• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

बढ्नेछ भारदारहरूको लुटतन्त्र !

  • खबरदाता

बढ्नेछ भारदारहरूको लुटतन्त्र !

खबर मुलुक विशेष

पौष ११,२०७७

नेकपा विभाजन भए पछि यसको असर खेलकुद क्षेत्रमा पनि परेको छ । पूर्व माओवादीका दावा तामाङलाई मन्त्री सहित खुसी बनाएर भित्र्याउने क्रममा प्रधानमन्त्री ओलीले जगत सुनारलाई मन्त्रीबाट बर्खास्त गरे ।

सुनारले आगामी निर्वाचनको तयारीका लागि भने पनि श्रोतका अनुसार शुक्रवार बिहान प्रधानमन्त्री ओलीले दावालाई मन्त्री चयन गर्नु पर्ने भएका कारण पद छाड्न दबाब दिएका थिए । त्यसो त मन्त्री सुनारको उपस्थिति पनि अचम्मकै थियो । गिरिराज मणि पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरेकै समयमा खेलकुद मन्त्रालय विभाजन गरी जगतको भागमा थमाइएको थियो ।

त्यसो त नेपाली खेलकुद सधैँ राजनीतिको डम्पीङ साइटनै बनेको छ । राजनीतिक दलले कतै नअटेको आउरे, पाउरे, धुपौरेलाई स्थान दिने ठाउँ नै खेलकुद मन्त्रालय र खेलकुद परिषद् विगत देखि नै हुँदै आएको छ । तल्लो तहका राजनीतिक कार्यकर्ता तथा तिनका धुपौरेको क्रिडास्थल बन्दै गएको खेलकुद क्षेत्रमा कुनै जानकारी नभएको , कुनै ज्ञान नभएको र अन्य कुनै पनि काम गर्न सक्ने हैसियत नभएका जगत सुनारको उपस्थिति त्यहीबाट सुरु भएको थियो । कसैले उनलाई सम्मान गर्न लायक झण्डावल गाडी बाहेक केही देखाउन नसकेका मन्त्री यत्ति धेरै सम्मानका भोका पनि थिए । त्यही भोकले उनले खेलकुद क्षेत्रलाई विवादको अखडा बनाइए । यो विवाद धेरै समय सदस्य सचिव रमेश सिलवालसँग रहेको थियो ।

उनकै कार्यकालमा थुप्रै रकम हिनामिना गरेर सदस्य चयन गर्ने कुरा बजारमा चलेको पनि थियो । यसको पुष्टि हुन भने बाँकी छ । तथापि एउटा कालो दिनको रूपमा जगत सुनारको कार्यकाल थियो । नेकपा विभाजनले त्यो कालो दिनको अन्त्य गरेको छ । तर, अर्को कस्तो समयको सुरुवात हुन्छ भन्न सकिँदैन ।

आम नेपालीले बुझेको अर्को तथ्य के हो भने खेलकुद क्षेत्र भनेको कुनै क्षमता नभएका राजनीतिकर्मीको कानुनी प्रक्रिया पुरा गर्दै लुट्नका लागि सबैभन्दा सहज क्षेत्र हो । यसै सहज क्षेत्रमा केही समय अघि केही थान भारदारहरूको उपस्थिति भएको थियो ।

परिषद् सदस्य सचिव र परिषद् बोर्ड सदस्यको रूपमा । पहिलो चरणमा उपस्थित जनाएका धेरै भारदारहरू सदस्य सचिव बाहेक अरू धेरै सुनारकै अनुकम्पाले त्यो पाउन सफल भएका थिए । दोस्रो चरणमा प्रवेश पाएका बालकोट दरबारकै अनुकम्पाले सदस्य सचिवको राम्रो न राम्रो सबै योजना सफल बनाउनकै लागि भित्र्याइएका हुन् ।

त्यसो ती भारदारहरू कुन नेकपामा आबद्ध हुन्छन् भन्ने चाहिँ यकिन छैन । परन्तु, नेकपा समर्थित खेलकुद महासङ्घका दाहाल नेपाल समूहकै बहुमत रहने भने लगभग प्रस्ट भएको छ ।
कुनै समय राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटी राजनीतिक कारणले विवादमा रहने गरेको भए पनि सदस्य सचिवकै बाटोबाट ओलम्पिक कमिटीको यात्रा गर्न जीवनराम श्रेष्ठ सफल भए पछि यो शृङ्खलामा केही कमी आएको थियो ।

अहिले अधिक राज्यको सम्पत्ति दोहन गर्ने होडबाजीमा रहेका दुई कित्तामा परिषद् सदस्य सचिव सिलवाल र जीवन श्रेष्ठ दुई कित्तामा केन्द्रीय सदस्य छन् । यदि सिलवाल रहेको कित्ता बलियो हुँदै गएका दाहाल नेपाल पक्षीय भारदारलाई आफ्नो क्रीडा मच्चाउने ठाउँ ओलम्पिक कमिटी मात्र बाँकी रहने छ । होइन श्रेष्ठ आबद्ध कित्ता बलियो भएमा सिलवाल निकट भारदारका लागि अहिले नै जतिसक्दो मोज मस्तीको विकल्प नै छैन । यस कारण अबका केही समय लुटतन्त्रको मात्रामा अझ वृद्धि हुने कुरामा शङ्का छैन ।

  • प्रकाशित मिति : पुस ११, २०७७, शनिवार ०७:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८