• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

खसीबोका कुपनका आधारमा बिक्री


खसीबोका कुपनका आधारमा बिक्री

कार्तिक–७, २०७७

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारमा खसीबोकाको माग बढेपछि थप चार सय ल्याउने भएको छ । कम्पनीले बजारमा भन्दा प्रतिकेजीमै १०० रुपियाँ सस्तोमा खसीबोका बिक्री गरेपछि एक हजार खसीबोका तीन दिनमै सकिएका थिए । माग अझै रहेकाले कम्पनीले थप चार सय ल्याउन लागेको हो ।

दशैँलाई लक्षित गरेर कम्पनीले सोमबारदेखि खसीबोका उपत्यकामा बिक्री सुरु गरेको थियो । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीले यसअघि ल्याएका खसीबोका सकिएको र थप माग भएका पनि नआइसकेकाले बिहीबार बिक्री स्थगित गरिएको जानकारी दिईन । उनले भनिन“शुक्रबार चार सय खसीबोका बिक्री गर्न बिहीबार बिहानै कुपन बाँडिसकेका छौँ, अब कुपन लिएकाले मात्रै खसीबोका पाउछन् । ”

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कम्पनीले बिक्रीका लागि ल्याइएका खसीबोकाको मूल्य मात्रै सस्तो होइन स्वस्थकर भएकाले पनि उपभोक्ताको आकर्षण बढी भएको बताए । कम्पनीका अनुसार बिहीबार साँझसम्म दाङको तुलसीपुरबाट २०० र मकवानपुरको हेटौँडाबाट २०० गरी ४०० खसीबोका आइपुग्ने छन् र शुक्रबार बिहान कुपन लिएकालाई बिक्री गरिने छ ।

यो वर्ष एक हजार सङ्ख्यामा मात्र खसीबोका ल्याउने भने पनि उपभोक्ताको माग बढेकाले थप चार सय ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रतिकेजी ५५० रुपियाँमा बिक्री गरेको थियो ।

बिक्री खुला गरेको पहिलो दिनदेखि नै खरिद गर्ने ग्राहकको भीड लागेको कम्पनीले जानकारी दिएको छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले प्रत्येक वर्ष दशैँमा खसीबोका बिक्री गर्दै आएको छ । यो वर्ष च्याङ्ग्रा भने बिक्रीका लागि नल्याइएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार बजार मूल्यभन्दा सस्तो भएकाले पनि खसीबोका खरिद गर्ने ग्राहकको बढी भीड लागेको थियो ।

बजारमा व्यवसायीले भने प्रतिकेजी ६०० देखि ६५० रुपियाँसम्म खसीबोका बिक्री गरेका छन् । च्याङ्ग्रा भने प्रतिकेजी एक हजार रुपियाँमा बिक्री गरेको व्यवसायीले जानकारी दिएका छन् । बजारमा खसीबोकाको बिक्री बढ्दै गएको छ ।

  • प्रकाशित मिति : कात्तिक ७, २०७७, शुक्रवार ०३:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८