• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

नवलपुरका ९२ वटै वडामा स्वास्थ्य बीमा सुरु


नवलपुरका ९२ वटै वडामा स्वास्थ्य बीमा सुरु

राज्यले विगत ५ वर्षदेखि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ६८ वटा जिल्लामा लागू भइसकेपनि यसको प्रभावकारिताको बारेमा विज्ञहरु जानकार छैनन् । सामान्य उपचार गराउने सर्वसाधरण यस बीमाको लागि महिनौँ दिनसम्म धाउनुपरेको यथार्थता अस्पतालहरुमा प्रष्टै रुपमा देख्न सकिन्छ । सामान्य भन्दा समान्य सिटामोल लगायतका औषधि भन्दा बाहेक अरु सुविधा लिन नसकेको सेवाग्राहीको गुनासो पनि त्यतिकै मात्रामा छ । सेवामा सहभागीता भन्दा पनि सहभागीता पछि पाइने सेवा लिनै कठिन हुने गरेको छ । नागरिकहरुलाई कार्यक्रममा समावेश गर्दै गर्दा सेवा पाउने समय र लाइन बस्नुपर्ने झन्झटीलो अवस्थाको अन्त्य उनीहरुले खोजी रहेका छन् ।

केपी शर्मा–फागुन १५, २०७७
नवलपुर । नवलपुर जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको छ । देशमै पहिलो पटक २०७२ सालबाट सुरु गरिएको यो स्वास्थ्य बीमा कार्यक्रम अहिले ६८ औँ जिल्लाको रुपमा नवलपुरमा आइपुगेको छ ।
कैलाली, इलाम र बाग्लुङबाट एकैपटक सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम देशका ६८ वटा जिल्लामा पूर्ण रुपमा संचालनमा आएको स्वास्थ्य बीमा गण्डकी प्रदेश संयोजक जिवलाल खरेलले जानकारी दिए ।
जिल्लाका ४ वटा नगरपालिका र ४ वटा गाउँपालिकाका ९२ वटै वडामा फागुन ९ गतेबाट एकैपटक यो सेवा सुरु भएको हो । स्वास्थ्य बीमा नियमावलीको आधारमा वडाअध्यक्ष, सचिव र स्वास्थ्य चौकीका प्रमुखको रोहवरमा सूचना प्रकाशीत गरी अभिकर्ता चयन गरिने प्रावधान रहेको छ । सोही अनुसार जिल्लाका ९२ वटै वडामा अभिकर्ता छनौट भई काम पनि सुरु भइसकेको हो ।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका, असाहाय, अशक्त नागरिकलाई केन्द्रीत गरी सरकारले ल्याएको स्वास्थ्य बीमाबाट बीमामा सूचिकृत ९५० भन्दा बढि रोगहरुको उपचारमा सहयोग पुग्ने र ११ सय ३३ प्रकारका औषधिहरु उक्त सेवामा समावेश गरिएको खरेलले बताए ।

एकै परिवारका ५ जना सदस्यको कूल बीमा शुल्क रु. ३ हजार ५ सय लाग्नेछ । जसले रु. १ लाख बरावरको उपचार निःशुल्क हुनेछ । परिवारमा पाँच जना भन्दा वढि सदस्य भएमा प्रति सदस्य थप रु.७ सय अतिरिक्त शुल्क बुझाएपछि बीमा रकम पनि रु. २० हजार थप भई कुल १ लाख २० हजार बरावरको उपचार सुविधा लिन सकिने बीमा नियमावलीमा उल्लेख छ । माघ ,फागुन र चैत्रमा बिमा फारम भर्नेको जेष्ठ १ गतेबाट बिमा लागू हुने छ भने बैशाख , जेष्ठ , असारको भाद्र १ गते,श्रावण , भाद्र ,अशोजको मंसिर १ गते र कार्तिक , मंसिर र पौषमा बिमा फाराम भर्नेहरुको फागुन १ गतेबाट बिमा लागू हुने छ ।नवीकरण पश्चात् भने निरन्तर लागू हुने छ । सो वीमा अवधि एक वर्षको मात्रै रहनेछ । पुन सोही शुल्कमा नविकरण गर्नुपर्ने छ ।

नियमावलीमा उल्लेख भए अनुसार ७० वर्ष पुगेका ज्यष्ठ नागरिक, रातो कार्ड पाएका अपाङ्ग,एचआइभि संक्रमित,कुष्ठरोग र क्षयरोगबाट प्रभावित परिवारलाई निशुल्क यो सेवा प्रदान गरिनेछ भने महिला स्वास्थ्य स्वयम्सेविकाको परिवारलाई बीमा शुल्कमा ५० प्रतिशत छुट दिइनेछ ।

बीमा गराएपछि बीमा कार्ड उपलब्ध गराइने र सोही कार्ड देखाएर तत्काल सुविधा लिन सकिने छ । यो सुविधा लिनका लागि नागरिकले सरकारी अस्पतालमै उपचार सेवा लिनुपर्नेछ । तर आकश्मिक अवस्था आइपरेमा निजी क्षेत्रका केही अस्पतालहरुमा पनि बीमा कार्ड देखाएर उपचार गर्न सकिने स्वास्थ्य बीमा योजनामा रहेको छ । नवलपुर जिल्लाका नागरिकले जिल्लाका सरकारी अस्पतालमा साथै चितवनको भरतपुर अस्पताल, रत्ननगर अस्पताल लगायत सरकारी अस्पतालमा र नयाँ मेडिकल कलेज तथा पुरानो मेडिकल कलेजमा पनि सेवा लिन सकिने खरेलले बताए ।

गत फागुन ९ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितीमा कावासोतीबाट यो सेवा सुरु भएको हो । यो आर्थिक वर्षमा जिल्लाभरका २० प्रतिशत नागरिकलाई यसमा समावेश गराइने लक्ष्य राखिएको बताउँदै खरेलले यो निरन्तर जारी रहने कार्यक्रम रहेको जनाए । उनका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङ वाहेक अन्य जिल्लामा यो सेवा चलिरहेको छ । अहिले अत्याधिक चिसोका कारण ती दुई जिल्लामा सेवा सुरु गर्न नसकिएपनि चैत्रको अन्तिमबाट भने ती जिल्लामा पनि सेवा संचालन गरिनेछ ।

चितवनका १३ स्थानबाट सेवा लिन सकिने

देशकै मेडिकल सिटीको रुपमा लिने गरिएको चितवन जिल्लामा भने २०७४ साल असार १ गतेबाट यो कार्यक्रम लागु भएपनि बीमा दावी भने भदौ १ गतेबाट सुरु भएको हो । चितवन जिल्लाका विभिन्न १३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाबाट यो सेवा लिन सकिनेछ ।

चितवनको भरतपुर अस्पताल,रत्ननगर अस्पताल, बगौडा अस्पताल, खैरेनी, जुटपानी, शिवनगर स्वास्थ्य चौकी, क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, गुञ्जामान सिँह अस्पताल, बकुल्लर अस्पताल, मनकामना अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजबाट स्वास्थ्य बीमाको सेवा प्रदान गरिदै आएको छ ।

स्वास्थ्य बीमा लागू भएका जिल्लाहरुको विवरण 

  • प्रकाशित मिति : फागुन १५, २०७७, शनिवार ०४:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८