• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

राखे र कीर्तिपुर नगरपालिकाबिच सम्झौता

  • खवरदाता

राखे र कीर्तिपुर नगरपालिकाबिच सम्झौता

पौष–२, २०७७

राष्ट्रिय खेलकुद परिषद् (राखे) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँ बजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोग चलनका लागि बुधवार हस्तान्तरण गरेको छ । राखे सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो ।

राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नु पर्ने भएमा नगरपालिकालाई पूर्व जानकारी गराउनु पर्ने र नगरपालिकाले स्वीकृति दिनु पर्ने सम्झौता भएको छ ।

कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महसुल खर्चलगायत अन्य आवश्यक मर्मत सम्भारको खर्च नगरपालिकाले व्यहोर्नु पर्ने छ । नगरपालिकाले आवश्यक तथा माग अनुसार खेलकुद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्न सक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित नेपाल कानुन बमोजिम हुने तथा सम्झौतामा उल्लेख भएका सर्त बाहेक प्रचलित नेपाल कानुनमा भएका व्यवस्था परिपालना दुवै पक्षले गर्नु पर्ने सम्झौतामा उल्लेख छ ।

२०७५ साल भदौ १ गतेदेखि निर्माण सुरु भएको कभर्डहल ३ करोड २ लाख ३० हजार १ सय २२ रुपैयाँ लागतमा बनेको हो । २०७६ साल कात्तिक ३० गते निर्माण सम्पन्न भएको कभर्डहल ५ सय दर्शक क्षमताको छ ।

कभर्डहलमा बास्केटबल, भलिबल, टेबल टेनिस, मार्सल आर्ट्स, जुडोलगायत इनडोर खेल खेल्न सकिने छ । १३ औँ सागमा यस कभर्डहलमा फेन्सिङ र खो खो खेल भएको थियो ।
सदस्य–सचिव सिलवालले कभर्डहलले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभालाई अझ तिखार्न महत्त्वपूर्ण अवसर दिने बताउँदै नगरपालिका र नगरवासीले कभर्डहलको भरपुर सदुपयोग गर्ने विश्वास व्यक्त गरे ।

मेयर महर्जनले कीर्तिपुरलाई खेलकुदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै कभर्डहलबाट विशेष गरी नगरका खेलाडी लाभान्वित हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा राखेअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, कानुन शाखा प्रमुख नारायणराज अर्याल, पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठलगायतको उपस्थिति थियो ।

  • प्रकाशित मिति : पुस २, २०७७, बिहीवार ०२:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८