आश्विन–१०,२०७७
अहिले यूरोपमा कोरोना भाइरस सङ्क्रमणको नयाँ लहर देखा परिरहेका बेलो कोरोनाको खोप आए पनि डब्ल्यूएचओले २० लाख मानिसको यो भाइरसबाट मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओका आपत्कालीन मामिलाका प्रमुख डा. माइक रायनले अन्तर्राष्ट्रिय सहकार्य नभएमा मृतकको सङ्ख्या अझ बढी हुनसक्ने बताएका छन् ।
गएको वर्षको अन्त्यमा चीनमा कोभिड–१९ देखा परेयता यस रोगबाट अहिलेसम्म ज्यान गुमाउने मानिसहरूको सङ्ख्या १० लाख नाघ्नै लागेको छ ।
यसबाट सङ्क्रमितहरू बढ्नेक्रम जारी रहँदा अहिलेसम्म विश्वभरि तीन करोड २० लाखभन्दा बढी मानिसमा यो भाइरसले सङ्क्रमण गरेको पुष्टि भएको छ । हिउँद आउन लाग्दा उत्तरी गोलार्धका थुप्रै देशमा सङ्क्रमणको दोस्रो लहर सुरु हुन लागेको बिज्ञहरुले बताई रहेका छन् ।
माइक रायनका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअगाडि नै थप १० लाख मानिसको मृत्यु हुने उच्च सम्भावना छ ।
यद्यपि उनले यस रोगको उपचार पद्धतिमा सुधार आइरहँदा मृत्युदर भने घटिरहेको बताए । सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छ –उनले प्रष्ट पारे ।
माइक रायनले सरकारहरूलाई कोभिड–१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन् । रायनले सरकारहरूलाई कोभिड–१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अवलम्बन गर्न समेत आग्रह गरेका छन् ।
“जबसम्म हामी सबथोक गर्दैनौँ तपाईँले भनिराखेको संख्या काल्पनिक मात्र हुनेछैन । बरु दुर्भाग्यवश त्यो निकै सम्भावित हुनेछ ।’’यूरोपमा केही दिनयता फेरि ठूलो संख्यामा संक्रमित देखिने क्रमसुरु भएको छ । त्यसले गर्दा पहिलो लहर उत्कर्षमा रहेका बेला लगाइए झैँ देशव्यापी लकडाउन हुनसक्ने चेतावनी पनि दिइएको छ । यूरोपको अवस्थाबारे डा. रायनले भने, समग्रमा उक्त विशाल क्षेत्रमा हामीले यस रोगको चिन्ताजनक वृद्धि देखिरहेका छौँ ।
रायनले युरोपेलीहरूले लकडाउन लगाउने अवस्था छल्नका लागि के पर्याप्त कामहरू गरिएको छ त भनेर आफैँलाई प्रश्न गर्न आग्रह गरे । परीक्षण र सङ्क्रमितको संसर्गमा आएका व्यक्तिको पहिचान, क्वारेन्टीन र सामाजिक दूरीको कायम गर्ने जस्ता विकल्पहरू लागु भए नभएको समेत मूल्याङ्कन गर्न पनि आग्रह गरे । डब्ल्यूएचओ मूख्यालय जेनेभामा बोल्दै उनले भने, लकडाउन भनेको अन्तिम विकल्प हो । अहिलेसम्म अमेरिका, भारत र ब्राजिलमा सर्वाधिक संख्यामा सङ्क्रमण पुष्टि भएको छ । यी तीन देशको कुल सङ्क्रमितको सङ्ख्या मात्र डेढ करोडभन्दा माथि छ ।
अमेरिकाका अग्रणी सङ्क्रामक रोग विज्ञ एन्थनी फाउचीले आफ्नो देशमा अहिलेसम्म सङ्क्रमणको पहिलो लहर नै अन्त्य नभएको बताएका छन् । उनले सीएनएनसँग भने, दोस्रो लहरको कुरा गर्नुभन्दा किन हामीले हिउँद वा शरद्का लागि तयार हुने कुरा नगर्ने ?
अमेरिकामा अहिलेसम्म यो भाइरसबाट ७० लाखभन्दा बढी सङ्क्रमित भएका छन् । कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित कारणले दुई लाख जनाभन्दा बढीको मृत्यु भएको छ । त्यसपछि रहेको भारतमा ५८ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यहाँ ९२,००० जनाभन्दा बढीले त्यहाँ ज्यान गुमाइसकेका छन् । – नेपालपत्र
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८