• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

नेपाली व्यापारीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी

  • संबाददाता

नेपाली व्यापारीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी

किशोर बुढाथोकी / आश्विन–१४,२०७७

विराटनगर । सीमा क्षेत्रसम्म ल्याइएको प्याज भित्र्याउन नपाउँदा नेपाली व्यवसायीले ठूलो नोक्सानी बेहोरेर भारतमै बिक्री गरेका छन् । भारत सरकारले निकासीमा प्रतिबन्ध लगाएपछि विराटनगरको जोगवनी नाका हुँदै ल्याउन लागिएको प्याज उतै खरिदकर्ता खोजेर बेच्नुपर्ने अवस्था आएको हो । नेपाल ल्याउन पाउने निश्चित नभएपछि व्यवसायी लाखौं रुपैयाँको नोक्सानी बेहोर्न बाध्य भए ।

भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै बढ्दो मूल्य नियन्त्रण गर्न भनेर भदौ ३० बाट अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको थियो । जसका कारण नेपाल ल्याउन सीमा क्षेत्रको जोगवनीसम्म ल्याएर ठिक्क पारिएको प्याजका १२ वटा ट्रक उतै रोकिनु पर्ने अवस्था आयो ।

विराटनगर भन्सार हुँदै भोलिपल्ट नेपाल भित्र्याउने तयारी गरिएको भए पनि अघिल्लै दिन भारत सरकारले अचानक प्रतिबन्ध लगाइदिँदा प्याज लोड गरिएका गाडी ल्याउन नसकिएको व्यवसायीको भनाइ छ । विराटनगरको गुद्री बजारस्थित प्याजका थोक विक्रेता पशुपति भगतले तीन सय ४० मेट्रिकटन (तीन लाख ४० हजार किलो) बढी प्याज नेपाल भित्र्याउन नसकिएको बताए ।

‘बीचमा कुनै उपाय लगाउँदै भित्र्याउन सकिन्छ कि भनेर पनि प्रयास गरियो’, उनले भने, ‘नसकेपछि उतै थोक विक्रेता खोज्दै बिक्री गर्नुपर्ने अवस्था आयो ।’ १२ वटामा भगतका मात्रै सातवटा ट्रक थिए । उनका अनुसार नेपाल भित्र्याउन नसकेपछि भारतको फरबिसगञ्ज, पूर्णिया र दरभंगाका व्यापारीलाई सस्तोमा प्याज बिक्री गर्नुपर्ने बाध्यता आयो ।

उनले आफ्नो मात्रै सातवटा ट्रकमा लोड गरिएको दुई लाख १० हजार किलो (२१० मेट्रिकटन) प्याज केहीदिन जोगवनीमा अड्किएको र ल्याउन नपाउँदा उतै बेचिएको बताए । आफूले भारतमा खरिद गर्दा प्याज प्रति किलो भारतीय ४८ रुपैयाँ ५० पैसा (७७ रुपैयाँ ६० पैसा नेपाली) परेको भगतले बताए । ‘भारतीय एक करोड एक लाख ८५ हजार रुपैयाँ (नेपाली एक करोड ६२ लाख ९६ हजार रुपैयाँ) लगानी गरेर प्याज ल्याइएको थियो’, उनले भने, ‘तर प्रति किलो छ रुपैयाँ नौ पैसासम्म घाटा खाएर बेच्नु प¥यो ।’

भगतले प्याज भारतीय व्यापारीलाई प्रति किलो ४१ रुपैयाँ ६० पैसा (नेपाली ६६ रुपैयाँ ५६ पैसा) का दरले बेच्नु पर्दा ठूलो घाटा लागेको जानकारी दिए । रोकिएको सबै प्याज बेच्दा भारतीय ८७ लाख ३६ हजार रुपैयाँ (नेपाली एक करोड ३९ लाख ७७ हजार रुपैयाँ) मात्रै प्राप्त भएको उनको भनाइ छ । किलोमै छ रुपैयाँ नौ पैसा कममा बेच्दा सावाँमा भारतीय १४ लाख ४९ हजार रुपैयाँ (नेपाली २३ लाख १८ हजार चार सय रुपैयाँ) घाटा लागेको भगतले बताए ।

सहमतिमै आधाजति घाटा खरिद गरेर ल्याएको भारतीय डिलरले बेहोरेका कारण थोरै राहतचैं मिलेको उनको भनाइ छ । ‘अचानक प्रतिबन्धले प्याजमा ठूलो घाटा भयो’, उनले भने, ‘सीमामा भारतीय प्रहरीले रोकेका कारण गाडीमै रहँदा सडेर बिग्रने भएपछि सस्तैमा बिक्री गर्नुको विकल्प भएन ।’ भगतका अनुसार गाडीमा लोड भएको प्याज १० दिनभन्दा बढी राख्दा कुहिएर खेर जान्छ । ‘नबेचिकन राखेको भए सबै प्याज बिग्रिएर खेर जाँदा सबै लगानी डुब्ने थियो’, उनले भने ।

उनका अनुसार भारतको फारबिसगञ्जमा अहिले प्याजको मूल्य प्रति किलो भारतीय ४५÷४६ रुपैयाँ रहेको छ । ‘सुरुमा हामीले ल्याउन खोजेको प्याज भारतीय व्यापारीले लिनै मानेनन’, उनले भने, ‘धेरै पहल र आग्रह गरेपछि मात्रै बल्लबल्ल उनीहरु खरिद गर्न तयार भए ।’
प्याजका गाडी नेपाल भित्र्याउन सरकारी तवरबाट कुनै सहयोग र पहल नभएका कारण कुहिएर खेर जाँदा सबै लगानी डुब्ने भएपछि उतैका व्यापारी खोजेर ठेगान लगाउनु परेको उनले बताए । भगतका अनुसार १२ ट्रक नै प्याज व्यापारीले भारतमै बिक्री गरेका छन् । प्याजका अर्का थोक विक्रेता किशोरी सिंहले लामो समयदेखि आयात बन्द हुँदा प्याजको स्टक सकिँदै गएको बताए । ‘भारतीय प्रतिबन्धका कारण हामीले ल्याउन पाएका छैनौं’, उनले भने, ‘भएको बेच्दै रहे पनि मौज्दात सकिन लागेकाले अब चरम अभाव हुन सक्छ ।’ सिंहले विकल्प नखोजेर सरकार भारतसँग मात्रै निर्भर हुँदा समस्या जटिल बनेर गइरहेको बताए ।

उनका अनुसार भारतको इन्दौर, नासिक, गुजरात, राजस्थान, पटना लगायतबाट नेपालमा प्याज आयात हुन्छ । पछिल्लो समय इन्दौर र नासिकबाट धेरै आयात भइरहेको थियो । भित्र्याउन नपाएको १२ ट्रक प्याज इन्दौरबाट ल्याइएको व्यवसायीले बताए । सिंहले कोरोना महामारीले व्यवसाय धारासायी बनिरहेका बेला प्याजमा ठूलो घाटा खेप्नु पर्दा व्यापारीलाई झन् ठूलो तनाव थपिएको बताए ।

‘मौज्दात रहेको प्याजले एक सातालाई मुस्किलले धान्छ’, उनले भने, ‘त्यसपछि पनि भारतबाट आएन भने खरिद–बिक्री नै बन्द भएर चरम अभाव हुन्छ ।’ सिंहका अनुसार विराटनगरमा खुद्रा प्रति किलो ८० रुपैयाँमा प्याजको किनबेच भइरहेको छ ।

व्यापारीका अनुसार विराटनगर भन्सार हुँदै भित्रने प्याज प्रदेश १ र मुलुकका विभिन्न भागसम्म पुग्ने गरेको छ । प्रदेशमा मात्रै दैनिक २५ मेट्रिकटन प्याजको खपत रहेको उनीहरुको भनाइ छ । प्रदेश १ सहित मुलुकका विभिन्न ठाउँबाट दैनिक ४० मेट्रिकटनसम्म प्याजको माग आउने गरेको भगतले बताए ।
विराटनगर भन्सार कार्यालयकी प्रवक्ता सुनिता पौडेलले भारतले प्रतिबन्ध लगाएसँगै विराटनगर भन्सार हुँदै प्याज आयात पूर्ण रुपमा ठप्प रहेको बताइन् । उनले भनिन्, ‘कहिलेदेखि प्रतिबन्ध फुकुवा हुन्छ र प्याज ल्याउन सकिन्छ भन्ने यकिन छैन ।’

भन्सारका अनुसार दैनिक यो नाका हुँदै ४० मेट्रिकटन हाराहारीमा प्याज आयात हुने गरेको थियो । तर भदौ ३१ गतेबाट प्याज आयात शून्य रहेको पौडेलले बताइन् । विराटनगर भन्सार हुँदै साउनमा नौ सय ३७ र भदौमा नौ सय ५४ मेट्रिकटन प्याज आयात भएको जानकारी उनले दिइन् । प्याज आयातबाट मात्रै साउनमा ४९ लाख ६८ हजार दुई सय ५३ र भदौमा ५१ लाख आठ हजार दुई सय ६९ रुपैयाँ राजस्व संकलन भएको पौडेलको भनाइ छ ।

  • प्रकाशित मिति : असोज १४, २०७७, बुधवार ११:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८