• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

पृथ्वीनारायण, जंगबहादुर र महेन्द्रपछिको राजनेता बन्ने अवसर किन गुमाउँदै छन् ओली

  • नारायण दाहाल

पृथ्वीनारायण, जंगबहादुर र महेन्द्रपछिको राजनेता बन्ने अवसर किन गुमाउँदै छन् ओली

भाद्र–२३, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादी ज्यादतीविरुद्ध अडान लिँदा, संविधान जारी गर्दा र नेपालविरुद्ध भारतीय नाकाबन्दी गर्दा राजनेता (स्टेट्सम्यान) बन्ने लक्षण देखाएका थिए ।

त्यतिखेर उनले हासिल गरेको उचाइ र जनविश्वास आजकोसँग तुलना गर्ने हो भने ती ओली आजका प्रधानमन्त्री नै हुन् भनेर पत्याउन मुस्किल पर्छ ।

ओली दिन प्रतिदिन उदात्त चरित्र हराउँदै गएको देखिन्छ । उनमा प्रतिशोध, संकीर्णता, सम्झौतापरस्तता र अनुदार स्वभाव विकसित हुँदै गएको छ ।

कतिपय अवस्थामा उनको वा उनी वरिपरि रहनेहरुको कारणले हो, इमानदारिता र पारदर्शिताका पनि गम्भीर प्रश्न उठेका छन् । यही कारणले राज्यका हरेक नीति र निर्णयमा शंकाको दृष्टिले हेर्नुपर्ने स्थिति आएको छ ।

जनताले ओलीलाई दिनुपर्ने जति विश्वास र समर्थन दिइसकेका छन् । अहिलेसम्म नेपालको कुनै प्रधानमन्त्रीले नपाएको अपार जनसमर्थन उनले पाएका छन् ।

गएको निर्वाचनमा झण्डै दुई तिहाई बहुमत उनले हासिल गरे । नयाँ संविधान, नयाँ शासन व्यवस्था र जनतामा राज्यप्रति सहयोगी व्यवहारका दृष्टिले पनि ओलले अभूतपूर्व अवसर पाएका हुन् ।

संसदमा स–साना दलको महँगो भाउमा मोलमोलाइ गर्नुपर्ने नभएपछि सुशासन, तीब्र विकास र छिटो छरितो सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने फुर्सद हुन्थ्यो ।

पार्टीमा उनले चाहेको निर्णय सजिलै गर्न सक्ने अवस्था थियो । पार्टीमा सर्वेसर्वा भएपछि सरकारका जायज निर्णयमा पनि कतैबाट लगाम हुने कुरा थिएन ।

विगतको विद्रोही माओवादी ओलीकै पार्टीमा विलय भएपछि सरकारका काममा एउटा ठूलै तगारो पन्छिएको थियो । प्रतिपक्षी नेपाली कांग्रेस जनमत र नैतिकता दुवै हिसाबले ख्याउटिएका कारण ओलीलाई काम गर्न कतैबाट बाधा हुने अवस्था थिएन ।

दुई तिहाई बहुमत र ठूल्ठूला नारासहित उदाएका ओलीको शासनकालको सुरुवाती दिनमा कर्मचारीतन्त्र पनि त्राहिमाम थियो । विगतको कामचोर प्रवृत्ति अब नचल्ने हो कि भन्ने व्यापक डर थियो । कर्मचारीतन्त्रमा मौलाएको भ्रष्टाचार, अनियमितता र घूसखोर प्रवृत्ति डग्मगाइसकेको थियो ।

अख्तियारबाट लोकमानसिंह कार्की, दीप बस्न्यातजस्ता पात्रहरु हटिसकेर नवीन घिमिरे आएका थिए । ओलीले सुशासनको पक्षमा अडान लिन सकेका भए घिमिरे पन बाध्य भएर आक्रामक बन्नुपर्ने हुन्थ्यो ।

किनभने, जतिसुकै शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको कुरा गरे पनि राज्यका सबै अंगमा प्रत्यक्ष अप्रत्यक्ष प्रभावी हुने भनेको कार्यकारी नै हो ।

उसले अडान लिए, अरु अंगहरु पनि दायाँबायाँ गर्न सक्दैनन् । कार्यकारी प्रमुखले नै गति छाडे अरुका निम्ति पनि त्यो नजिर बन्न जान्छ । अहिले करिब त्यही स्थिति बनेको छ ।

प्रधानमन्त्री ओलीको पार्टीमा राम्रा मान्छे नभएको पनि होइन । भित्रैदेखि काम गर्ने अठोट थियो भने उनले नीतिहरुमा योगदान गर्न सक्ने एउटा उच्चस्तरका विज्ञहरुको टोली बनाउन सक्थे । त्यस्तै मन्त्रिपरिषदमा पनि पार्टीका राम्राराम्रा नेता छानेर छरितो टिम बनाउन सक्थे ।

ओलीमा यदि गुटीय संकीर्णता र अरु बाह्य तत्वहरुप्रतिको दायित्व थिएन भने उनको टिमका आलाकाँचाहरुलाई राज्यमन्त्री बनाएर शासकीय तालिम दिए पुग्थ्यो ।

महत्वपूर्ण मन्त्रालयमा सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा, शेरबहादुर तामाङजस्ता काबिल नेताहरुलाई स्थान दिन्थे, जसले आफ्नो क्षेत्रमा इमानदारिता र योग्यताले प्रमाणित गरेका छन् ।

जसमा काम गर्ने इच्छाशक्ति, कौशल र स्पष्ट दृष्टिकोण छ, तिनलाई महत्वपूर्ण जिम्मेवारी दिएर ओलीले आफ्नो कार्यकाल सफल र स्मरणीय बनाउने अवसर पनि करिब गुमाएका छन् ।

नेपाल राज्य निर्माणमा पृथ्वीनारायण शाह, जंगबहादुर राणा र राजा महेन्द्रपछि आउन सक्ने सम्भावित नाम केपी शर्मा ओली थियो । किनभने, पृथ्वीनारायण शाहले नेपाल राज्यको जग बसाए ।

जंगबहादुर राणाले बेलायतीहरुसँग चातुर्यपूर्ण तरिकाले मित्रवत् सम्बन्ध राखी देशको भूगोल जोगाए । स्वदेशका नागरिकलाई कज्याउने उनको नीति निन्दाजनक भए पनि विदेश नीतिका दृष्टिले उनी एक कुशल राजनीतिज्ञ सावित भए । राजा महेन्द्रले पूर्णतः राज्य नभइसकेको नेपाललाई उनले पूर्णता दिने कोशिस गरे ।

अहिले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा राजनीतिक स्थायित्वमार्फत् सामाजिक रुपान्तरण र आर्थिक समृद्धिको दिशामा मुलुकलाई उच्चतम विन्दुमा पुर्याउने अवसर ओलीलाई थियो ।

चीनमा तङ स्याओ पिङ, मलेसियामा मोहम्मद मोहथिर र सिंगापुरमा मोहम्मद महाथिरजस्तै नेपालमा ओलीले आफ्नो नाम राख्ने अवसर इतिहास र नेपाली जनता दुवैले दिएका हुन् । तर, ओलीले यो मौकाको सदुपयोग गर्न सकेनन् ।

आफ्नै पार्टीका क्षमतावान् र जनताले विश्वास गरेका नेताहरुलाई उनले विरोधीको नजरले हेरे । सुधारका लागि गरिएका आलोचना र टिप्पणीहरुलाई उनले आफ्नो विरोध र असहयोगको रुपमा बुझे ।

एकदमै अलोकतान्त्रिक, असहिष्णु र अनुदार चरित्र उनले प्रदर्शन गरे । सीमित घेरामा मात्रै उनी रमाए । जबकि, जसबाट उनी घेरिएका छन्, ती व्यक्तिहरुको इमान, अध्ययन, दृष्टिकोण र संस्कारमा समेत पर्याप्त सीमितता छन् ।

ओलीले अझै पनि मनन गर्ने हो र आफ्नो शक्तिको आंंकलन गर्ने हो भने देशको पक्षमा गर्न सक्ने ठाउँ प्रशस्तै छन् । उनका सामु अहिले पनि चौतर्फी अनुकूलता छ । नेपालको सत्ता राजनीतिमा अनावश्यक चासो र हस्तक्षेप गर्ने भारत आफ्नै समस्यामा छ ।

चीनको बढ्दो दबाबका कारण पनि भारतले नेपालमा अनावश्यक चलखेल गर्न सक्ने अवस्था छैन । प्रतिपक्षी कमजोर छ । राष्ट्रपति आफ्नै पार्टीका नेता छन् ।

नेपाली सेनाको नेतृत्वले राजनीतिक नेतृत्वभन्दा एक कदम अघि बढेर सुशासनका पक्षमा दरिलो कदम चालेको देखिन्छ । नेपाल प्रहरीको शीर्ष तहमा पनि विगतमा जस्तो अस्वस्थ प्रतिस्पर्धा र वैमनुष्यता देखिँदैन । अख्तियारले ओली प्रशासनलाई अप्ठेरो पार्ने आँट गरेको छैन ।

ओली स्वयंको निजी जीवन पनि राष्ट्रका लागि सही अडान लिने र आवश्यक परे जस्तोसुकै त्याग गर्न सक्ने ठानिएको हो । थेग्नै नसकिने पारिवारिक दायित्व छैन ।

व्यवस्थापन गर्नैपर्ने व्यक्तिको सूची पनि सायद अब घट्यो होला । किनभने, गोकुल बाँस्कोटा, महेश बस्नेत, भानुभक्त ढकाल, अग्नि खरेल लगायतले पाउनुपर्नेभन्दा बढी पाइसके । अब उनीबाट पाउन बाँकी देशले मात्र हो ।

नेपाल राष्ट्रकै इतिहास बदल्न सक्ने ओलीसँग अपार शक्ति छ । नेपालमा सायद कम्युनिस्ट पार्टी यति ठूलो उचाइ र शक्तिमा अबका दिनमा सायदै पुग्नेछ ।

यो उचाइमा पुर्याउने जसका सम्पूर्ण हकदार स्वयं ओली हुन् । आफ्ना विश्वासपात्रहरुलाई राष्ट्रपतिदेखि उपप्रधानमन्त्री, मन्त्री र अरु राजनीतिक नियुक्तिहरुमा व्यवस्थापन गरिसकेका छन् । यस हिसाबले पनि उनले पाउनुपर्ने जति सबै पाइसकेका छन् ।

यसकारण पनि उनले सोचून्, अब के पुगेको छैन, किन सानो स्वार्थको घेरामा बन्द भएर बस्ने, किन एउटा राजनेतामा हुनुपर्ने उदात्तताको प्रदर्शन नगर्ने, किन देशलाई शिरमा राखेर, माटो छोएर, अठोट लिएर देशका हितमा आफ्नो यो शक्तिलाई प्रयोग नगर्ने उनकै भाषामा भन्दा सिंहदरबारमा केवल फोटो मात्र झुण्ड्याउन त यति ठूलो शक्ति र समर्थन जनताले दिएका होइनन् नि ।

यस्तै हो भने ओली दिन प्रतिदिन ओरालो यात्रामा लाग्नेछन् । उनको शक्ति यही अवस्थामा अब धेरै समय रहने छैन, क्षणक्षणमा क्षीण हुँदै छ ।

उनले एक राजनेता बन्ने अवसर गुमाउँदै छन् । योभन्दा पनि ठूलो चिन्ताको विषय, देश र जनताले गरेको ठूलो अपेक्षामाथि तुषारापात हुँदै छ । के प्रधानमन्त्रीज्यूलाई यो महसूस भएको छैन । –वर्णन

  • प्रकाशित मिति : भदौ २३, २०७७, मंगलवार ०२:२३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८