• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

डा. केसीको जीवन रक्षाको लागि अपिल


डा. केसीको जीवन रक्षाको लागि अपिल

नारायण दाहाल / आश्विन–१३,२०७७

सत्याग्रही चिकित्सक डा.गोविन्द केसीको जीवन रक्षाका लागि अधिकारकर्मीहरुले अपिल गरेका छन् । नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको पूर्ण कार्यान्वयन तथा भ्रष्टचारीहरुमाथि कारवाही लगायत ६ बुँदे माग राखी १९ औं सत्याग्रहमा रहेका डा.केसीका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरूले सरकारको आलोचना गरेका छन् ।

अनसनको १६ औं दिन भईसक्दा समेत सरकारले माग सम्बोधनमा देखाएको उदासीनताप्रति अधिकारकर्मीहरुको एक समूह जवाफदेहिता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

डा.केसीले ज्यान जोखिममा राखेर थालेको सत्याग्रह कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त व्यवस्थापन, सुशासन तथा विगतमा सरकारसँग भएका सहमतिको पूर्ण कार्यान्वयनको लागि भएको भन्दै एक विज्ञप्ति जारी गर्दै उक्त समूहले डा.केसी १९ औं पटक सत्याग्रहमा बस्नुपर्ने अवस्था सिर्जना हुनु दुःखपूर्ण अवस्था भएको ठहर गरेको छ ।

डा.केसीलाई जुम्लावाट काठमाडौं स्थानान्तरण गर्ने क्रममा नेशनल ट्रमा सेन्टरमा प्रहरीवाट भएको दुर्व्यवहार तथा मागहरु सम्बोधनका लागि दबाब सृजना गर्न शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकप्रति भएका अत्यधिक बल प्रयोग एवं गिरफ्तारी तथा सर्वोच्च अदालतले निषेधित क्षेत्र लागू नगर्न दिएको अन्तरिम आदेशलाई समेत अवज्ञा गर्दै प्रहरी प्रशासनबाट भएका दमनजस्ता कार्यको पनि समूहले भर्त्सना गरेको छ ।

‘व्यक्तिको संविधानले प्रत्याभूत गरेको हिडडुल गर्ने, शान्तिपूर्ण भेला तथा प्रदर्शन गर्न पाउने मौलिक तथा स्वतन्त्रताका हक प्रतिकूल कार्यहरुप्रति निगरानी समिति घोर निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘डा.केसीका जायज मागहरुको वार्ताद्वारा तत्काल समाधान खोज्न र बिग्रदो स्वास्थ्य स्थितिप्रति गम्भीर हुनका साथै जीवन रक्षाको लागि अविलम्ब पहल गर्न सरकार तथा सम्बन्धित निकायसमक्ष जवाफदेहिता निगरानी समिति हार्दिक अपिल गर्दछ ।’

समूहमा सह–संयोजक गोविन्द बन्दी सदस्यः संस्थापक संयोजक मन्दिरा शर्मा, प्रा.कपिल श्रेष्ठ, डा.गौरीशंकरलाल दास, कनकमणि दिक्षित, डा.गोपाल सिवाकोटी, शोभाकर बुढाथोकी, सुमन अधिकारी, देवी सुनवार, विरेन्द्र थपलिया, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, राजु प्रसाद चापागाई, सवित्री श्रेष्ठ, जनक बहादुर राउत, ईन्द्रप्रसाद अर्याल, माहामुनिश्वर आचार्य, बाबुराम गिरी, राजन कुईकेल, बिकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, पंकजकुमार कर्ण, बद्रि भुसाल, रुकमनी महर्जन, रणधिर चौधरी लगायत छन् ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार ११:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८