एकता सन्देश नेता फुट्दै जनता जुट्दै
पौष २७, २०७७
चितवन । पछिल्लो समय सत्तासीन दलनै फुटिरहेको अवस्थामा जनताले भने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा एकताको स्वर घन्काएका छन् ।
२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर चितवनमा विभिन्न संघ संगठन र पार्टीले एकतावद्ध हुँदै कार्यक्रम गरेका छन् । विशेष गरी राष्ट्रिय झण्डामा केन्द्रीत रहेर उनीहरुले स्वरमा स्वर मिलाएका हुन् ।
भरतपुरको चौविकोठीमा पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठानले कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमामा विभिन्न राजनीतिक दलका व्यक्तिहरु पनि उपस्थिती थिए । कार्यक्रममा बोल्दै उनीहरुले पृथ्वी नारायण शाहले ससाना राज्यहरुलाई जसरी एउटै मालामा गाँसे त्यसरी नै अहिलेको अवस्थामा आम नेपाली पनि एकै ठाउँ उभिएको खण्डमा राष्ट्र विकासमा अझै ठूलो फड्को मारिने बताए ।
जुन राजाले यो अवस्थामा जनतालाई राज गर्ने थलो बनाइदिए सोही वंशलाई अहिलेका नेताहरुले शत्रुतापूर्ण दृष्टिकोण राख्नु नाजायज भएको उनीहरुको तर्क थियो ।
देशभर पृथ्वी जयन्ती मनाइरहदा चितवनमा पनि एकताको सन्देश दिँदै कार्यक्रमहरु भएका छन् । चितवनको केन्द्रीय बसपार्कमा राप्रपा चितवनले वृहत कार्यक्रमको आयोजना गरेको थियो । राष्ट्रिय झण्डा, बाजागाजा सहितको र्याली चौविसकोठी हुँदै पुन बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य एवम बागमती प्रदेश सभा सदस्य रिना गुरुङले सम्वोधन गर्दै चितवनबाटै राजसंस्थाको पक्षमा बिगुल फुक्ने कामको सुरुवात भएको बताइन् । “पृथ्वीनारायण शाहले एक गरेर बनाएको सुन्दर नेपाललाई ७ चिरा पार्ने काम भएको छ, जनताले करको भार, गरिबी पाए, चमात्कारिक विकास पाउन सकेनन्, अब राजसंस्थानै उचित विकल्प हो ।”
विभिन्न दलका नेताले राष्ट्रिय स्वाभिमान गिराउने गरी छिमेकी राष्ट्र समक्ष शिर झुकाउदै आएकाले राष्ट्रको रक्षाका लागि राजसंस्थानै चाहिएको उनको तर्क थियो । “हिन्दुराष्ट्र र राजसंस्था कायम गर्न जस्तोसुकै आन्दोलन गर्न तयार छौँ”, उनले भनिन्, “सरकारले फेरी पनि सुनोस्, राजसंस्था कायम गर ।” राप्रपाका बागमती प्रदेश सदस्य ज्ञानजंग लामाले पृथ्वीनारायण शाहले एकिकरण गरेको देशलाई भागबण्डा गरेर खाने प्रवृत्ति विरुद्ध जनता जागेको बताए ।
राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले गणतन्त्रप्रति जनतामा आएको वितृष्णाको वेगले राजसंस्थालाई स्थापित गर्ने दाबी गरे । शाही शक्ति नेपाल भरतपुरका अध्यक्ष सहुलमियाँ अन्सारीले पृथ्वीनारायण शाहले रगत पसिनाले जोगाएको देशलाई राष्ट्रवादी शक्तिलेमात्रै जोगाउन सक्ने दावी गरे । प्रमुख वक्ताका रुपमा राप्रपाका बरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे सहभागि हुने भनिएपनि प्रतिकुल मौसमका कारण उपस्थिती हुन नसकेको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले बताए ।
विशेषत कार्यक्रमस्थलमा उपस्थिती नभएपनि एकता र्यालीमा विभिन्न संघसंस्था सम्बद्द व्यक्तिहरुको उपस्थिती देख्न सकिन्थ्यो । जनताको सतही स्तरबाट भएको यो एकता बाट बेलाबेलामा फुट्दै र चोइटिदै गरेका राजनीतिक दल तथा तीनका नेताहरुले केही सिक्ने होकी ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८