• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

कसरी फैलियो सशस्त्र प्रहरीको प्रदेश हेडक्वार्टरमा कोरोना ?

  • संबाददाता

कसरी फैलियो सशस्त्र प्रहरीको प्रदेश हेडक्वार्टरमा कोरोना ?

२ भदौ, चितवन । सशस्त्र प्रहरीको बागमती प्रदेश मुख्यालयमा ६० जनाको स्वाब परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो ।

सशस्त्र प्रहरीको गढीमाई बाहिनी मुख्यालय, भण्डारामा यसअघि १७ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण भेटिएको थियो । उनीहरुमध्ये दुई जना भरतपुर अस्पतालमा र ६ जना सशस्त्र प्रहरी कार्यालय भण्डाराकै आइसोलेसनमा छन् ।

तीन सय जना भन्दा बढी सशस्त्र प्रहरी रहेको बाहिनीमा ७७ जनाको परीक्षण गर्दा ५० जना संक्रमित भेटिनुले सशस्त्रको प्रदेश हेडक्वार्टर कोरोना संक्रमणको केन्द्र बनेको छ भनेर बुझ्नुपर्ने जनस्वास्थ्य अधिकारीहरु बताउँछन् ।

अस्पतालमा बेड छैन

गणका डीआईजी मन्दीप श्रेष्ठका अनुसार संक्रमितमध्ये १५ जनामा लक्षण देखिएको छ भने अधिकांशमा लक्षण छैन । तर संक्रमितलाई भरतपुर अस्पतालमा पठाउन सक्ने अवस्था छैन । अस्पतालको ७५ बेडको आइसोलेसन सोमबार नै भरिएको छ । त्यसैले संक्रमित शशस्त्र प्रहरीलाई बाहिनीभित्र क्याम्प बनाएर राख्ने तयारी भइरहेको डीआईजी श्रेष्ठले अनलाइनखबरलाई बताए ।

‘संक्रमितहरूको एउटा ब्लक, संक्रमणको आंशका गरिएकाहरुलाई एउटा ब्लक र बाँकीलाई अर्को ब्लकमा राख्ने तयारी गरिरहेका छौं, अब अन्यत्र अस्पतालमा पठाउन सक्ने अवस्था पनि रहेन’ डीआईजी श्रेष्ठले भने, ‘जिल्ला प्रशासन कार्यालय, राप्ती नगरपालिका र स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेका छौं ।’

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले संक्रमित सुरक्षाकर्मीहरुको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताइन् । ‘भित्र जग्गा त छ, तर पूर्वाधार छैन । केही टेन्टहरु रहेछ, शौचालय पनि सीमित रहेछन्’ उनले भनिन्, ‘तपाईहरू आफ्नो तर्फबाट केके गर्न सक्नुहुन्छ गर्नुस् । केही अभाव वा पुगेन भने नगरपालिकालाई भन्नुस् । हामी सकेको सहयोग गछौं भनेका छौं ।’

गणमा एक जना स्वास्थ्यकर्मीलाई रेकर्ड राख्नेदेखि प्रहरीहरुको अवस्था र रिपोर्टिङ गर्ने भनेर खटाइएको छ । ‘स्वास फेर्न गाह्रो भए तत्कालै समन्वय गरेर अस्पतालमा पठाउँछौं’ उनले भने । गणमा दुई जना चिकित्सकको दरबन्दी भएपनि दुबै पल खाली छ । पूर्वी चितवनका चार नगरपालिकाका प्रमुखहरुको बैठकले दुई चिकित्सक उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ । कसरी फैलियो त गणमा कोरोना ?
काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक बागमती प्रदेशका १० जिल्ला यही तीन नम्बर बाहिनीले हेर्दै आएको छ ।
त्यहाँ प्रदेश नं. १ र २ बाट सरुवा भएर तथा घर गएर आएका सशस्त्र प्रहरीहरु पनि थिए । प्रदेश नं. २ बाट आएका दुई जनामा ज्वरो र रुघाखोकी देखिएको थियो । उनीहरु र उनीहरुको सम्पर्कमा आएका १७ जनाको २५ गते स्वाब संकलन गरिएको थियो । २७ गते २ जना र २८ गते ६ जनाको रिपोर्ट पोजेटिभ आयो ।
उनीहरुको नजिक रहेर काम गरेका ६० जनाको ३० साउनमा स्वाब संकलन गरिएको थियो, जसमध्ये ४२ जनामा संक्रमण रहेको रिपोर्ट सोमबार राति आएको छ ।
गणका सुरक्षा अधिकृतहरुका अनुसार करिब डेढ महिनाअघि प्रदेश नं. २ बाट आएका प्रहरीहरुको एक टोली आएको थियो । उनीहरु १४ दिन क्वारेन्टिन त बसे, तर कोरोना जाँच गरिएन । क्वारेन्टिनमा बसे पनि स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पालना नगरिएको हुनसक्ने राप्ती नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुरेश न्यौपानेले बताए । ‘कुनै लक्षण छैन, केही भएको छैन जस्तो भयो । अन्य साथीभाइसँग पनि सम्पर्कमा गयो, त्यसले भुसको आगो जस्तो रूप लियो’ न्यौपाने भन्छन् ।
बाहिनीका डीआईजी मन्दीप श्रेष्ठले स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार दूरी कायम गरेर काम गर्न समस्या हुने भएकाले कोरोनाको संक्रमण फैलिएको हुनसक्ने बताउँछन् ।
‘कहिले सँगै ट्रकमा हिँड्नुपर्छ, सँगै खाने सुत्ने गर्नुपर्छ’ डीआइजी श्रेष्ठले अनलाइनखबरँग भने, ‘लक्षण नदेखिएपछि शंका गर्ने कुरा भएन, तै पनि र्‍याण्डम्ली चेकजाँच गर्दा यतिको संख्यामा देखियो, गणमा भुसको अगोझैं फैलिने देखियो ।’
अहिले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न लागिएको राप्तीका स्वास्थ्य शाखाका प्रमुख न्यौपानेले बताए ।

  • प्रकाशित मिति : भदौ २, २०७७, मंगलवार ०९:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८