भागरथी हत्या : ९ दिनमा न दोषी भेटियो न शब उठ्यो

  • फागुन ०१, २०७७

 

फागुन १,२०७७

‘हामी दोषीनजिक पुगेका छौं’ भागिरथीको बलात्कार तथा हत्या भएको नवौं दिनसम्म प्रहरीको उही प्रतिक्रिया छ । ‘हिजोभन्दा आज, आजभन्दा भोलि हामी अपराधीको नजिक पुगिरहेका छौँ,’ डिआइजी उत्तम सुवेदीले भने । सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी सुवेदी ६ दिनदेखि आफैँले अनुसन्धानको कमान्ड सम्हालिरहेका छन् । उनले अबको केही समयभित्रै अपराधी सार्वजनिक गर्ने तयारीमा प्रहरी लागेको बताए । तर, ठ्याक्कै समय तोक्न सकिने अवस्था भने नरहेको सुवेदीको भनाइ छ ।

भागरथीको बलात्कारपछि हत्या भएपछि घटनास्थलमा सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीको ठूलो टोली खटिएको छ । खोचलेक प्रहरी चौकीलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । यता जिल्ला सदरमुकाममा विद्यार्थीले शुक्रबार प्रशासनअगाडि थाली बजाएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले प्रशासनअगाडिको गढी बजारमा धर्ना बस्दै शुक्रबार थाली बजाएका हुन् ।

यता भागरथीको शव नौ दिनदेखि जिल्ला अस्पतालको शवगृहमा छ । उनका हत्यारालाई सार्वजनिक नगर्दासम्म आफन्तले शव नउठाउने अड्डी कसेका छन् । एकातिर जिल्ला हुँदै देशका विभिन्न ठाउँमा आन्दोलन चर्किँदै गएको छ भने अर्कातिर उनको शव नउठाउँदा प्रहरी दबाबमा परेको छ ।

प्रहरीले भने घटना भएदेखि कुनै कसर बाँकी नराखी अनुसन्धानमा खटिएकाले थप दबाब आवश्यक नभएको बताएको छ । ‘हामीले सुदूरपश्चिमभरिको पूरै जनशक्ति बैतडीमा केन्द्रित गरेका छौँ । प्रहरीले गर्ने काम रात–दिन नभनी गरिरहेको छ,’ डिआइजी सुवेदी भन्छन्, ‘प्रहरीले छिट्टै नै भागरथीका हत्यारा सार्वजनिक गर्नेछ । यो निर्मला प्रकरणजस्तो हुनेछैन ।’

घरभरी मान्छे छन्, तर एक्लै छिन् भागरथीका आमा

 

बैतडी, दोगडाकेदार– ७ की १७ वर्षीया किशोरी भागरथीको हत्या भएको नौ दिन पुगेको छ । उनको घर पुग्दा आँगनमा शोकाकुल परिवार भेट्न आउनेहरूको भिड देखिन्थ्यो ।

भागरथीकी आमा द्रोपती र आफन्तहरूका आँखा भने आँसुले टिल्पिलाइरहेका थिए । आमा द्रोपती घरि उनैले हुर्काएका गाईवस्तुतिर हेर्थिन् । घरि दाउराका खाततर्फ हेर्थिन् । एकछिन टोलाउँथिन् । अनि आँगनमा आएकाहरूका अनुहार एक–एक गरी नियालेजस्तो गर्थिन् । त्यसपछि सेतो पछ्यौरीले आँखा पुछ्दै भक्कानिन्थिन् । द्रोपतीको दैनिकी यसरी नै चलिरहेको छ ।

परिवारलाई भेट्न शुक्रबार कञ्चनपुरबाट केही महिला अधिकारकर्मी आएका थिए । त्यस्तै केही मिडियाकर्मी र बैतडीका प्रदेश सांसद लीलाधर भट्ट पनि भागरथीको आँगनमा देखिन्थे । उनीहरू सबैले भागरथीको शोकाकुल परिवारलाई सान्त्वना दिँदै थिए । आमा द्रोपतीको मन भने शून्य थियो । चाउरिएको अनुहार फुङ्ग उडेको थियो । महिना दिनअघि श्रीमान् बितेपछि सेतो पहिरनमा छिन् उनी । सेतो पछ्यौराले आँसु पुछ्दापुछ्दा उनका आँखा सुन्निएका थिए । वरपर गाउँभरिका महिला जम्मा भएका थिए । उनीहरूका आँखा पनि ओभाना थिएनन् । प्रायः सबैजना सुँकसुँकाइरहेका थिए ।

‘भागरथी अझै पनि फर्केर आउँछिन्जस्तो लागिरहन्छ’ काँपेको रुन्चे आवाज निकाल्दै आमा द्रोपती बोल्छिन्, ‘खाना पकाउनै मन लाग्दैन । पकाए पनि उनको बाटो हेरेर कुर्न मन लाग्छ । एक्लै खान नसकेर भागरथीलाई बोलाउँछु । तर, उनी आउँदिनन् ।’ उनले यती भन्न नपाउँदै आँसु भुइँमा खस्यो । आँगनमा बसेर भागरथीलाई सम्झिँदै दिन बित्छ । बिस्तारामा पनि उनैलाई सम्झिँदै रात घर्किन्छ ।

भागरथीले दुई चुल्ठी बाटेर खिचेको फोटो सामाजिक सञ्जाल फेसकुमा भेटिन्छ । भागरथीको अन्तिम दिन, अन्तिमपटक बाटिदिएको दुई चुल्ठीको झझल्कोले सबैभन्दा बढी सताउँछ आमालाई । ‘अरू दिन आफैँ कपाल बाटेर हिँड्थी । त्यो दिन मलाई कपाल बाट्न लगाई,’ आमा संझिन्छिन् । उनको न्यायका लागि अहिले धेरै ठाउँमा त्यही दुई चुल्ठीवाला फोटोको प्ले कार्ड बनाएर गाउँदेखि सहरसम्म आन्दोलन चर्किरहेको छ ।

सधैँ ३ बजेको आसपासमा भागरथी घर फर्किएर खाजा खान्थिन् । र, लगत्तै आमालाई सघाउथीन् । गाईवस्तुको स्याहार गर्थिन् । बाख्राहरूलाई खानेकुरा खुवाउँथिन् । दाउरा चिर्नेदेखि चुलोचौकोसम्म हरेक काममा भागरथी खट्थिन् । तर, त्यो दिन ३ बज्यो, छोरी आइनन् । बाटो हेरेर बसिरहेकी आमाका आँखा थाक्न थाले । तर, छोरी आँगनमा देखिइनन् । बेलुका गाउँका सबैका छोराछोरी विद्यालयबाट फर्किए । सधैँ ३ बजे घर पुगिसक्ने भागरथी भने फर्किनन् ।

आमाको मनमा चिसो पस्यो । सधैँ ठीक समयमा फर्किने उनी त्यो दिन मोबाइल अफ गरेर घर नफिरेपछि द्रोपतीले छिमेकी गुहारिन् । सबै खोजीकार्यमा लागे । त्यो दिन उनको कतै पत्तो लागेन । छिमेकीहरूले जवान छोरी कसैसँग भागेर गएको अड्कल काटे । भोकै बिस्तारामा पल्टिएकी आमा रातभरि निदाउन सकिनन् । दोस्रो दिनभर दौडभुप भयो । साँझ ५ बजेको समयमा छोरीको शव लवलेक जंगलको वनमाराको झाडीमा छोरीको शव फेला परेको खबर आयो ।

बुबाको किरिया गरेर मजदुरीका लागि भारत गएका छोरा केही दिनअघि घर फिरेका छन् । उनी न कसैसँग बोल्छन् । न आमालाई सम्झाउन सक्छन् । बहिनीको वियोग कसरी भयो रु उनी केही मेसो पाउदैनन् । दिनभरि एकोहोरो टोलाइरहन्छन् । रातभरि अनिँदो बस्छन् । (नयाँ पत्रिकाबाट)

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८