फ्रान्सभर लाखौं मानिसहरू सडकमा उत्रिएर गरिएको अर्को दिनको विशाल प्रदर्शनपछि करिब १,००० जनालाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्। शनिबार अबेरतिर प्रदर्शनका क्रममा केही स्थानमा झडप समेत भएको थियो।
दिनभर प्रायः शान्तिपूर्ण रहेको प्रदर्शनपछि पेरिस लगायत विभिन्न सहरहरूमा भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। यसैबीच मार्सेमा सडक अवरोधहरूमा आगो लगाइएको थियो भने बोर्डोमा प्रदर्शनकारीहरूले पसलका काठका फल्याकहरू उप्काएका थिए।
यद्यपि, अघिल्लो सप्ताहन्तमा देखिएको आधुनिक फ्रान्सेली इतिहासकै सबैभन्दा खराब स्तरको दङ्गा र लुटपाट दोहोरिन नदिन अधिकारीहरू अहिलेसम्म सफल भएका छन्।
आन्तरिक मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनमा अनुमानित ४ लाख १० हजार मानिस सहभागी भएका थिए भने ट्रेड युनियनहरूले यो संख्या करिब ८ लाख रहेको दाबी गरेका छन्।
महङ्गो जीवनयापन र विद्यालयहरूको खस्कँदो अवस्थालाई लिएर भएका पछिल्ला प्रदर्शनहरू फेरि अनियन्त्रित नहोउन् भन्नका लागि करिब ७०,००० प्रहरी परिचालन गरिएको थियो र धेरै सहरहरूमा प्रतिबन्धहरू लगाइएको थियो। अघिल्लो साता प्रहरीको संख्या कम हुँदा सयौं व्यवसायहरू लुटिएका थिए भने भवनहरूमा आगो लगाइएको थियो।
राष्ट्रपति इम्मानुएल म्याक्रोनले यसै साताको सुरुमा मान्यता प्राप्त ट्रेड युनियनहरूद्वारा आयोजित प्रदर्शनहरूलाई मात्र अनुमति दिइने उर्दी जारी गरेका थिए। हालैका दिनहरूमा द्रुत(अदालती सुनुवाइपछि तोडफोड, आगजनी र लुटपाटको आरोपमा सयौं मानिसहरूलाई जेल हालिसकिएको छ।
पेरिसको ‘पोर्ते दिताली’बाट ‘पोर्ते दि भेन्सेन्स’तर्फ निकालिएको शान्तिपूर्ण र्यालीको अन्त्यतिर प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच झडप सुरु भएको थियो। त्यहाँ संगठित अपराध र आतंकवाद नियन्त्रणमा खटिने विशिष्ट प्रहरी टोलीलाई समेत परिचालन गरिएको थियो।
केही प्रदर्शनकारीहरूले अस्थायी अवरोधहरू खडा गर्दै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए भने अनुहार छोपेका युवाहरूको समूहले कार शोरुमका झ्यालहरू फुटाउन थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो।
फ्रान्सेली आन्तरिक मन्त्री लरेन्ट नुनेजले एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै भने, “र्यालीको पछिल्लो भागमा हजारौं उग्र कार्यकर्ताहरू जम्मा भएका थिए, जसमा करिब ५०० जना पहिचान गरिएका दङ्गाकारीहरू थिए।”
दक्षिणी बन्दरगाह सहर मार्सेमा फोहोरका डस्टबिनहरूमा आगो लगाइयो र सडक अवरुद्ध गर्न धातुका पाताहरू प्रयोग गरियो। फ्रान्सको दोस्रो ठूलो सहरमा सुरक्षा निकायको गाडी जलिरहेको अवरोध छिचोलेर अघि बढेको देखिएको थियो।
यसैबीच, दक्षिणी सहर बोर्डोमा कालो लुगा लगाएर अनुहार छोपेका केही प्रदर्शनकारीहरू सडकमा अवरोध बनाउन भवनबाट काठका फल्याकहरू उप्काउँदै गरेको देखिए।
लियोनमा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको स्थानमा भीड जम्मा भएपछि प्रहरीले अश्रुग्यासका गोला प्रहार गरेको थियो।
“हामी करिब १५० जना जति थियौं, जसमा धेरैजसो माध्यमिक तह र विश्वविद्यालयका विद्यार्थीहरू थिए। त्यसपछि तुरुन्तै अश्रुग्यास प्रहार भयो। सडकमा केही पनि देख्न नसकिने अवस्था थियो,” फ्रान्सको तेस्रो ठूलो सहरका एक प्रदर्शनकारीले भने।
मन्त्री नुनेजले दिनको अन्त्यसम्ममा करिब १,००० जनालाई पक्राउ गरिएको र यो संख्या अझै बढ्न सक्ने बताए।
मन्त्रीले दक्षिण(पश्चिमी सहर टुलुजमा एक जना र मध्य फ्रान्सको क्लेर्मों(फेराँमा अर्का एक जना गरी दुई व्यक्ति “गम्भीर घाइते” भएको जानकारी दिए।
यसअघि, पेरिसमा शान्तिपूर्ण प्रदर्शनमा सहभागी २६ वर्षीया जेलिएले बीबीसीसँग कुरा गर्दै म्याक्रोन सत्तामा आएदेखि जनता “निकै निराश” भएको र “धेरै दुःख पाएकाले” सडकमा उत्रिनुपरेको बताइन्।
“उनीहरू हामीलाई चुप लगाउँछन्। हाम्रो पैसा लिन्छन्, अत्यधिक कर लगाउँछन् र हामी केही बोल्न पनि पाउँदैनौं। आज हामी सडकमा आएका छौं किनभने यो अति भइसक्यो, सीमा नाघिसक्यो,” उनले भनिन्।
आफ्नो नाम खुलाउन नचाहने दुई मुखौटाधारी किशोर प्रदर्शनकारीहरूले पनि आफ्नो पुस्ता चरम निराशामा रहेको र सरकारबाट उपेक्षित महसुस गरिरहेको बताए।
“मेरो विचारमा लुटपाट गर्नु राम्रो कुरा होइन,” अघिल्लो शनिबारको अशान्तिको बारेमा एक प्रदर्शनकारीले भने, “तर यो गरिबी र प्रहरीको दमनका कारण भएको हो।”
उनले थपे, “हाम्रा मागहरूको उचित सम्बोधन भएपछि मात्र यो आन्दोलन रोकिनेछ। हामी फ्रान्समा साँच्चिकै परिवर्तन चाहन्छौं।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८