दसैँ पर्व सुरु सँगै संक्रमितले कसरी दसैँ मान्ने ?

  • खवरदाता
  • कार्तिक ०८, २०७७

गैंडाकोट नगरपालिका नवलपुर जिल्लाको प्रवेश नाका हो भने वाग्मती प्रदेशसँग सीमा जोडिएको नगरपालिका पनि । पूर्व पश्चिम राजमार्ग जोडिएको यस नगरपालिकामा पनि चैत्र २०७६ देखिनै कोरोना नियन्त्रण तथा रोकथामका लागि काम सुरु भएको थियो । स्वास्थ्य शाखाको प्रमुख भएर जिम्मेवारी निर्वाह गर्नुभएका झलकराज पौडेल सधैँ क्वारेनटीनको व्यवस्थापन देखि संक्रमितको व्यवस्थापनमा नजिक रहेर काम गरिरहनुभएको छ । हालसम्म पनि उहाँमा कोरोना संक्रमण भने रहेको छैन । दसैँ पर्व सुरु सँगै संक्रमितले कसरी दसैँ मान्ने र संक्रमितको नजिक रहेर काम गर्दा पनि संक्रमणबाट टाढा रहन सक्नुको खास कारण के हो ? लगायतका विषयमा खवर मुलुकका संवाददाताले गरेको कुराकानी ।

गैंडाकोट नगरपालिकामा आजसम्म कति कोरोना संक्रमित छन् ?

गैंडाकोट नगरपालिमा हालसम्म संक्रमितको संख्या ३९४ पुगेको छ । उहाँहरु मध्ये २३२ जना निको भएर गइसक्नुभएको छ भने १५८ जना होम र संस्थागत आइसोलेसनमा हुनुहुन्छ भने होम आइसोलेलसनमा चाहिँ १४८ जना स्वास्थ्य लाभ लिइरहनुभएको छ ।

अव दसैँ आयो । उहाँहरुले दसैँ कसरी मनाउने ?

दसैँ आएपनि उहाँहरुले यस अघि जे जसरी नियम पालना गरिरहनुभएको छ यो पटक पनि त्यही विधिहरु पालना गर्नुपर्ने हुन्छ । अझ थप सतर्कता अपनाउन जरुरी छ । चाडवाड आयो भनेर घरका मानिसहरुको नजिक गएर नवस्ने, पारिवारीक खुसीका लागी सामाजिक दुरी कायम गरेर स्वास्थ्य सम्वन्धी सामाग्री मास्क सेनिटाइजर प्रयोग गरेर टाढाबाट हेर्नुपर्छ । किनभने आफू त संक्रमित भइसकेको हुनुहुन्छ । कतिपय लक्षण नदेखिएपछि म त निको भइ सकेँ भन्ने भावनाले जितेर नजिक हुन खोज्नु होला यदि चाडवाड आयो भनी नजिक भए परिवारलाई समेत संक्रमण हुन सक्ने खतरा रहन्छ । तर जो व्यक्तिले पोजेटिभ देखिएको १४ दिन पुरा गरिसक्नुभएको छ । उहाँहरु भने दसैँ मनाउन सक्नुहुनेछ । तर त्यसरी मनाउँदा पनि स्वास्थ्य मन्त्रालयले भनेको नियमहरु भने पूर्ण पालना गर्नुपर्छ । यो जति हेल्च्याक्र्याई गरिन्छ त्यति नै वढि संक्रमण हुने खतरा रहिरहन्छ ।

पुन परीक्षण गर्ने कि नगर्ने त अव ?

अहिले महान चाड पनि छ । जो व्यक्ति १४ दिन पुग्नुभएको छ । स्वास्थ्य मन्त्रालयको गाइडलाइन्स अनुसार निस्कदा हुन्छ । पुरा भएपछि विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले १४ दिनपछि भाइरस अरुमा सर्ने क्षमतामा हुँदैन भनिसकेको हुँदा रिटेष्ट गरिरहनु पर्दैन । तर आइसोलेसनबाट वाहिर आएपनि लापार्वाही नगरिदिनु होला । भौतिक दुरी कायम सहित नै दसैँ लगायतका पर्वहरु मनाउन म सम्पूर्ण नगरवासीहरुमा आग्रह गर्दछु ।

१४ दिन नजिक पुगेका व्यक्तिहरु लक्षण छैन अव त केही हुन्न भनेर टिका ग्रहण गर्न खोज्नुहोला । त्यसो भयो भने के हुन्छ ? यसमा परिवारको भूमिका के हुन्छ ?

यसमा परिवारको भूमिका ठूलो हुन्छ । कतिपयलाई लामो समय पछि आएको चाड मान्ने रहर हुन्छ तर परिवारले राम्रोसँग काउन्सीलिङ गर्नुपर्छ । यो पटकको दसैँ कोरोना लागेको दसैँ छ । अहिले तपाई म सँग कुरा गरिरहनुभएको छ । नगरपालिका वन्द छ । फूलपाती देखि स्वास्थ्य शाखा पनि वन्द भउको छ । म आफै र घरपरिवारको कुरा गर्नुहुन्छ भने यो पटकको दसैँ टाढै रहेर मनाउने हो । जो जहाँ छौँ त्यही मनाउने निर्णयमा छौँ । मेरो पनि त्यही हो । जो व्यक्तिको ११, १२, १३ दिन भयो भन्दै वाहिर निस्कन खोज्नुहुन्छ भने त्यसो नगरिदिन म अनुरोध गर्छु । साथै परिवारले पनि वुझिदिन आग्रह गर्छु । किनभने १४ दिनपछि हाम्रो भाइरस निष्कृय भइसकेको हुन्छ । सर्न पनि सर्दैन भनेर डव्लुएचओले पनि भनेको छ। तर पनि ११, १२ दिनमै इनएक्टिभ हुन सक्ला तर यसो भनी आफैले भन्ने र धेरै बुझ्ने भएर गएर परिवारसँग जाँदा फेरि परिवारमा रोग फैलने सम्भावना भएकाले परिवारका सदस्यले पनि टाढै वसेर दसैँ मनाइदिनु होला । आइसोलेसनमा रहँदा झ्यालबाट हेरेर वा ठूलो कोठा भए टाढाको दुरी कायम गरेर सहभागी हुन सकियो तर क्लोज कन्ट्याक्टमा नरहन म फेरि पनि अनुरोध गर्दछु । चाड नै संक्रमण सार्ने मुख्य कारण नवनोस म आग्रह गर्न चाहान्छु ।

दसैँको समय धेरैको घर मासु पाक्छ अनि रोटी बन्छ । खानपानमा संक्रमितले कसरी ख्याल गर्ने ? के मासु खानु हुन्न ?

खानेकुराको हकमा हिजो अस्ति जे लिइरहनुभएको त्यसलाई निरन्रतरता दिनुहोला । यस्तो अवस्थामा शरिरलाई प्रोटिनहरु चाहिन्छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता आवश्यक पर्छ । गेडागुडी प्रसस्त खान सल्लाह दिन्छु । माछा मासुको हकमा इच्छाका लागेको खान सक्नुहुन्छ । तर चाडवाडको समय अन्य वर्ष झँै रमाइलो गरौँ भन्दै केही मदिरापान गर्ने चलन होला तर यसको प्रयोगबाट चाहिँ हामीमा भएको प्रतिरोधात्मक क्षमतालाई घटाउँछ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनुपर्नेमा घटाएपछि निको हुन पनि समय लाग्छ । कसैले सुर्ति, चुरोट, खैनी खाने र अल्कोहल पिउने हुनुहुन्छ यस्तो बेलामा टाडै बस्दा राम्रो । म मेरो शरिर जोगाउँछु भनेर लाग्नुभयो भने धेरै राम्रो हुन्छ । आजैबाट यो कुलतहरु छोडिहाल्नुहोस । परिवारले पनि यसलाई छुटाउन भूमिका खेल्नुहोस ।

संक्रमितको उपचार आफैँ गर्ने की विरामीले ? केन्द्र सरकारको उक्त निर्णय गैंडाकोटमा के हुन्छ ?

अहिले हाल हामीले गर्ने भनेको कतिलाई काउन्सिलिङको पाटोलाई जोड दिएका छौँ । कतिलाई फोन गरिरहेका छौँ । हिजो आज मात्रै १५, २० जनालाई तपाईको अवस्था के छ भनी फोन गरेका छौँ । सवै ठाउँमा पुग्न हाम्रो जनशक्ति पनि नरहँदा एक दुई दिन विराई हामीले फोन गरिरहेका छौँ । सरकारले भन्न खोजेको उपचार भेन्टिलेटरको भन्न खोजेको होला । अव गैंडाबोट कोही व्यक्तिलाई अस्पताल पठाउन परेको अवस्थामा भरतपुर अस्पतालले हामीसँग कोअर्डिनेशन गरिरहेको छ । भरतपुर अस्पतालमा ठाउँ नरहेको अवस्थामा सीएमसीसँग पनि कोअर्डिनेशन गरिरहेका छौँ । सीएमसीमा उपचार गराइरहनुभएकाहरुले पैसा तिर्नुपर्ने अवस्था छ भने भरतपुर अस्पतालमा कोअर्डिनेशन गरेर पठाएका छौँ । उहाँहरुको चाहिँ आजसम्म उपचार निशुल्क नै भइरहेको छ ।

तपाईँहरु पटक पटक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न भनिरहनु हुन्छ । उल्लंघन गर्ने मानिसहरु वढिरहेका छन् । यसले अवको अवस्था कता पुर्याउला ?

अव सवैले आफ्नो ठाउँबाट बुझ्नुपर्छ र नबुझि नहुने अवस्था छ । म बाँचे भने नै भोलि देख्न पाउँछु भन्ने बुझ्न जरुरी छ । आफू बचियो भने नै अरुलाई हामी सार्दैनौँ । हामी बाँचे अरुलाई पनि बचाउन सक्छु भन्ने भावनाको विकास हुन अत्यन्त जरुरी छ । म त अझै पनि के भन्छु भने जो जहाँ छौँ अहिले त्यही बसेर दसैँ मनाऔँ ।

जस्तो मेरो व्यक्तिगत कुरा गर्न चाहानुहुन्छ भने म आफै लमजुङको मान्छे । घरमा बुबाले फोन गर्दा अहिलेको दसैँ चितवन र लमजुङ भएर मनाऔँ अहिले नआऔँ किनभने कोरोना सर्न सक्छ गाउँमा झन् फैलन सक्छ भन्ने त्यो खालको सचेतनामा म छु । त्यसैले जो जहाँ छौँ त्यही रहेर रमाऔँ दसैँ भनेको त आगामी बर्षमा पनि आउँछ । अहिले कोरोनाको महामारी फैलिएको बेलामा त्यही नै रहेर आफू वाँचियो भने नै आगामी आउने दसैँ जस्तै सवै चाडपर्व मनाउन पाइन्छ । आफू बाँचियो भने नै सधैँ हामीलाई दसैँ नै दसैँ जस्तै हुन सक्छ ।

होम आइसोलेसनमा रहनेलाई समस्या भयो भने कसरी सम्पर्क गर्ने ?

अव विदा भनेर त्यसो ट्वाक्कै विदामा हामी होइनौँ । संक्रमितलाई कठिन हुनासाथ वडाअध्यक्षलाई फोन गर्नुहुन्छ । हामीले भनिसकेका छौँ । म आफै पनि स्ट्याण्डवाई छु भने साथीहरुलाई पनि फोन आउनासाथ रेष्पोन्स गर्न भनिसकेको छु । वडाअध्यक्षले एम्वुलेन्सलाइ फोन गर्नुहुन्छ किनकी एम्वुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ । एम्वुलेन्सलाई मलाई खवर गर्छ त्यसपछि उहाँको अवस्था अनुसार उहाँलाई कहाँ लैजानुपर्ने हो त्यसको व्यवस्था मैले गर्छु । हिजो पनि गरिरहेको काम हो यो समय पनि जारी रहन्छ ।

तपाईको व्यक्तिगत अनुभवको कुरा गरौँ । नगरपालिकामा क्वारेनटीन निर्माण देखि संक्रमितको नजिक रहेर उनीहरुको व्यवस्थापनमा सुरु देखि नेतृत्व लिइरहनुभएको छ । तर नजिक रहेर काम गर्दा पनि तपाई संक्रमित हुनुहुन्न । मेरो प्रश्न तपाई संक्रमित हुनुपर्दथ्यो भन्ने होइन । तर तपाईँले अपनाएको सचेतनाले अरुलाई पनि सन्देश दिन्छ ।

चैत्रदेखि आज कार्तिक सम्म आउँदा पनि तपाई संक्रमण हुन बाट बचिरहनुभएको छ । खास के त्यस्तो विधिहरु तपाईँले पालना गरिरहनुभएको छ ?

यहाँले धेरै राम्रो प्रश्न उठाउनुभयो । सरसर्ती हेर्दा स्वास्थ्कर्मीहरुमा कम संक्रमण भएको देखिन्छ । भएको छ छिटफुट रुपमा साथीहरुमा संक्रमण देखिएको छ । विरामी पनि स्वास्थ्यकर्मीहरुले जाँचिरहनुभएको छ । हामी के छौँ भने कसरी यसबाट जोगिने भन्ने कुराहरुको पालना गरेका छौँ । जस्तो हामीले मास्क अनिवार्य लगाएका छौँ । शंका लागेका व्यक्तिबाट हामी टाढै वसेका छौँ । तपाईँलाई भन्ने हो भने घरपरिवारको कति साथीहरु हाम्रो घरको परिवारसँग पनि मिल्नुभएको छैन । कति आइसोलेसनमा हुनुहुन्छ । साथीहरु गोजिमा सेनिटाइजर बोकेर हिँडिरहनुभएको छ । पटक पटक हात धोइरहेका छौँ । मैले के सुझाव दिन्छु भने सेनिटाइजर भन्दा सम्भव भएको ठाउँमा साबुन पानीले नै हात धुनुहोस् । पानी र सावुन हुँदासम्म सेनीटाइजर प्रयोग नै नगर्नुहोस् ।

तपाईलाई म के भन्छु भने कार्यालय समयमा एउटा स्वास्थ्यकर्मीले २५ देखि ३० पटक सम्म हात धोएका छौँ । मास्क अनिवार्य, भीडभाडमा गएका छैनौँ । भीडभाडमा जानै परेको भए भिन्न खालको मास्कको उचित प्रयोग गरी गएका छौँ । त्यो हुनाले नै स्वास्थ्यकर्मी जोगिएका छौ । हामी जसरी जोगिएका छौँ ति नै कुराहरुको पालना गर्न हामीले भनिरहेका हौँ । म आफैलाई भन्नुहुन्छ भने चैत्रदेखि म फिल्डमै छु । तपाईँहरुकै रिर्पोटिङका समय पनि गइरहेकै छु । जस्तो क्वारेनटाइनमै रहेकाहरुसँग हामी नजिक भयौँ । स्वास्थ्य जाँच समेत गर्यौँ । उहाँहरु मध्ये कति त संक्रमित हुनुभयो । हामीले उहाँहरुलाई भेट्न त भेट्यौँ तर भौतिक दुरी कायम राख्यौँ । त्यसैले कोरोनाबाट बच्ने भनेको भौतिक दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने । तर हामीमा के पाइन्छ भने एउटै मास्क ३÷३ पटक भन्दा धेरै प्रयोग गरेको पाइन्छ । सामान्यतय एक पटक मास्क लगाएपछि त्यसको अगाडि भाग छुनु हुँदैन । छुनै परे कान तर्फको भाग छुइदिनुहोस । किनभने अगाडिबाट श्वासप्रश्वास गर्ने हुँदा हातले त्यही भाग छुँदा भाइरस सर्ने खतरा हुन्छ । यो समान्य कुरा हो तर ख्याल गरिरहका हुँदैनौँ । हामीले अपनाएको यी नै हो । यसरी अपनाउँदा छिटपुट घटना बाहेक अहिले सम्म संक्रमण छैन । अहिले सम्म नगरपालिकाका ३ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । अरु सुरक्षित हुनुहुन्छ । त्यसैले मास्कको उचित प्रयोग पनि कोरोनाबाट बच्ने प्रमुख कारण हो ।

त्यस्तो घटना सम्झनुहोस् न । अहो आज त मलाई संक्रमण भयो कि क्या हो भन्ने  जसका कारण तपाईँ आफैलाई डर पैदा भयो र घर पनि जानु भएन ?

अव त्यस्तो त छैन तरपनि सुरुको अवस्थामा के हो भन्ने नै बुझ्न सकिएन हामीले । बुझ्न हामीलाइ समय लाग्यो । कुनै साथीहरुको आरटिडी परीक्षणमै पोजेटिभ देखिँदा अव स्थिती भयावह हुन्छकी भन्ने लाग्यो । म आफै कार्यालयमै दुइ दिन विताएँ । तर त्यसपछिका दिनहरुमा भने मलाई त्यस्तो लागेन । कुनै डर पनि भएन । विरामीलाई कसैले नहेर्दा त्यतिवेलाको समय यही रहनु भएको जनस्वास्थ्य निरीक्षकहरु पनि निरन्रतर विरामीको हेरचाहामा प्रत्यक्ष संलग्न हुनुहुन्छ । उहाँहरुको पनि अनूभव सुनाइदिनु भयो भने जनताले अझ प्रष्ट बुझ्ने छन् भन्ने मलाई लाग्छ । तर आज सर्र्योकी भन्ने चाहिँ कुनै पनि दिनमा पनि भएन । किनकी हामी स्वाव संकलनमा पनि हामी पुगेका छौँ । संक्रमित व्यक्ति व्यवस्थापनमा पनि हामी गएका छौँ । तरपनि डर भने कहिल्यै लागेन ।

अहिले सम्म कति पटक पीसीआर गर्नुभयो ?

आजसम्म ३ पटक पीसीआर गरेको छु । सवै नेगेटिभ छ । लक्षण देखिएमात्रै गर्नुपर्छ । लक्षण नदेखिएसम्म गर्न जरुरी छैन । चैत्रदेखि नै निरन्तर काममै छु । अहिलेका लक्षण भनेको गन्ध र स्वाद थाहा नपाउने नयाँ लक्षण आएको छ । त्यस्तो त ज्वरो छ भने जाँच गराउने हो तर मलाई त्यस्तो कुनै पनि लक्षण छैन । लक्षण नभएको व्यक्तिले त्यतिकै जँचाइरहँदा सरकारको व्यवहार वढ्छ भने ल्यावमा अनवाश्यक स्वाव थुप्रने मात्रै हुन्छ । ल्यावमा गएर डम्पीङ हुँदा जो मानिसको पोजेटिभ आउँछ उसको रिपोर्ट आउन ढिलाइ भईरहेको हुन्छ । त्यसैले मेरो आग्रह लक्षण देखिएमात्रै पीसीआर गर्नुहोस् ।

अझै खोप र औषधि नहुँदा तपाईँको अनुभवले कोरोना के रहेछ ?

यो भाइरस नै हो जसले कोभिड १९ रोग ल्याउँछ । जसलाई परेको छ उसलाई धेरै पीडा परेको छ । त्यसैले कोरोनालाई सहज रुपमा चाहिँ नलिऔँ । कोरोना भोगेकोलाई धेरै पीडा छ । भोलि कसैलाई लक्षण देखियो भने उसले भोगेको पीडा दरदनाक नै छ । डाक्टर चिकित्सक नै कतिपय भेन्टिलेटरमा हुनुहुन्छ । कोही त्यहाँबाट फर्किएर आउनुभएको छ त्यो सम्झिँदा धेरै विकराल अवस्था छ । मदन कृष्ण र हरिवंशको अनुभव पनि सुन्नुभयो होला तपाईँले । जो मानिसमा लक्षण नदेखिएर निको भएको हुन्छ उहाँहरुले यसलाई समान्य भन्नुभएको छ जसलाई लक्षण देखिएर अस्पताल पुग्नु परेको छ । उहाँहरुको भोगाई धेरै डरलाग्दो छ । त्यसैले यसलाई समान्य रुपमा पनि नलिऔँ फेरि यसैले नै मृत्युको मुखमा पुर्याउँछ झैँ पनि नसोचौँ । त्यसैले सवै हाम्रो आनिवानी र व्यवहारले निर्धारण गर्ने कुरा हो । सावधानी अपनाऔँ ।

कतिपय चिकित्सक स्वास्थ्यकर्मी कोरोनाकै कारण निधन भएको छ । तपाईँ आफैले पनि फेसबुक मार्फत समवेदना दिइरहनुभएको छ । यो सुन्दा देख्दा चाहिँ तपाईको मन के हुन्छ ?

आफ्नै साथीहरु हुनुहुन्छ । फ्रण्ट लाइनमा बसेर काम गरिरहनुभएको छ । म स्वास्थ्यकर्मी मात्रै होइन कसैको पनि कोरोनाबाट मृत्यु नहोस् भन्ने चाहान्छु । धेरै नै नरमाइलो लाग्छ । इम्प्याथी भन्दा नि सिम्प्याथी को भावनाले हेर्नुपर्छ । म त्यही ठाउँमा भएको भए मेरो घर परिवारले कस्तो पीडा भोग्नु पर्दछ भन्ने हामीले महसुस गरेका छौँ। त्यो पीडाको महसुसको आधारमा हामी कसरी सुरक्षित हुने भन्ने पाठ सिक्न जरुरी छ । फेरि पनि निधनहुनेहरु प्रति उच्च सम्मान सहित श्रद्धान्जली व्यक्त गर्छु । पीरमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गर्दछु ।

सरकारले उपचार आफै गर्नुपर्छ भनिरहँदा स्वास्थ्य मापदण्ड पालना गर्नुहोस भनी पटक पटक भनिरहँदा पनि उल्लंघन गर्नेहरु अव साँच्चै गम्भीरतापूर्वक के गर्नुपर्छ उनीहरुले ?

म त भन्छु उपयुक्त तरिकाले मास्ककै प्रयोग गर्नुहोस् । भीडभाड नगर्ने नजाने जानै पर्ने भएपनि मास्कको एकदमै उचित प्रयो गर्ने । अव हामीहरुको के बानी छ भने एउटा सानो सामान किन्न पर्यो भने पटक पटक पसल गइरहने । एक पटक खरिद गरेर ल्याएपछि केही दिन पुग्ने गरी ल्याएपछि पसलमा स्वत भीड हुन्न । भीडभाडमा नजाने गर्नुपर्छ । अझै मैले देखेको विकराल रुप त के छ भने अहिले मौसम परिवर्तन छ । कोरोनाको लक्षण र मौसमी फ्लु का लक्षण पनि उस्तै देखिएकोले अव मौसमी फ्लुका विरामीले उपचार नै नपाउने पो हो की भन्ने डर छ । त्यसैले निरन्तर तातो पानी पिउन नछोड्नुहोस । चिसो चिज कम खाने, एसीमा वस्नुहुन्छ भने कम बस्ने र कुनै लक्षण देखिना साथ तुरुन्त स्वास्थ्य संस्थामा जाने, उपयुक्त तरिकाबाट मास्क लगाउने र पटक पटक साबनु पानीले नै हात धुने हो ।

अन्त्यमा के भन्नुहुन्छ ?

यो दसैँको सम्मुखमा छौँ । फरक परिस्थितीमा दसैँ छ । कोभिडको रोकथाम र नियन्त्रणमा खटिने मेरा सहयोगद्दा साथीहरु सवै स्वास्थ्यकर्मी देखि कार्यालय सहयोगी, हामीलाई सहयोग गर्ने कार्यपालिका सदस्यहरु सहित नगरपालिकाका सम्पूर्ण टिम लगायत जो जो मानिस संक्रमित हुनुहुन्छ उहाँहरु चाँडै संक्रमणबाट निको हुने शक्ति मिलोस् साथै जो निको हुनुहुन्छ वा स्वास्थ्य हुनुहुन्छ उहाँहरुमा कहिल्यै पनि संक्रमण नहोस् दुर्गा भवानीले सवैको रक्षा गरुन् भन्ने कामना सहित दसैँ, शुभदिपावली तथा छठको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८