• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

गैँडाकोटको नक्कली चालक प्रकरण : इन्सपेक्टर जिसी सहित सात जनाले पाए सफाई

  • खबरदाता

गैँडाकोटको नक्कली चालक प्रकरण : इन्सपेक्टर जिसी सहित सात जनाले पाए सफाई

माघ ५– २०७७
नवलपुर । नवलपुर जिल्लाको गैँडाकोटमा नक्कली चालक खडा गरी दुर्घटना केस मिलाउने प्रकरणमा मुछिएका सातै जना आरोपिले विशेष अदालतबाट सफाई पाएका छन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका पूर्व प्रहरी निरीक्षक लोक बहादुर जिसी सहित ७ जनाले विशेष अदालतबाट सफाई पाएका हुन् । उनीहरुलाई नवलपुरको गैँडाकोट दुर्घटनापछि सक्कली चालकलाई बचाएर नक्कली चालक खडा गरी भ्रष्टचार गरेको अभियोगमा अख्यितारले आरोप पत्र दायर गरेको थियो ।

२०७६ साल असार २७ गते विशेष अदालत बबरमहल काठमाण्डौमा अख्तियारले दायर गरेको मुद्दामा आइतबार फैसला गर्दै सात जनालाई नै सफाइ दिएको हो । जिसी सहित प्रहरी नायव निरीक्षक दामोदर भट्टराई, प्रहरी सहायक निरीक्षक देव बहादुर थापा र अस्थायी ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका तत्कालीन कमाण्डर बल बहादुर वलीले सफाइ पाएका हुन् । त्यस्तै सोही मुद्दाको आरोपि बोधराज पाण्डे, शालिकराम पाण्डे र किसुन महतोले पनि विशेष अदालतबाट सफाई पाएका हुन् ।

यस्तो थियो घटना विवरण

गत सालको वैशाख ११ गते राती साँढे १० बजेको समयमा गैंडाकोटमा बा २० च ११७९ नम्बरको जीपले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २८ प ४७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल चालक कमल शर्मा र उनकी श्रीमती नन्दकला शर्मा गम्भीर घाइते भएका थिए । यता दुर्घटना गराएलगत्तै बा २० च ११७९ नम्बरका जीपका चालक बोधराज पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनालगत्तै चालकलाई प्रहरीले इलाका प्रहरी कार्यालय गैंडाकोट पुर्याएको थियो । सोही समयमा बोधराज पाण्डेले आफू चालक रहेको बयान समेत दिएका दिए ।

इलाका प्रहरी कार्यालयले पनि दुर्घटना भएको र चालक बोधराज पाण्डे नियन्त्रणमा रहेको रिपोर्टिङ जिल्ला प्रहरी कार्यालय नवलपुरलाई गर्यो । तर भोलिपल्ट बोधराज पाण्डेका दाई नाता पर्ने शालिकराम पाण्डे एकाएक इलाका प्रहरी कार्यालय गैंडाकोट पुगे । उनी चालक बोधराज पाण्डे, शालिकराम पाण्डे र इन्सपेक्टर लोक बहादुर जिसीबीच चालक परिवर्तन गरी नक्कली चालक खडा गरेको आरोप थियो ।

त्यही सहमति अनुसार वैशाख १३ गते प्रहरीले नक्कली चालक किसुन महतोलाई कार्यालयमा ल्याएर दुर्घटना गराउँदा आफू नै चालक थिएँ भन्ने बनाएको प्रतिवेदन तयार पारेको आरोप थियो । सक्कली चालकलाई उन्मुक्ति दिई नक्कली चालक खडा गर्नका लागि चालक बोधराज पाण्डेले प्रहरी निरीक्षकसहितको टोलीलाई १० लाख रुपैयाँ दिएको आरोप समेत लागेको थियो ।

इन्सपेक्टरको योजना मुताविक नक्कली चालक खडा गरी सक्कली चालकलाई उन्मुक्ति दिने काममा कार्यालयका सई दामोदर भट्टराई, असई देवबहादुर थापा र हबल्दार बलबहादुर वलीले सहयोग गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो

अदालतका प्रवक्ता उपरजिष्ट्रार पुष्पराज पाण्डेयका अनुसार अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, नित्यानन्द पाण्डेय र चन्द्रबहादुर सारुको इजलास १ मा बाट माघ ४ गते फैसला गरी सफाई दिइएको हो ।
प्रवक्ता पाड्यका अनुसार उनीहरु सबैले आआफ्नो पहिलेकै पदमा रहेर काम गर्न पाउनेछन् तर अख्तियार यो मुद्दालाइ लिएर सर्वोच्चमा पुनरावेदन जान सक्ने बाटो भने यथावत रहेको उनले बताए । सर्वोच्चमा मुद्दा गएपनि उनीहरु कार्यक्षेत्रमा रहन पाउने र सर्वोच्चले दोषी ठहराए मात्रै जागिर छोड्नुपर्ने अवस्था आउने उनले बताए ।

  • प्रकाशित मिति : माघ ५, २०७७, सोमवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८