भारतले नेपाल सहितका मुलुकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप उपलब्ध गराउने भएको छ ।
माघ ६,२०७७
चितवन । भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको हो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख गरेको छ। भारतले अनुदानमा उपलब्ध गराउने सो खोप नेपालले कति परिमाणमा पाउँछ यकिब भइसकेको भने छैन ।
खोप आउने बिषयमा सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुनलागेको खोपको परिमाण जानकारी नभइसकेको बताएका छन।
स्वास्थ्य मन्त्रालयकाले भने यस विषयमा उपयुक्त समयमा जानकारी दिने बताएको छ ।
भारतीय विदेशमन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो।
अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अस्फोर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।
भारतले चरणबद्ध रूपमा अति अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आइएको भन्दै अरू साझेदार देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी हप्ता र महिनामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ।
विदेश मन्त्रालयको विज्ञप्तिमा देशभित्रका उत्पादकहरूले भारतभित्रको आन्तरिक माग पुरा गर्ने हिसाबको पर्याप्त भण्डारण गरेपछि खोप बाहिर पठाउने कुरा सुनिश्चित गरिने उल्लेख गरेको छ।
हालै नेपालले झण्डै ६० लाख मानिसहरूका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा जाहेर गरेको छ।
त्यसका लागि सघाउन भारत सरकारलाई औपचारिक रूपमानै अनुरोध गरिएको भएपनि खोप खरिदबारे ठोस निर्णय आइसकेको देखिदैँन। (बिबिसी नेपालीबाट)
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८