• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

कारोनाबाट मृत्यु भएका केन्द्रिय कारागार कैदिको पोष्टमार्टम रिपोर्ट, कुनै अंङ्ग झिकिएको छैन

  • संबाददाता

कारोनाबाट मृत्यु भएका केन्द्रिय कारागार कैदिको पोष्टमार्टम रिपोर्ट, कुनै अंङ्ग झिकिएको छैन

आश्विन–१३,२०७७

काठमाडौँ । मृत्युपछि कोरोना पोजेटिभ देखिएका केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको पोष्टमार्टम रिपोर्टमा कुनै अङ्ग झिकिएको नदेखिएको र चोटसमेत नभएको अधिकारीहरुले बताएका छन् । केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा ६३ वर्षीय जैसवालको आँखा, मृगौललगायत कुनै पनि अङ्ग झिकिएको नदेखिएको र चोटसमेत नभएको बताए । उनले भने, ‘ प्रारम्भिक रिपोर्टमा हल्ला भएजस्तो केही पनि देखिएको छैन । अब भिसेरा रिपोर्ट आउन बाँकी छ’, बास्कोटाले भने ।

रुपन्देही घर भएका जैसवाललाई असोज ३ गते राति १० बजेर ५५ मिनेटमा विर अस्पतालले मृतक घोषणा गरेको थियो । उनलाई अस्पताल पुर्याउनु अघि नै मृत्यु भएको विर अस्पतालका अधिकारीले बताएका थिए ।

मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । तर मृतकका आफन्तले कोरोना पोजेटिभ देखाएर जैसवालको आँखा, मृगौला झिकिएको आशंका गरेका थिए । त्यसपछि सरकारले कोरोना पोजेटेभि देखिएपनि जैसवालको पोष्टमार्टम गर्ने निर्णय गरेको थियो ।

असोज ३ गते राती ९ बजे स्वास प्रश्वासमा समस्या देखिएपछि जैसवाललाई सुरुमा कारागारकै अस्पतालमा पुयाएर पछि वीर अस्पतालका लागि रिफर गरिएको थियो । विवादलाई साम्य पार्न जैसवाललाई उपचारका लागि कारागारबाट निकाल्दै गरेको अवस्थाको सिसिटिभी फुटेज पनि सार्वजनिक गरिएको थियो ।

कर्तव्य ज्यान कसुरमा जन्मकैदको सजाय पाएका जैसवालमा लामो समयदेखि पार्किन्सन र ब्लेड प्रेसरको समस्या रहेको कारागारका अधिकारीले बताएका थिए ।

जेलर बास्कोटाले अब पीसीआर परीक्षण नभएका कैदीको मृत्यु भए उनीहरुको कोरोना परीक्षण नहुने बताए । ‘मृत्यु अघि कोरोना परीक्षण नभएका कैदीबन्दीको सोझै पोष्टमार्टम हुन्छ तर कोरोना देखिएर मृत्यु भएको छ भने उनिहरुको पीसीआर परीक्षण हुन्छ’, उनले भने केन्द्रीय कारागारले भिसेरा परीक्षणको रिपोर्ट नआउँदासम्म जैसवालको शव अस्पतालमै रहने बताए ।

किन ८० मिनेट ढिला भयो कारागारको सिसिटिभी

जैसवाललाई कारागारबाट निकाल्दै गर्दाको सिसिटिभी फुटेजमा समय ८ बजेर ३० मिनेट देखिएको थियो । जबकी कारागार प्रशासनले पत्रकार सम्मेलनमा ९ बजेर ५५ मिनेटमा आन्तरिक अस्पतालमा जैसवाललाई पुर्याएको बताएको थियो ।

आन्तरिक अस्पताल केन्द्रीय कारागारभित्रै छ । यसले विवाद पनि उत्पन्न भएको थियो । जेलर बास्कोटाले केन्द्रीय कारागारको सिसिटिभी ८० मिनेट ढिलो रहेको बताए । ‘तीन चार वर्षअघि कारागारमा सिसिटिभी राख्दा समय मिलाइएको रहेनछ । त्यसयता सिसिटिभीको समय ८० मिनेट ढिला भएको रहेछ । समस्या नआउँदासम्म यसमा कसैको ध्यान गएको थिएन’, जेलर बास्कोटाले भने गृह मन्त्रालयको आईटी टोली ल्याएर देखाइसकेको र बीचमा कुनै गडबढ नभएको पाइएको उनले दाबी गरे ।

तर कारागारजस्तो ठाउँमा सिसिटिभीको समय ८० मिनेटसम्म ढिलो हुनु आश्चर्यको विषय भएको टिप्पणी भइरहेको छ ।

  • प्रकाशित मिति : असोज १३, २०७७, मंगलवार ०८:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८