• कात्तिक १४, २०८३, शनिवार Saturday, 31 October, 2026

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

  • खबरदाता

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

साथै, उनले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गरेका छन् ।

जलविद्युत् केन्द्रले चेतावनी जारी गरेको छ । जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्थामा चेतावनीको साइरन बजाइने केन्द्रका प्रमुख राउतले जानकारी दिए । उनले देउराली–सिस्नेरी सडकखण्ड प्रयोगमा पनि सावधानी अपनाउन आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक १४, २०८३, शनिवार १२:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८