• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

चितवनमा औद्योगिक गणना तथा सर्वेक्षण कार्य तिव्र

  • खबरदाता

चितवनमा औद्योगिक गणना तथा सर्वेक्षण कार्य तिव्र

माघ ९, २०७७
चितवन। चितवन जिल्लामा औद्योगिक गणना तथा सर्वेक्षणको कार्य तिव्र पारिएको छ । कोरोना भाइरस कोभिड १९ का कारणले रोकिएको गणना अहिले जिल्लाभर जारी रहेको हो ।

तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले दिएको जानकारी अनुसार २०७६ फाल्गुण दोश्रो सातादेखि राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को स्थलगत तथ्यांक संकलन कार्य देशभर शुरू भएकोमा कोभिड–१९ का कारणले गत चैत्र ११ गते देखि स्थगन भएको थियो । पछि यहि मंसिर ११ बाट पुनः गणना सुचारु भएको हो ।

आर्थिक बर्ष २०७५/२०७६ मा संचालनमा रहेका साना तथा ठूला सबै उद्योग प्रतिष्ठानहरूको समग्र तथ्यांक संकलन गर्ने, अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान मापन गर्ने र नीति निर्माता, योजनाविद्, अनुसन्धानकर्ता, उद्योगपति एवं अन्य सबै सरोकारवालाहरूलाई आवश्यक पर्ने औद्योगिक तथ्यांक उपलब्ध गराउने उद्देश्य राखेर यसको गणना गरिएको हो ।

No description available.
त्यसरी आएको तथ्याङ्क विश्लेषणबाट सरकारले राजेगारी लगायत अर्थनीति बनाउन समेत सहयोग पुग्ने बताइएको छ । साथै कोभिड १९ सँग सम्वन्धी प्रश्नहरु समेत समावेश गरिएका कारण उद्योगीहरुले आफ्नो उद्योगमा परेको क्षती समेत अभिलेख गर्न पाउने हुँदा सरकारबाट हुने सहयोगमा यसले योगदान दिने विश्वास लिइएको छ ।

ठुला उद्योगहरुको गणना र साना उद्योगहरुको सर्वेक्षण एकैसाथ भैरहेको छ । स्थलगत तथ्यांक संकलनमा मूल र कोभिडले पारेको प्रभाव सहित दुई खालका प्रश्नावलीहरु उद्योगपतिहरुसंग भरिने र यसरी संकलित विवरणहरु तथ्यांक ऐन २०१५ अनुसार गोप्य रहनेछन् ।

भण्डारीले भने,“सवै उद्योगीहरुले उत्साहपूर्वक गणनामा सहभगी हुनुहुन्छ । चाँडै काम सक्ने योजनामा छौँ । ”

आर्थिक वर्ष २०७६/२०७७ मा केन्द्रीय तथ्याङ्क विभागले संयुक्त राष्ट्र संघ औद्योगिक विकास निकाय (यूएनआइडिओ) को सिफारिस अनुसार संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण(आइएसआइसी) का प्रमुख चार क्रियाकलापहरू औद्योगिक उत्पादन,खानी तथा उत्खनन्, विद्युत उत्पादन, प्रशारण तथा वितरण र पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचरात्मक क्रियाकलापहरू गर्ने ठूला तथा साना सबै उद्योग प्रतिष्ठानहरूलाई समेटी एकिकृत रुपमा राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ जारी रहेको हो ।

नेपाल सरकार, केन्द्रीय तथ्यांक विभागले वि.सं. २०२२ सालदेखि आवधिक रूपमा औद्योगिक गणना तथा सर्वेक्षणहरू संचालन गर्दै आइरहेको छ । जसले नेपालमा औद्योगिक तथ्यांकको आपूर्ति गर्दै आइरहेको भण्डारीले जानकारी दिनुभयो । हालसम्म तथ्याङ्क विभागले दश वटा औद्योगिक गणना र पाँच वटा औद्योगिक सर्वेक्षणहरू सम्पन्न गरिसकेको छ ।


अहिले तथ्यांक कार्यालय चितवनले ३ जिल्ला हेर्दै आइरहेको छ । कार्यक्षेत्र अन्तर्गत चितवनमा ५१७, पूर्वी नवलपरासी जिल्लामा २४८ र नवलपरासी पश्चिममा १९८ उद्योग प्रतिष्ठान समेत गरी ९६३ को सूची केन्द्रीय तथ्यांक विभागले जिल्लामा पठाएकोमा ६० प्रतिशत भन्दा बढिको स्थलग तथ्यांक संकलन सम्पन्न भइसकेको भण्डारीले जानकारी दिनुभयो । चितवनमा ८ जना गणकहरु खटिएका छन् भने पूर्वी नवलपरासीमा ३ जना र पश्चिम नवलपरासीमा १ जना गरी कूल १२ जनाले ठूलो उद्योगहरुको गणना र साना उद्योगहरुको सर्वेक्षण गरिरहेका हुन् ।

कार्यालयले चैत्र महिनाभित्रै स्थलगत तथ्यांक संकलन सम्वन्धी कार्य सम्पन्न गर्ने तयारी गरिरंहेको छ । राष्ट्रिय जनगणना २०७८ को तयारीमा जुटिरहेको कार्यालयले सो अगावै तथ्यांक संकलनको सम्पूर्ण कार्यहरु सक्ने गरी तालिका अनुसारनै कामलाई तिव्रता दिएको भण्डारीले जानकारी दिनुभयो।

१० वा १० भन्दा धेरै कर्मचारीहरु संलग्न ठूला उधोग प्रतिष्ठानहरुको पुर्ण गणना गरिन्छ भने तथ्यांकीय बिधिबाट छ्नौटमा परेका ९ जना सम्म कामदार भएका साना उद्योग प्रतिष्ठानहरुको सर्वेक्षण भैरहेको हो ।

  • प्रकाशित मिति : माघ ९, २०७७, शुक्रवार ०५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८