• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

सरकारले पक्राउगर्ने भएपछि सम्पर्कमा आयो श्रीराम सुगर मिल

  • खवरदाता

सरकारले पक्राउगर्ने भएपछि सम्पर्कमा आयो श्रीराम सुगर मिल

उखु किसानको बक्यौता नतिर्ने चिनी मिलका संचालकलाई सरकारले पक्राउ गर्ने भनेपछि श्रीराम सुगर मिलका संचालक सम्पर्कमा आएका छन् ।
पौष–२, २०७७
चितवन । उखु किसानको बक्यौता रकम सात दिनभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यो निर्देशन दिएको हो ।

उखु किसानको बक्यौता सात दिनभित्र भुक्तानी गराउने व्यवस्था मिलाई प्रतिवेदन समितिमा पेस गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए । यसै गरी, समितिले १५ दिनभित्र स्थलगत अध्ययन गरी चिनी उद्योगमा कार्यरत श्रमिकको समस्या समाधानको व्यवस्था मिलाइ विवरण उपलब्ध गराउन श्रम मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

गत वर्षको १८ पुसमा सरकार, चिनी मिल र उखु किसानबिच एक महिनाभित्र किसानले पाउन बाँकी रकम भुक्तानी गर्न सम्झौता भए पनि उनीहरूले अहिलेसम्म भुक्तानी पाएका छैनन् । आफूहरूले पाँच वर्षसम्म उखुको भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसान काठमाडौँमा आन्दोलनरत छन् ।

उखु किसानको रकम भुक्तानीमा चार वटा चिनी मिलमा समस्या देखिएको छ । सरकारले समस्या देखिएका अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री प्रालि सर्लाही, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न समेत निर्देशन दिएको छ ।

यी मध्यको श्रीराम सुगर मिलले किसानको सम्पूर्ण बक्यौता तिर्ने बताएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले श्रीराम सुगर मिलका सञ्चालक सम्पर्कमा आएको जानकारी गराएका हुन् ।

गत वर्षदेखि बन्द रहेको यो उद्योगले किसानको ३५ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । मिल सञ्चालक तीन दिनभित्र भुक्तानी गर्ने प्रतिविद्धतापछि मन्त्रालयले मन्त्रालयमा २ बजे सञ्चालक बोलाएको मन्त्री भट्टले जानकारी गराए । उनले श्रीराम सुगर मिलले तीन दिनभित्र रकम भुक्तानी गर्ने विषयमा अर्को उद्योगी पनि साक्षी बस्न तयार रहेको जानकारी गराए ।

श्रीराम सुगर मिलमा गोल्छा ग्रुप र विशाल ग्रुपको शेयर छ । त्यस्तै, किसानको भुक्तानी नदिने अन्नपूर्ण र लुम्बिनी सुगर मिललाई कानुनी कारबाही सुरु गर्न पत्राचार भएको मन्त्री भट्टले जानकारी गराएको छ ।

  • प्रकाशित मिति : पुस २, २०७७, बिहीवार ११:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८