• असोज ४, २०८३, आइतवार Sunday, 20 September, 2026

माथिल्लो त्रिशूली-१ बाट हालसम्म २४ शव निकालियो, डाउनस्ट्रिमतर्फ खोजी कार्य जारी राखिने

  • खबरदाता

माथिल्लो त्रिशूली-१ बाट हालसम्म २४ शव निकालियो, डाउनस्ट्रिमतर्फ खोजी कार्य जारी राखिने

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट शनिबारसम्म २४ वटा शव निकालिएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण आयोजनाको सुरुङभित्र फसेकामध्ये २४ वटा शव फेला परेको हो। यो हालसम्म अडिट-३ सुरुङबाट निकालिएको शवको संख्या हो।

आयोजनामा खटिएको खोजी तथा उद्धार टोलीले शनिबार पनि अडिट -३ सुरुङको क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएको छ। अडिट -३ सुरुङबाट अपस्ट्रिमतर्फ रहेको स्टिल ग्यान्ट्री फर्मवर्क हटाउने काम गरिएको छ। त्यस क्रममा करिब २०० किलो बराबरको स्टिल सामग्री हटाई खोजी कार्यका लागि आवश्यक ठाउँ तयार गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले स्टिल तथा रिबारभित्र फसेको अवस्थामा रहेको सामग्री तथा अवशेष हटाउँदै खोजी कार्य अघि बढाएको छ। खोजी तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आयोजनाको टोली गरी ४४ जनाको समूह परिचालन गरिएको छ।

त्यसैगरी, सर्च डगको टोलीलाई समेत परिचालन गरी डाउनस्ट्रिमतर्फ खोजी कार्य जारी राख्ने तयारी गरिएको छ। मैलुङ क्याम्प क्षेत्रमा थप एउटा एक्स्काभेटर प्रयोग गरी उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ। उपलब्ध मेसिन तथा जनशक्तिको प्रयोग गरेर भग्नावशेष हटाउने र सम्भावित स्थानमा खोजी गर्ने काम जारी रहेको छ।

  • प्रकाशित मिति : असोज ४, २०८३, आइतवार ०७:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८