• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

विराटनगरका फरार सुन व्यापारीविरुद्ध जाहेरी दिनेको संख्या बढ्यो

  • संबाददाता

विराटनगरका फरार सुन व्यापारीविरुद्ध जाहेरी दिनेको संख्या बढ्यो

आश्विन–५,२०७७

विराटनगरको बूढीगङ्गा स्थित ‘चन्दा ज्वेलर्सका’ सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी दिनेको संख्या दिनहुँ बढ्न थालेको छ ।

चन्दा ज्वेलर्सका संचालक चन्दन स्वर्णकार र उनकी श्रीमती संगीता फरार भएपछि कारबाहीको माग गर्दै मोरङ प्रहरीमा उजुरी दिनेको संख्या बढेको हो । पीडितहरूका अनुसार बूढीगङ्गा गाउँपालिकाभित्रका करिब दुई सयभन्दा धेरैले धितोमा राखेको सुन र गर गहना बनाउन दिएको पैसा लिएर संचालकद्धय दम्पती पसल बन्द गरी दुई साता अघिदेखि फरार रहेकाछन् । उनीहरूले प्रयोगगरेको मोबाइल समेत स्विच अफ छ भने फेसबुक समेत डिएक्टिभ गरेका छन् ।

सञ्चार माध्यमबाट उनिहरु फरार भएको समाचार सार्वजनिक भएपछि सर्वसाधरणहरुले उक्तकुरा थाहापाएका हुन । पहिलो पटक भदौ २८ गते देवी थापा निरौला र राजन खड्काले चन्दा ज्वेलर्सका सञ्चालक स्वर्णकार दम्पतीविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । अहिले अन्य पीडितहरू पनि प्रहरी कार्यालयमा पुगेर जाहेरी दिन थालेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीमा हालसम्म एक दर्जन बढीले उजुरी दिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनका अनुसार आरोपीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ । ‘यस घटनाको अनुसन्धान गर्न छुट्टै टोली परिचालन गरिएको छ’ एसपी खड्काले भने, ‘हामीले अनुसन्धान गर्दै आएका छौं ।’

बूढीगङ्गा गाउँपालिका वडानम्बर २ टङ्कीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन धितो राखी १ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । एक हप्ताअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द थियो, त्यसपछि मात्र चन्दन र संगीता बेपत्ता भएको खबर फैलिएको प्रहरीले जनाएको छ । बूढीगङ्गा–३ बाँसबारीकी राधा बरालले पनि ८ आना सुन धितो राखेर १४ हजार रुपैयाँ ऋण लिएकी थिइन् । आफूले भदौ २ गते लिएको ऋण तिर्न जाँदा पसल बन्द भएको उनले बताइन् ।

लकडाउनका कारण घरमा आर्थिक समस्या भएपछि ऋण लिनुपरेको राधाको भनाइ छ । चन्दा ज्वेलर्सले सुन धितोमा राखेर दिएको ऋणको २४ प्रतिशत ब्याज लिने गरेको पीडितले बताए । बेपत्ता दम्पतीले मोरङ बूढीगङ्गा गाउँपालिका–४ निमुवाचौकमा पनि ‘शिवान्स ज्वेलर्स’ खोलेको पीडितहरूले बताएका छन् । सो पसल फरार हुनुअगाडि बिक्री गरेको हुनसक्ने पीडित सूर्यबहादुर थापाले जानकारी दिए ।

विराटनगरबाट २ वर्ष पहिलेपनि ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर यसैगरी सपरिवार भागेका थिए । उनको हालसम्म पत्ता लगाउन सकेको छेन भने शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैङ्कले लिलाम गरिसकेको छ ।

  • प्रकाशित मिति : असोज ५, २०७७, सोमवार ०२:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८