• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

यस कारण यो नेतृत्व पेन्डुलम


यस कारण यो नेतृत्व पेन्डुलम

पर एउटा गिरोह छ, जसले सातदोबाटोको त्यो सेतो घरको हरेक गतिविधि नियाल्छ । त्यहीबाट हैकम चलाउँछ ।

मनोज घिमिरे /मंसिर–२७, २०७७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक गतिविधि सधैँ भरी सवैका लागि चासोको विषय हो । नेपाली खेलकुदका हरेक गतिविधिलाई माथ खुवाउने गरी फुटबल विवाद समय समयमा देखिने गरेको छ । यो विवाद अहिले बाहिर त्यत्ति धेरै मौलाएको छैन । धेरैलाई लाग्न सक्छ फुटबल भित्रको विवाद अहिले सेलाएको छ ।

नेपाल मात्र होइन सिङ्गो संसार नै सन् २०२० लाई महामारीको वर्षको रूपमा स्वीकार गर्नै पर्ने अवस्थामा रह्यो । आशा गरौँ, अव यो क्रम लामो समय सम्म नरहन सक्छ । यसै महामारीका कारण गत वर्ष फुटबलमा भएको विकृति र विसङ्गतिमा धेरैको ध्यान गएन । थुप्रै विसङ्गति र विकृति रहे पनि विविध कारणले यसको चर्चा भएन । तर हामी वर्षको अन्त्यमा छौ । यस कारण यो वर्षको सिङ्गो समीक्षा पनि जरुरी छ । यो समीक्षाको क्रममा फुटबल संघ कसरी चल्यो भने कुरा उल्लेख गर्नै पर्ने हुन्छ ।

संघका अध्यक्षले तराइवासीको बारे सार्वजनिक गरेको एउटा धारणा यत्ति धेरै आलोचनायोग्य रह्यो की सिङ्गो खेल भावनामाथि नै एन्फा अध्यक्षले प्रहार गरेको प्रतिक्रिया धेरैको रहेको थियो । ललितपुर जिल्ला फुटबल संघ माथिको अनावश्यक कारबाही, भक्तपुर र कास्की जिल्ला संघका आन्तरिक मामलाका परिचर्चा लगायत विषयले फुटबलको बजार तात्न पुग्यो यही वर्ष ।

विगतको नेतृत्वलाई गलत ठहर गर्दै आन्दोलन देखि निर्वाचनसम्म लगातार अध्यक्ष कर्मा छिरिङ शेर्पालाई साथ दिँदै आएका पंकज नेम्बाङ र नवीन पाण्डेको साथ अहिले छैन । त्यसो त लामो समय कर्मालाई साथ दिएका विजय नारायण मानन्धर कर्मा शक्तिमा आसीन भए पछि छायामा परे । अनि संस्थापन पक्षबाट बाहिरिनेमा शुक गुरुङ समेत रहे ।

अनि टासी छिरिङको उपस्थिति,रमेश जङ्ग रायमाझीको उपस्थिति र मानवीर हजाराको प्रवेश यी सबै घटनाले भन्छ, “वर्तमान एन्फा नेतृत्व इतिहासकै सबैभन्दा कमजोर हो ।” भौतिक शास्त्रले एउटा पेन्डुलपको व्याख्या गरेको छ । यसको अर्थ, यता तीर बाटा सानो हावाको झोक्काले प्रहार गर्दा अर्को तीर,त्यताबाट प्रहार गर्दा पुरानै अवस्थामा पुग्ने पेन्डेलुमको शैली हो । खासमा टासी छिरिङको उपस्थितिले एन्फा अध्यक्षलाई पेन्डुलमकै कोटीमा राखेको छ ।

कर्मा अध्यक्षमा निर्वाचित हुने बित्तिकै टासी मानार्थ अध्यक्ष चयन भए । त्यसको केही समय पछि आवश्यक अधिकार र हैसियत नभएको भन्दै टासीले आवाज उठाए पछि कर्मा र उनको बिचमा विवाद बढेको थियो । अहिले टासीको उपस्थिति भएको छ, त्यो पनि बाह्य शक्तिको कारण । उनी पहिला संघबाट हटाइए अन्य कसैको खुसीका लागि अहिले भित्रिए बाह्य शक्तिका कारण । मानौँ अलि पर एउटा गिरोह छ, जसले सातदोबाटोको त्यो सेतो घरको हरेक गतिविधि नियाल्छ । त्यहीबाट हैकम चलाउँछ । त्यो गिरोहको प्रभाव त्रीपुरेश्वरको एउटा कम्प्लेक्स देखि राजनीतिक शक्तिसम्म त्यत्तिकै होस । हो, यसै गिरोहका कारण पेन्डुलप बनेको छ, फुटबल नेतृत्व । रमेश जङ्ग भित्रिए, अन्य कुनै शक्तिको कारण । मानवीर हजार संस्थापन पक्षमा भए, अन्य कुनै शक्तिको कारण । यो एन्फाको संरचना यस्तो बनाइयो की, जहाँ फुटबलकर्मी बाहेक सबै शक्तिको यदाकदा हैकम चलोस् । एउटा ठुलो पार्टीको सानो समूहले एन्फाको गतिविधि प्रभावित हुने गरेको छ । ठेकदार समूहले पनि प्रभावित हुने गरेको छ । मानौँ आउरे, पाउरे धुपौरे सबैको क्रीडा स्थल बनेको छ । अहिलेको फुटबल संघ ।

निर्वाचनमा उम्मेदवार हुने हैसियत नराखेको हजारालाई भित्र्याउन पर्ने कारण एन्फाले खुलस्त पार्न सक्दैन । नत टासीको आवश्यकता खुलाउन सक्छ । प्रशिक्षण रोकिन्छ । खेलाडीको फेसबुक स्टा्टस पछि सुरु हुन्छ । कार्य समिति बैठक केही दिन पछि बस्छ । जिम्मेवारहरू तर्क गर्छन्,“अध्यक्षले त्यत्ति गर्नु स्वभाबिक हो । ”त्यसो त अबको दुई वर्ष भित्रमा यो सङ्घको निर्वाचन हुनेछ । तर, त्यो भन्दा अघिको हरेक गतिविधिले फुटबल नेतृत्वलाई पेन्डुलप साबित गरेको छ । पेन्डुलप पुष्टि गर्न टासी, रमेश र हजाराहरु काफी रहे । इतिहासकै कमजोर फुटबल नेतृत्व हुनु फुटबल शुभेच्छुकका लागि साँच्चै पिडाका विषय हो ।

संसारमा धेरै देश छन्, जहाँ फुटबल संघको अध्यक्ष क्याबिनेट मन्त्री भन्दा धेरै माथिल्लो उचाइको मानिन्छ । हामी त्यो देशमा छौ, जहाँ मन्त्री त के सामान्य राजनीतिक कार्यकर्ताले पनि फुटबल संघलाई फुटबल बनाउने हैसियत राख्छ । यसर्थ यो नेतृत्वलाई पेन्डुलप नेतृत्वको संज्ञा दिँदा कुनै अनर्थ हुँदैन ।

  • प्रकाशित मिति : मंसिर २७, २०७७, शनिवार ०२:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८