राजनीतिक कार्यकर्तानै खेलकर्मीका साझा दुस्मन

  • खबरदाता
  • माघ १०, २०७७

माघ १०,२०७७  – खबर मुलुक विशेष

चितवन । अहिले पनि नेपाली खेलकुदलाई हेर्नेहरू पञ्चायत कालको स्मरण गर्छन् । त्यसो त पञ्चायत काल खेलकुदका लागि स्वर्णिम थियो भन्ने होइन । तर, धेरै जनाको मत के चाहिँ हो भने नेपाली खेलकुदमा दलीय आडमा अहिले जुन विकृति देखिएको छ, त्यो पञ्चायत कालमा बरु थिएन । नेपाली खेलकुदका यावत समस्या र खराब पाटा छन् । तर ती मध्येको सबै भन्दा खराब पाटो भनेको दलीय आडमा हुने गतिविधि नै हुन् ।

एक दशक भयो ,नेपाली खेलकुदमा यसै खाले दलीय हथकण्डाको पराकाष्ठा नाघेको । दलीय कोप भाजनमा थुप्रै सङ्घका नेतृत्व रहे । कति खेलकर्मी भए, यसको लेखा जोखा नै छैन । उदाहरणका लागि गत वर्ष एथलेटिक्स खेलभित्र सही गतिविधि नभएको ठहर गर्दै यस खेल निकट अगुवाहरूले विद्रोह गरे । यो विवाद खेलकुद परिषद्सम्म पुग्यो । खेलकुद परिषद्ले विवाद समाधान गर्न खोजेन । विवादबाट फाइदा लिने गलत मनसाय लिइयो ।

परिषद्का उपाध्यक्ष र सदस्य सचिव को गलत इच्छा रहन पुग्यो । अन्ततः राखेप उपाध्यक्षलाई ओलम्पिक कमिटीमा प्रवेश गराउने बाटो बनेको यो विवादको अन्त्य त भयो तर, संसारको सबैभन्दा वैज्ञानिक खेल नेपालमा सबैभन्दा अवैज्ञानिक पाराले चल्ने क्रम रोकिएन । अनि खेलकुदलाई यसरी गलत ढङ्गले प्रयोग गर्न उक्साउने राजीव विक्रम शाहका एक प्रिय पात्र सुदूर पश्चिमाञ्चलमा सदस्य सचिव हुने दौडमा लागी रहे ।

नेपालका कुनै यस्ता खेल सङ्घ छन्, जसको सिङ्गो कार्य समिति राजनीतिक भागबन्डाको आधारमा तय भएको थियो । सोही खेलका अधिक जिल्ला सङ्घका अधिवेशनमा सम्बन्धित खेलकर्मीलाई अत्तो पत्तो दिइँदैन । सम्पूर्ण राजनीतिक कार्यकर्ताले सङ्घ अधिवेशन सकिने गरेका छन् ।

नेपालको राष्ट्रिय खेल भलिबलको अधिवेशनमा राजनीतिक शक्तिको चासो त्यत्तिकै रहने गरेको छ । उसु सङ्घको अधिवेशनमा त तत्कालीन सदस्य सचिव आफैले अधिवेशन उद्घाटन गरे । अधिवेशनकै समयमा आफू अध्यक्ष हुने इच्छा राखे । त्यो पुरा हुन नसके पछि अधिवेशन स्थगित गरे । पछि ओलम्पिक कमिटीको अधिवेशनमा प्रतिनिधि आफू जाने सर्तमा अन्यलाई सो पद छाड्न तयार रहे । भलै ती महापुरुष ओलम्पिक कमिटीको निर्वाचनमा पनि पराजित भए । उसु सङ्घको विवाद लगायत केही यस्ता घटना छन् जसका कारण सदस्य सचिवको कुर्सी दशक सम्म गन्हाउने छ ।

टेबल टेनिस सङ्घमा आफू पराजित हुने भए पछि अध्यक्षले अर्को वितण्डा मच्चाए । तीनै ओलम्पिक कमिटीमा पनि रहे । तीनको कारण यो खेल अझै विवादमा छ । पौडी सङ्घमा दुई गुट छ । शक्ति केन्द्रको आडमा अध्यक्षको हैकम अहिले पनि यथावतै छ । महासचिव यसको विरुद्धमा जति गुम्से पनि अध्यक्षले तयार गरेको एउटा समूह र यसका अघि सबै नतमस्तक छन् ।

क्रिकेटमा बहुसङ्ख्यक शक्तिलाई बे वास्ता गर्दै वर्तमान सदस्य सचिव र पूर्व सदस्य सचिव मिलेर एउटा वितण्डा मच्चाए । उनीहरूकै कारण क्रिकेट सङ्घ लामो समय विवादमा रुमलियो ।

अखिल नेपाल फुटबल सङ्घ त झन् राजनीतिक पार्टीको भकुन्डो बनेको छ । एक दिन काँग्रेसले भनेको आधारमा केन्द्रीय समितिमा कोही मनोनीत हुन्छन् । अनि अर्को दिन नेकपाले भनेको आधारमा थपिन्छन् ।इतिहासमै सबैभन्दा कमजोर र हैसियत हीनहरूको जमात बनेको छ ,फुटबल सङ्घ ।

नेपाली खेलकुदमा दलीय आडमा हुने यो गतिविधिले प्रमाणित गरेको छ । नेपाली खेलकुदका लागि दलीय व्यवस्था अभिशाप हो । अनि राजनीतिक कार्यकर्ता नेपाली खेलकर्मीका साझा दुस्मन ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८