• जेठ ६, २०८१, आइतवार Sunday, 19 May, 2024

सेमी क्लासिकल मेरो आधार ‘दियाली’

  • संबाददाता

सेमी क्लासिकल मेरो आधार ‘दियाली’

कञ्चनपुरको पुनर्वास नगरपालिका,त्यहीँकी किशोरी श्रद्धा दियाली । त्यसो त यो पुनर्वासको बस्तीमा रहने धेरैको पृष्ठभूमि पनि फरक हुन सक्छ । यस्तै फरक पृष्ठभूमि भएकी श्रद्धाको पुर्ख्यौली घर गोरखा । त्यहाँबाट चितवन हुँदै उनका बाबु कामको सिलसिलामा कञ्चनपुर पुगेका थिए । श्रद्धाको अहिलेको बसोबास काठमाडौँ. मैतीदेवी । यही काठमाडौँ सहरमा क्यारियर बनाउने धुनमा मिहेनत पूर्वक पाइला चालिरहेकी छिन् ।

कञ्चनपुरमा रहँदा नै श्रद्धा स्कुले कार्यक्रममा नाच्ने गाउने, तीजका कार्यक्रममा पनि सक्रिय रहने गर्थिन् । त्यसो त सानै देखि उनको स्वरमा त्यत्तिकै मिठास । अनि रत्न राज्य लक्ष्मी कलेजमा सङ्गीतको अध्ययन । लगभग एक दशक अघि उनले स्नातकको पढाइ पुरा गरिन् । यस पछि लागिन् , सङ्गीतमै । समसेर दियालीले श्रद्धालाई पहिले अवसर दिए । समसेर उनका ठुला बुवाको छोरा , भावनात्मक रूपले आफ्नै दाइ । सानैमा तीनै समसेरले गीत गुनगुनाएको सुन पछि उनी पनि गुनगुनाउने गर्थिन् । समसेर पनि गायक नै हुन् । अबोध एक बालीकाले माधव घिमिरे र तारा देवीको फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा गाउँदा सबै जना चकित ।

संयोग, उनको पहिलो औपचारिक गीति यात्रा पनि दाजु समसेर सँगैको सहयात्राबाट सुरु भयो । पहिलो पटक गाएको “ उपहार मैले आँसु पाए , बैगुनी तिमिलाई माया गरी ” बोलको गीतमा सन्तुष्टि मिले पछि उनको साङ्गीतिक यात्रा अघि बढेको हो । यस बिचमा दुई दर्जन भन्दा बढी गीत गाइन्, एउटा सेमी क्लासिकल , धेरै आधुनिक । अनि उनले भोजपुरी गीत पनि गाइन् र केही भजन पनि ।
कोभिड १९ को महामारीले नेपाल मात्र अछुतो रहने कुरा भएन । यस बिचमा चैतमा भएको लकडाउन पछि उनको यात्रामा पनि अवरोध नआएको होइन । परन्तु, यस बिचमा उनले आफ्नो यात्रालाई निरन्तरता दिइनै रहिन् । कोठामा पनि निरन्तर रियाज,अभ्यास र लेखनमा व्यस्त यी गायिकाले बिचमा लकडाउन खुलेको समयमा गीत रेकर्ड गर्न पनि भ्याइ हालिन् । महाराज थापाको शब्द तथा सङ्गीतमा एउटा गीत रेकर्ड गराएकी उनले वसन्त खड्का र दीप तुलाधरको सङ्गीतमा अर्को गीत रेकर्ड गराइन् ।

हालसम्म नेपालमा चलेको रियालिटी सोको अनुभव नगरेकी उनले अबको दिनमा भने प्रतिस्पर्धा गर्ने सोचाइ बनाएकी छिन् । नेपाली सङ्गीतमा थुप्रै खाले अनुहार छ । सफलताको उचाइ र लोकप्रियताको नाममा सङ्गीतको गम्भीरयतामा कत्तिले ध्यान नदिएको साँचो हो । श्रद्धा आफूलाई पृथक् बाटोमा हिँडाउन चाहन्छिन् । जसरी उनी सानो छदा अरुणा लामा र नारायण गोपालको डाइङ हर्ट फ्यान बनिन् , आफै गायन क्षेत्रमा रहँदा पनि त्यसै खाले साङ्गीतिक व्यक्तित्वलाई रुचाउन थालिन् । यी धेरै जनाको बिचमा उनलाई सुरेश अधिकारीको गीत गाउन मन भने लागी नै रहेको छ । त्यसो त उनीसँग निकट र आत्मीय सम्बन्ध भएका भरत बमजनले लेखेको गीत गाउने इच्छा उनीमा सारै छ । उनले बुझेको साँचो के हो भने जिन्दगी लामो छ र भोलिका थुप्रै सम्भावना पनि बाँकी छ । यस बिचमा नेपाली सङ्गीतमा मेलोडीयसको गीतको क्षेत्रमा अझ केही स्थान खाली छ र श्रद्धा आफूलाई निखार्दै यसमा आफूलाई उभ्याउन सफल हुनेमा विश्वस्त छिन् ।

  • प्रकाशित मिति : भदौ १९, २०७७, शुक्रवार ०१:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८