• साउन २२, २०८३, शुक्रवार Friday, 07 August, 2026

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य

  • खबरदाता

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण गराएको छ ।

विभागले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी तथा संस्थालाई २१ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ ।

विभागले सूचनामार्फत राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा रु तीन करोडभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको हो ।

सूचनाअनुसार इच्छुक संस्था तथा कम्पनीहरूले विभागको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ ।

इजाजतपत्र प्राप्त गर्न कारोबारको प्रकृतिअनुसार दस्तुर पनि निर्धारण गरिएको छ । एकपटकमा रु पाँच करोडसम्मको कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाले रु पाँच लाख दस्तुर बुझाउनुपर्नेछ । पाँच करोडभन्दा बढी कारोबार गर्नेले रु १० लाख दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेस गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ ।

अनलाइन आवेदनसँगै पेस गरिएका कागजातको एक–एक प्रति प्रिन्ट गरी विभागमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

आवेदन दर्तापछि सम्बन्धित कम्पनी वा संस्थाका सञ्चालक सदस्यले नेपाल प्रहरीको केन्द्रीय अपराध सूचना अभिलेखालयको अभिलेखका आधारमा आपराधिक क्रियाकलापमा संलग्न नरहेको व्यहोराको पत्रसमेत पेस गर्नुपर्ने विभागले जनाएको छ । रासस

  • प्रकाशित मिति : साउन २२, २०८३, शुक्रवार ०६:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८