन दिन मिल्दैन भन्दाभन्दै उपकुलपतिले डिनको पक्ष लिनुपर्ने ठाउँमा शिक्षामन्त्रीको आदेशपालक बनेका छन्,’ उनले भने, ‘उपकुलपतिले यस विषयलाई बैठकमा प्रवेश गर्नै दिन हुन्थेन, यो प्राथमिकताको विषय पनि होइन ।’ नियुक्ति भएको एक महिना पूरा हुनेबित्तिकै उपकुलपति थापा निजी मेडिकल कलेजलाई पोस्ने चलखेलमा लागेको उनले आरोप लगाए ।

चिकित्सा शिक्षा ऐन र नियमावलीविपरीत सम्बन्धन प्रक्रिया अघि बढाएकामा उनको असन्तुष्टि छ । ‘सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगबाट सहमति लिएर आउनुपर्छ । नवीकरण हुनुपर्छ, पूर्वाधार अनुगमन गरिनुपर्छ, कुनै प्रक्रिया पूरा गरिएको छैन,’ उनले भने, ‘यो विषयमा अदालतमा मुद्दा विचाराधीन छ, निर्णय गर्नै मिल्दैन ।’ काठमाडौं र त्रिभुवन विश्वविद्यालयबाट थप मेडिकल कलेजलाई सम्बन्धन दिँदा चिकित्सा शिक्षा र स्वास्थ्यको गुणस्तरमा थप ह्रास आउने भन्दै उनले चिन्ता व्यक्त गरे । तत्कालीन उपकुलपति सुरेशराज शर्मा र रामकण्ठ माकाजुले समेत थप सम्बन्धन दिन रोकेको उनले स्मरण गरे । ‘ओली र शिक्षामन्त्री त खुराफाती भइहालें, उपकुलपति थापा पनि नियम कानुन तोडेर काम गर्ने गोटी बने,’ उनले भने, ‘यिनीहरू अनैतिक र गैरजिम्मेवार भए, जवाफदेही बनाउने काम नागरिकको हो । गैरकानुनी निर्णय बदर नभए सत्याग्रह थाल्छु ।’

  • खबरदाता
  • प्रकाशित मिति:फागुन १६, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८