• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

भागरथीको बलात्कार र हत्या आरोपमा सहपाठी पक्राउ


भागरथीको  बलात्कार र हत्या आरोपमा सहपाठी पक्राउ

आरोपी युवा भागरथीका छिमेकी तथा सहपाठी हुन्, विद्यालयबाट फर्कँदा सुरुमा भीरबाट लडाएर घाइते बनाएको र बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन्, बाबुको पालाको रिसले छोरीमाथि यति जघन्य अपराध गरेको आरोपीको बयान

फागुन ५,२०७७

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ ।

घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।

‘आरोपी भागरथीका छिमेकी तथा सहपाठी हुन्, सो दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन् ।  बुधबार उनलाई सार्वजनिक गर्दैछौँ,’ सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले  भने ।

स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन् ।

यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् । ‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने ।

अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । तर, उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा मात्र राखेको थियो । उनीविरुद्ध पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरिएको स्रोत बताउँछ । भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए । ‘समाजमा उनको पृष्ठभूमि नकारात्मक थियो, त्यसैले बसाइँ सरेर एक किलोमिटर पर गएका थिए,’ भागरथीका काका शिवराजले नयाँ पत्रिकासँग भने, ‘यो घटनालगत्तै त्यो केटो डराएको देखिन्थ्यो, ऊ आफैँ संलग्न थियो अथवा उसले केही देखेको थियो भन्नेमा हामी ढुक्क थियौँ । आज त उसले साबिती बयान दिएको सुन्यौँ ।’

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिमका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदी १० दिनदेखि घटनास्थल बैतडीको दोगडाकेदार गाउँमै छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०बाट समेत डिएसपीको कमान्डमा प्रहरी टोली खटिएको छ ।

निर्मला पन्त प्रकरणमा असफलताले गर्दा प्रहरी दबाबमा थियो । अहिले पनि १३ दिनसम्म दोषी पक्राउ नपर्दा प्रहरीको क्षमतामाथि प्रश्न उठिरहेका छन् । प्रहरी अनुसन्धानमा शंका गर्दै पीडित परिवारले अहिलेसम्म शवसमेत बुझेका छैनन् । तर, प्रहरीले भने शंकास्पदलाई पक्राउ गरेर सोध्नेभन्दा पनि प्रमाण संकलन गरेर अभियुक्तलाई घेर्ने नीति लिएको र त्यसमा सफल भएको दाबी गरेको छ ।

भागरथी हत्याको १३औँ दिन पनि बैतडीका विभिन्न ठाउँमा आन्दोलन जारी रह्यो । विद्यार्थीले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गर्दै दियो बालेर विरोध जनाए । त्यस्तै, दोगडाकेदार गाउँपालिकामा निरन्तर प्रदर्शन हुँदै आएको छ । स्थानीयले तीन दिनदेखि घन्टी जुलुस गर्दै आएका छन् ।

पीडित परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको घोषणा

सुदूरपश्चिम सरकारले भागरथीको परिवारलाई पाँच लाख राहत दिने घोषणा गरेको छ । मंगलबार उक्त निर्णय भएको प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले जानकारी दिए । ‘पीडित परिवारलाई राहतस्वरूप सरकारले उक्त रकम प्रदान गर्ने घोषणा भएको छ,’ उनले भने । भागरथीको हत्या भएको १३ दिनसम्म पनि सुदूरपश्चिम सरकारका आधिकारिक प्रतिनिधि कोही पनि भागरथीको गाउँ नपुगेको भनेर सार्वजनिक आलोचना भएको थियो । आइतबार प्रदेश सभाकोे सामाजिक विकास समितिकी सभापति कुन्ती जोशीसहितको टोली भने घटनास्थल पुगेको थियो ।

भागरथीका काका शिवराज भन्छन्– घटनाकै दिनदेखि त्यो केटो डराएको थियो

भागरथी बेपत्ता भएको दिनदेखि हामी खोजीमा थियौँ । छिमेकी एउटा केटो केही डराए–डराएजस्तो देखिन्थ्यो । उसले बलात्कार र हत्या आफैँ गरेको वा देखेको हुन सक्ने हाम्रो विश्वास थियो । उसको असामान्य गतिविधि देखेर हामीले पनि निगरानी गरिरहेका थियौँ । भागरथीको बलात्कार र हत्याको विरोधमा भइरहेका विरोध प्रदर्शनमा पनि ऊ जाने गरेको थियो । समाजमा उसको पृष्ठभूमि नकारात्मक थियो । भागरथी र उसको घर नजिकै थियो, तर सम्बन्ध राम्रो थिएन । त्यसैले उसको परिवार बसाइँ सरेर एक किलोमिटर पर एकान्तमा गएको थियो । अहिले पुरानो रिसइबीको बहाना बनाएर यत्रो जघन्य अपराध गरेको छ । हामी धेरै दुःखी छौँ । त्यस्ता अपराधीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।

घट्नाक्रम

२१ माघ– विद्यालय गएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट बेपत्ता । विद्यालयबाट नफर्किएपछि परिवारले खोजबिन सुरु गरे ।

२२ माघ– साँझ घरबाट अढाई किलोमिटरनजिकै लवलेक जंगलमा शव भेटियो ।

२३ माघ– बलात्कारपछि हत्या गरेको आशंका गर्दै विद्यार्थीले आन्दोलन थाले । केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि अनुसन्धानमा जुट्यो ।

२४ माघ– घटनालाई लिएर आन्दोलन पनि चर्कँदै गयो । दोषी पत्ता नलगाएसम्म परिवारले शव बुझ्न मानेन । धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु ।

२५ माघ– घटनास्थल पुगेका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले अनुसन्धानलाई साँघुरो बनाइदिएको दाबी गरे । बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी आन्दोलनमा ।

२६ माघ– पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि । बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदीले जानकारी दिए । तर, घटनास्थलमा फेला परेको मोबाइल र भागरथीको फेसबुक एकाउन्टबाट सन्तोषजनक सुराग नमिलेको प्रहरीकै भनाइ ।

२७ माघ– प्रहरीको भनाइ थियो, ‘स्थानीय बासिन्दाबाट पर्याप्त सूचना नआउँदा अनुसन्धानमा केही ढिलाइ भयो । मोबाइल र सामाजिक सञ्जाललाई आधार बनाएर अनुसन्धान हुँदै छ ।’

२८ माघ– अनुसन्धान जारी । अनुसन्धानले गति नलिएकोमा परिवार, विद्यार्थी र स्थानीय असन्तुष्ट ।

२९ माघ– विद्यार्थीले आन्दोलन तीव्र बनाए । प्रहरीद्वारा केही व्यक्तिलाई निगरानीमा राखेको जानकारी ।

३० माघ– निर्मला पन्तदेखि भागरथी भट्टसम्मको बलात्कारपछि हत्याको विरोधमा राजधानीमा महिलाको सिंहदरबार मार्च । बैतडी सदरमुकाम गोठालापानीमा विद्यार्थीले थाल बजाएर विरोध गरे ।

१ फागुन– सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीकोे टोलीको अनुसन्धान जारी । शव जिल्ला अस्पतालमै । निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानीमुनि गए पनि नछाड्ने प्रधानमन्त्रीको भनाइ छ ।

२ फागुन– अनुसन्धान जारी । सुदूरपश्चिम प्रदेश सभाका सामाजिक विकास समितिका सदस्यहरू घटनास्थल पुगे र परिवारसँग भेट गरे । कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा परिवारलाई दुई लाख सहयोग ।

३ फागुन– अनुसन्धान जारी ।

४ फागुन– गृहमन्त्रीद्वारा अनुसन्धानमा नजिक पुगेको दाबी, बलात्कारपछि हत्याको आरोपमा भागरथीका छिमेकी तथा सहपाठी पक्राउ परेको साँझ पुष्टि ।( नयाँ पत्रीकामा खबर छ)

  • प्रकाशित मिति : फागुन ५, २०७७, बुधवार ०१:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८