केपी शर्मा / कार्तिक २२,२०७७
भरतपुर । पछिल्लो समय चितवनमा व्यवसायिक फूल खेती गर्नेहरु वढ्दै गएका छन् । हिन्दुहरुको दोस्रो महान चाड तिहार नजिकिदै गर्दा फूल व्यवसायिहरु आफ्नो उत्पादन उपभोक्ता माझ पुर्याउन आतुर रहेका पाइन्छन् ।
चितवनमा प्रत्येक वर्षको तिहारमा ५० देखि ६० हजार मालाको माग हुने गरेको व्यापारीहरुले बताउने गरेका छन् । फ्लोरिकल्चर एशोसियसन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्तका अनुसार जिल्लामा माग भएको फूलको ६० प्रतिशत यहीको उत्पादनले धान्ने गरेको थियो । वाँकी भारतबाट आयात गरिन्थ्यो । तर यसवर्ष भने भारतबाट फूल आउन रोक लगाएमा हाम्रै उत्पादनले जिल्लामा पुगेर पनि वाहिर सम्म पठाउन सकिने छ । यदि सरकारले सधैँझैँ भारतबाट आयत गरिने फूललाई रोक्न सक्ने हो भने जिल्लाको उत्पादनले मूल्य पाउनेछ । तसर्थ आउँदो वर्षदेखि किसानहरु अझै व्यवसायिक रुपमा खेती गर्न उत्साहित हुनेछन् ।
जिल्लाका टाँणी पर्सा, भरतपुर, मंगलपुर, रामपुर र गितानगर लगायत क्षेत्रका करिव ३० विघा क्षेत्रफलमा व्यवसायिक सयपत्रि फूल खेती गरिदै आएको छ । विगत ८ महिना अघि सुरु भएको लकडाउन र लकडाउन पछिको सुस्त व्यापारको विकल्पमा चितवन भित्रका किसानहरुले आफ्नो खाली जमिनमा फूलहरु लगाएपछि यसपालि उत्पादन ह्वात्तै वढेको हो ।
दिनेश मरासीनी र सुर्य ढुँगाना कृषि विषय अध्यापन गराउँछन्। मरासीनी र ढुँगानाको जोडि मिलेर भरतपुर १५ मंगलपुरमा १० कठ्ठा जमिन लिइ अहिले सयपत्रि फूल फुलाएका छन ।
चाडको चहलपहल बढेसँगै उनीहरु पनि फूलको गुच्छा र माला विक्रिका लागि तयारिमा जुटेका छन् । कोरोना महामारी र लकडाउन, उनीहरुका लागि फूल फुलाउन वरदान सावित भएको हो । घरबाटै विद्यार्थीलाई अनलाइन कक्षा पढाउँदै र बचेको समय फूल फुलाउन लागिपरेका उनिहरु ढकमक्क फूल फुलेको देख्दा आफुहरुनै दङ्ग छन ।
अध्ययन गरेको विषय कृषि भएकाले पनि कृषि सम्वन्धि व्यवसायिक खेती गरेको र विषय अन्तर्गतकै काम गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि आफुहरुले फुल खेती गरेको उनीहरुले बताए ।
यस पटकको तिहारमा कलकत्ता लोकल जातको १६ हजार सयपत्रिको विरुवा लगाइएको र बजारमा २० हजार मााला पुर्याउने उनीहरुको लक्ष्य रहेको छ । आफ्नो उत्पादन राम्रो हुँदा उनीहरु उत्साहित छन् । आउँदो वर्षमा आफैले विरुवा उत्पादन गरी अझ ठूलो क्षेत्रफलमा यो भन्दा पनि व्यवसायिक तरिकाले खेती गर्ने उनीहरुको योजना छ । त्यतिमात्रै होइन चितवन लगायतका क्षेत्रलाई आवश्यक पर्ने वेर्ना समेत आफूहरुले विक्रि गर्न सक्ने उनीहरुले लक्ष्य राखेका छन् ।
भरतपुर ७ का सागर कार्की लगायत ६ जनाको समूहले ११ कठ्ठा क्षेत्रफल जग्गामा व्यवसायिक फूल खेती गरेका छन् । कार्की पेशाले इन्जिनियर हुन् । तर उनले फूल खेती गर्नुको कारण भने फरक रहेको बताए । उनी भन्छन्,“हामी ‘वेटर चितवन’ मार्फत भरतपुर महानगरलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउन चाहान्छौँ । तिहारमा प्रयोग गरिने प्लाष्टिकका माला र फूललाई विस्थापित गर्नु हाम्रो मुख्य उद्देश्य रहेको छ । तसर्थ ‘माली दाइ एग्रो इनोभेसन’ संस्थाको तर्फबाट हामीले विगत ३ वर्षदेखि फूलखेती गरेका छौँ । ”
यस्तै भरतपुर १० मा ‘हाम्रो दृष्टि राम्रो दृष्टि’ संस्थाले पनि वार्षिक बजेटनै छुट्याएर यो वर्षदेखि सयपत्रि फूल रोप्न सुरु गरेको छ । सुरुको वर्ष भएकोले हामीले २ कठ्ठा जमिनमा मात्रै विरुवा लगाएका हौँ, संस्थाका अरुण पौडेलले भने । यस पालिको अवस्था हेरेर आउदो वर्ष अझै वृहत रुपमा फूल लगाउने योजना उक्त संस्थाको रहेको छ ।
भरतपुर ६ इन्द्रपुरीकी चन्द्रा कोइरालाले पनि यसै वर्षबाट १५ कठ्ठा जमिनमा व्यवासायिक फूल खेती सुरु गरेकी छिन् । कोरोना सँगै पहिलेको व्यवसाय सुस्त हुँदै गएपछि वैकल्पिक रुपमा उनले यो क्षेत्रमा काम गरेकी हुन् । उनको खेतीमा मनमोहक फूलहरु फूलेका छन् । उनले खेती गरेको थाहा पाएर फूल किन्नका लागि पोखरा काठमाण्डौ लगायतका ठाउँबाट व्यापारीहरु दिनहुँ आउने र फोन गर्ने गरेका छन् । तर उनको प्रमुख उद्देश्य भनेको उपभोक्ताले सस्तो मुल्यमा फूल किन्न पाउनु पर्र्यो भन्ने छ । त्यसैले विचका व्यापारीलाई उनले फूल विक्रि गरेकी छैनन् । उनले स्थानीय महिलाहरुलाइ माला उन्न लगाएर बजार सम्म पनि उनीहरुलाई नै पठाएर उपभोक्तलाई सस्तोमा फूलमाला दिने योजना बनाइएकी छिन् ।
फूलखेतीप्रति सरकारको वेवास्ताका बावजुद पनि चितवनका किसानहरुले फूल खेतीलाई व्यसायिक रुपमा परिमार्जन गर्न थालेका छन् । यसले माग अनुसार हामीलाई चाहिने फूलहरु आफै उत्पादन गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । तर सरकारले किसानका मागहरुप्रति चासो राख्ने हो भने भारतबाट आयात होइन नेपालबाट निर्यात गर्न सकिने पक्का देखिन्छ ।
सरकारले फूलेको फूल खेर नजानका लागि कोल्डस्टोरको व्यवस्था गरिदिनुपर्ने एशोसिएसनका अध्यक्ष पन्तले बताए । उनले भने,“मूल्य निर्धारण सवै भन्दा महत्वपूर्ण कुरा हो । उपभोक्ताले जहाँतहिँ समान मूल्यमा फूल खरिद गर्न पाउनुपर्यो । त्यसका लागि बजार निर्धारण पनि महत्वपूर्ण हुन आउँछ । अहिलेको अवस्था सम्म आइपुग्न सरकारले सिन्को पनि भाँचेको छैन । हामी किसानहरु आफ्नै मेहनत र लगानीले यहाँसम्म आएका हौँ । सरकारले न त वीउ दिन्छ न त मल नै दिन्छ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८