• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

बामदेबको मनोनयन लोकतन्त्रप्रति घातक प्रहार–साझापार्टी

  • संबाददाता

बामदेबको मनोनयन लोकतन्त्रप्रति घातक प्रहार–साझापार्टी

आश्विन–२,२०७७

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा वर्दियाबाट पराजित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको प्रति साझा पार्टीले आपत्ति जनाएको छ ।

‘राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्ति तथा विषयगत विज्ञहरूलाई मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका पाटीका नेताहरुलाई, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो,’ साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरेर भनेका छन् ।

गौतमको मनोनयन आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास र लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको पार्टीले बताएको छ ।

मनोनयनबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक ‘तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन’ भन्ने हठी सन्देश दिएको विज्ञप्तिमा उल्लेख छ ।
संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय भएको पार्टीले उल्लेख गरेको छ ।

संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ । नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याइए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ पार्टीले सरकारलाई सचेत गराएको छ ।

  • प्रकाशित मिति : असोज २, २०७७, शुक्रवार ०७:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८