गर्मीको लहर, आँधीबेहरी, बाढी र डढेलोजस्ता जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने तथा विद्यालय छाड्ने जोखिम बढी रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ ।
युनिसेफको विश्लेषणअनुसार सन् २०२५ मा १०६ देश तथा क्षेत्रमा १७ करोडभन्दा बढी विद्यार्थीको पढाइ चरम मौसमका कारण प्रभावित भएको थियो । विद्यालयमा क्षति, कक्षा स्थगन, परिवार विस्थापन र आम्दानी गुम्दा बालिकामाथि घरायसी हेरचाह तथा पानी सङ्कलनको थप जिम्मेवारी पर्ने भएकाले उनीहरू विद्यालय फर्किनसमेत कठिन हुने गरेको युनिसेफले जनाएको छ । यसले बालविवाहको जोखिम पनि बढाउन सक्ने बताइएको छ ।
गत वर्ष आँधीबेहरीबाट करिब १० करोड १० लाख, बाढीबाट कम्तीमा सात करोड र गर्मीको लहरबाट करिब पाँच करोड विद्यार्थी प्रभावित भएका थिए । विश्वभर करिब एक अर्ब बालबालिका जलवायु तथा वातावरणीय विपत्तिको उच्च जोखिम भएका देशमा बसोबास गर्ने युनिसेफको भनाइ छ ।
विपत्तिका कारण पढाइ गुम्दा बालबालिकाको सिकाइ, साक्षरता र गणितीय सीपमा दीर्घकालीन असर परी जीवनभरको आम्दानीमा कम्तीमा दुई खर्ब डलर बराबरको क्षति हुन सक्ने युनिसेफले जनाएको छ । न्यून तथा निम्न–मध्यम आय भएका देशका शिक्षा प्रणालीमा यस्तो विपत्तिका बेला पढाइ सुरक्षित राख्न पर्याप्त स्रोतसाधन नहुने भएकाले सरकारले जलवायु सहन सक्ने विद्यालय तथा शैक्षिक संरचनामा थप लगानी गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८