• साउन २५, २०७९, बुधवार Wednesday, 10 August, 2022
centreal college

जलवायु परिवर्तनको मारमा गैंडा, वासस्थान नै संकटमा


जलवायु परिवर्तनको मारमा गैंडा, वासस्थान नै संकटमा

आश्विन–२७, २०७७

पछिल्लो समय प्रष्ट देखिन थालेको जलवायु परिवर्तनको असरसँगै बढेका मिचाहा प्रजाति र आकस्मिक बाढीले गैंडालगायतका वन्यजन्तुको वासस्थान मात्र होइन, अस्तित्व नै संकटमा पर्न थालेको छ ।

गएको २१ असोजमा चितवनस्थित नारायणी नदीछेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैंडा मृत भेटियो । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार त्यो गैंडा नारायणी नदीले बगाएर ल्याएको थियो ।

त्यसको दुई चार दिनअघि दुईवटा गैंडा मृत भेटिएका थिए । एउटा वयस्क पोथी वाल्मीकि गण्डक नहरमा खसेर मरेको थियो भने अर्को चाहिं सौराहा क्षेत्रको वनकट्टाको घाँसे मैदानमा मृत फेला परेको थियो ।

निकुञ्ज कार्यालयका अनुसार गएको २७ साउनयता चितवन राष्ट्रिय निकुञ्जमा ८ वटा गैंडा मृत भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार आठमध्ये चारवटा गैंडाको मृत्युको कारण नारायणी नदीको बाढी हो । एउटा गैंडा भने तस्करले मारेको अनुमान छ । त्यसैगरी, बाँकी तीनवटा प्राकृतिक कारणबाट मरेको बताइएको छ ।

प्राकृतिक कारणबाट वन्यजन्तुको मृत्यु हुनु अनौठो होइन । तस्करहरूले गैंडा मार्दै आएको तथ्य पनि नौलो होइन जसलाई कानून व्यवस्थाको कडाइले क्रमशः नियन्त्रण गर्दै आएको थियो । पछिल्लो समय गैंडाको प्रमुख वासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको मृत्युको मुख्य कारण अहिले बाढी बनेको देखिएको छ । यसभन्दा पहिले बाढी नै गैंडाको मृत्युको कारण बनेको थिएन ।

“गैंडाको वासस्थान पूर्वबाट पश्चिमतर्फ सरेको छ, गैंडाको लागि आवश्यक घाँसे मैदान नभएर हो वा अन्य कारणले, अध्ययन नगरी यसबारे भन्न सकिन्न ।”
२७ साउन २०७४ को बाढीले चितवनबाट १० वटा गैंडा बगाएर भारत पु¥याएको थियो । वन्यजन्तु विज्ञ एवम् गैंडाको विषयमा विद्यावारिधि गरेका डा. शान्तराज ज्ञवाली भने चोरी शिकार, विषादी प्रयोग तथा रोगको प्रकोप बाहेक अन्य कारणबाट गैंडाको मृत्यु भए आत्तिइहाल्नु नपर्ने बताउँछन् । “चितवनमा मरेका गैंडाको मृत्यु चोरी शिकार, रोगव्याधि र विषादीको प्रकोपले भएको देखिन्न, त्यसैले आत्तिइहाल्नुपर्ने अवस्था होइन” उनी भन्छन्, “यो जलवायु परिवर्तनका कारण वन्यजन्तु जोखिममा छन् भन्ने सन्देश चाहिं हो । यसले गैंडा संरक्षणमा नयाँ चुनौती थपेको छ ।”

२०७२ वैशाखमा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार चितवनमा ६०५ गैंडा रहेका छन् । निकुञ्ज कार्यालयका सूचना अधिकारी अशोक राम सौराहा भन्दा पूर्व क्षेत्रबाट गैंडाको वासस्थान अहिले पश्चिमतर्फ सरेको छ । उनका अनुसार सौराहा पूर्व गैंडा अहिले आक्कल झुक्कल मात्र देखिन्छन् । “गैंडाको वासस्थान पूर्वबाट पश्चिमतर्फ सरेको छ” उनी भन्छन्, “गैंडाको लागि आवश्यक घाँसे मैदान नभएर हो वा अन्य कारणले, अध्ययन नगरी यसबारे भन्न सकिन्न ।”

वन्यजन्तु विज्ञहरू गैंडाका लागि नदी किनारको तटीय क्षेत्र प्रमुख रोजाइमा हुने बताउँछन् । ती मैदानमा हुने काँसे घाँस र पानी भएको क्षेत्र गैंडाले मन पराउँछन् । तर, पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जमा मिचाहा प्रजातिको वृद्धिले गैंडाको वासस्थानमै समस्या थपेको निकुञ्ज कार्यालयका सूचना अधिकारी अशोक राम बताउँछन् । “लहरे, वनमारा लगायतका मिचाहा प्रजाति बढेका छन्, यसले गर्दा गैंडाको चरिचरन र वासस्थानमा डिस्टर्ब भएको छ”, उनी भन्छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वन्यजन्तुको वासस्थान सुधार र पानीको व्यवस्थापनका लागि गरिरहेका कामले पनि निकुञ्जमा जलवायुजन्य संकट देखिन थालेको संकेत गर्छन् । विभागका अनुसार गत वर्ष चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५०० वटा पोखरी निर्माण गरिएको छ । यस वर्ष थप २०० पोखरी निर्माण गर्ने तयारी छ । घाँसे मैदानमा समेत यस्तो असर देखिएकाले त्यसको व्यवस्थापनका लागि समेत विभागले काम गरिरहेको छ ।

विभागले गत वर्ष दुई हजार हेक्टर घाँसे मैदान व्यवस्थापन गरेको थियो । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ७५० हेक्टर, बर्दियामा ३०० हेक्टर, शुक्लाफाँटामा ३०० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको थियो भने बाँकी व्यवस्थापन पर्सालगायतका निकुञ्जमा गरिएको थियो ।

पछिल्ला वर्षमा वर्षा हुने दर र प्रकृति फेरिएको छ । यो बदलावकै कारण बाढी, पहिरोलगायतका प्राकृतिक विपत्को प्रकृति र स्वरुप समेत बदलिएको छ । परिणाम, नदी तटमा रहेका निकुञ्जहरू वर्षेनि बाढीको चपेटामा पर्दै आएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष देशका आठ स्थानमा भएको वर्षाले यसअघिको रेकर्ड तोडेको छ । सबभन्दा अनौठो त के छ भने आठ स्थानमध्ये सात स्थान नारायणी नदीको जलाधार क्षेत्रमा पर्छन्, जहाँ चितवन राष्ट्रिय निकुञ्ज रहेको छ ।

विभागका अनुसार लमजुङको खुदीबजार, कास्कीको पोखरा, बाग्लुङ, स्याङ्जा, पर्वतको कुश्मा, चितवनको रामपुर र नवलपरासीको दुम्कौलीमा अहिलेसम्मकै बढी वर्षा भएको छ । चितवनको रामपुरमा २ हजार ६८३.३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् २००७ मा २ हजार २५८ मिलिमिटर वर्षा भएको रामपुरको सरदर वर्षा १ हजार ७०४.५ मिलिमिटर हुने गथ्र्यो ।

स्याङ्जामा ३ हजार ५२०.२ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् २००२ मा त्यहाँ ३ हजार १३०.७ मिलिमिटर वर्षा भएको थियो । बाग्लुङमा पनि यसअघिको रेकर्ड तोकिएको छ । सन् २००० मा २ हजार ५२.४ मिलिमिटर वर्षा भएकोमा यसपालि २ हजार ४४९.७१ मिलिमिटर वर्षा भएको छ ।

कास्कीमा यसपालिको मनसुनमा रेकर्ड तोडिने वर्षा भएको छ । कास्कीमा यस वर्ष ४ हजार ५१९.३५ मिलिमिटर वर्षा भएको छ । सन् १९९५ मा त्यहाँ ४ हजार ६८.९ मिलिमिटर वर्षा भएको थियो ।

त्यस्तै, लमजुङको खुदीबजारमा ४ हजार ५१९.३५ मिलिमिटर वर्षा भएको छ भने पर्वतको कुश्मामा पनि अहिलेसम्मकै रेकर्ड तोडेर २ हजार ८९५.१ मिलिमिटर वर्षा भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक राम जलवायु परिवर्तनका कारण चितवनमा गैंडा नै नरहने चिन्ता थपिएको बताउँछन् । “प्राकृतिक मृत्युमा चिन्तित भइहाल्नुपर्ने स्थिति त होइन, तर हरेक वर्ष गैंडा बगेर भारततिर गए भने कालान्तरमा गैंडा नै सकिने हुन् कि भन्ने चिन्ता बढेको छ” उनी भन्छन्, “एकातिर बाढीले बगाएर गैंडा मर्ने, अर्कोतिर नेपालबाट बगेर गैंडा भारतमा जाने अनि भारतले फिर्ता नदिने हो भने हाम्रोमा गैंडा सकिंदै जान्छन् ।”

२०७४ साउनमा बाढीले बगाएर भारत पु¥याएको एउटा गैंडा फर्काउन भारतले आनाकानी गरेपछि उक्त गैंडा नवलपरासीको नर्सहीमा आएका बेला डाट गरेर चितवन राष्ट्रिय निकुञ्ज पु¥याइएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेल चितवनमा गैंडाको मृत्यु भएकोबारे अध्ययन शुरू गरिएको बताउँछन् । –हिमाल

  • प्रकाशित मिति : असोज २७, २०७७, मंगलवार ०२:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८