नारायण दाहाल / आश्विन–१७, २०७७
काठमाडौँ । झट्ट हेर्दा इतिहासकै शक्तिशाली प्रधानमन्त्री हुन् केपी शर्मा ओली । तर उनका निर्णय हेर्ने हो भने उनी इतिहासकै कमजोर, अडानहीन र लाचार देखिन्छन् । गर्नुपर्ने निर्णय उनले गर्न सकिरहेका छैनन् । नगर्नुपर्ने निर्णय एकपछि अर्को गरिरहेका छन् । आफै विवादित र बदनाम हुने काम उनकै हातबाट भइरहेका छन् ।
उनको विगतको अडानयुक्त र दृढनिश्चयीजस्तो देखिने छवि पनि अहिले कृत्रिमजस्तो लाग्न थालेको छ । आखिर उनी किन यति कमजोर र लाचार छन् त ? उनीमाथि को हावी भइरहेको छ ? कसको इशारामा उनी चल्दै छन् ? गम्भीर प्रश्न र शंकाको विषय बनेको छ ।
दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भइसकेपछिका ओलीका निर्णय र प्रस्तुति हेर्ने हो भने विगतमा माओवादी ज्यादती, संविधान निर्माण, भारतीय नाकाबन्दी र सुशीला कार्कीविरुद्धको महाभियोग एवं आईजीपी प्रकरणमा अडान राख्ने नेता तिनै थिए भनेर पत्याउन मुस्किल पर्छ ।
ओली यतिखेर असफल, अयोग्य आचरणहीन व्यक्तिहरुबाट घेरिएका छन् । बारम्बार उही व्यक्तिलाई भएभरका अवसर दिइरहेका छन् । एकपटक खराब नतिजा हात लागिसक्दा पनि उही व्यक्तिमा बढी भर परेको देखिन्छ ।
जस्तो कि युवराज खतिवडा । बढीमा एउटा संस्थानको जीएम बन्ने योग्यता राख्ने उनलाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, सांसद, मन्त्री, दुई हप्ते विशेष आर्थिक सल्लाहकार हुँदै अहिले अमेरिकाको राजदूत बनाइएको छ । उनलाई यति धेरै अवसर र संरक्षण किन ?
ओली सरकारको असफलताका एक मुख्य पात्र लोकदर्शन रेग्मीलाई दण्डित गर्नुको साटो किन पुरस्कृत गरियो ?
ओलीले आफ्नै विवेकले यो निर्णय गरेका हुन् कि यसको पछाडि कुनै अदृश्य शक्तिको दबाब र चलखेल छ ? यो गम्भीर छानबिनको विषय बनेको छ ।
भानुभक्त ढकाल र ईश्वर पोखरेलको बदनित छताछुल्ल भइसक्दा पनि ओली किन उनीहरुबाटै घेरिन बाध्य छन् ? आफ्नो सरकारको कार्यसम्पादन क्षमता बढाउन भन्दै एकपटक सबै सचिवालय एवं सल्लाहकार समूह परिवर्तन गर्ने भनेर राजीनामा दिन लगाउँदा पनि किन विष्णु रिमाल र राजन भट्टराईको पुनरागमन भयो ? फेरि फर्काउनु थियो भने किन राजीनामा गर्न लगाइयो ?
यी घटनाक्रमले कतै ओलीमाथि अरु कुनै शक्तिले शासन गरिरहेको त छैन भन्ने स्वाभाविक प्रश्न जन्माउँछ । इतिहासमा अहिलेसम्म कसले नपाएको जनसमर्थन उनले पाए । एकल पार्टीको दुई तिहाइ नजिक बहुमत छ ।
स–साना दलहरुको मोलमोलाइ सामना गर्नुपरेको छैन । संसदको विपक्षी र आफ्नै पार्टीभित्रको विरोधी खेमाको शक्ति र नैतिक धरातल कमजोर छ । राष्ट्रपति उनकै गुटबाट गएका नेता छन् ।
संवैधानिक आयोगहरु सरकारकै छाया बनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासमेत ओलीको आशयभन्दा धेरै टाढा गएका छैनन् र जान सक्ने साहस पनि देखिँदैन ।
बाहिरबाट हेर्दा ओलीले चाहेको टिम बनाउन सक्छन् । काबिल व्यक्तिहरुको छरितो टिम बनाएर भटाभट काम गर्न उनलाई कतैबाट छेकबार नहुनुपर्ने हो ।
तैपनि, ओली अहिले चाहिने कुरामा अनिर्णयको बन्दी बनेका छन् । नगर्दा पनि हुने निर्णयमा हतार गरिरहेका छन् । लाग्छ, रातारात भइरहेका अनपेक्षित निर्णय ओली लाचार भएर गरिरहेका छन् । उनी कसैको दबाब वा इशारामा चलिरहेका छन् । अझ भनौँ, उनीमाथि अर्को कुनै शक्ति हावी भइरहेको छ ।
प्रधानमन्त्री ओलीकै एकजना सहयोगी एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका भनाइमा ओली असफल हुनु भनेको उनको पार्टी त असफलसिद्ध हुनु हो नै, सँगसँगै मौजुदा व्यवस्था समेत खतरामा पर्नु हो । किनकी नेपाली जनताले निकै धेरै आशा र अपेक्षा गरिएको शक्तिबाट यो हदसम्मको लाचारी र अकर्मण्यता देखिन्छ भने जनतामा चरम निराशाले सञ्चार गर्नेछ ।
राजनीतिक स्थायित्वको आकांक्षासहित नेकपालाई जिताइएको भनिए पनि ओलीले स्थायित्वको भाव बोक्न सकेनन् । सरकार गठनको अढाई वर्षमा उनले १० पटक त मन्त्री हेरफेर मात्र गरेका छन् । ११ औँ पटक मन्त्रिमण्डल पुनर्गठनको दबाबमा छन् ओली ।
सार्वभौम संसदबाट दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्रीका निर्णय किन यति कमजोर, विवादित र बदनामीपूर्ण भइरहेका छन् ? के उनी आफ्नै विवेकले यो गरिरहेका छन् ? आफ्नै विवेकले गरेका भए किन गर्नैपर्ने निर्णय गर्न सकिरहेका छैनन् ?
राजनीतिक स्थायित्वको नारा दिएर सत्तारुढ भएका उनी किन अस्थिरताको ढोका खोल्दै छन् ? दल विभाजनसम्बन्धी अध्यादेश, वामदेव गौतम र नारायणकाजी श्रेष्ठजस्ता पराजित पात्रको संसद प्रवेश, युवराज खतिवडा र लोकदर्शन रेग्मीजस्ता अराजनीतिक र अनिर्वाचित व्यक्तिलाई अस्वाभाविक संरक्षण, मन्त्रिपरिदका भ्रष्ट अनुहारहरुको संरक्षण लगायतका गतिविधि स्वाभाविक छैनन् ।
यी र यस्ता अस्वाभाविक निर्णय र गतिविधिका पछाडि कुनै शक्तिकेन्द्रको चलखेल देखिन्छ । यसबारे स्वयं प्रधानमन्त्रीले नेपाली जनतालाई समयमै जानकारी दिएनन् भने देश र जनताविरुद्धको ठूलो गद्दारी हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८