बजारमा खाना पकाउने एलपी ग्यास पाउन उपभोक्तालाई सकस भएको छ । गत फागुनमा ग्यासको यस्तै अभाव भोगेका उपभोक्ताले अहिले आएर फेरि अभाव खेप्नु परेको छ । नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको बताए पनि उपभोक्ताले एक सातादेखि पाउन सकेका छैनन् । ग्यास नपाएपछि डिलरमा उपभोक्ताको लाइन लागेको छ । बजारमा विशेष गरी नेपाल, एचपी, गीतालगायतका ग्यास सिलिन्डरको बढी अभाव छ । निगमसँग ग्यासको भण्डारण क्षमता नभएको र निजी क्षेत्रलाई ग्यासको कारोबार खुला गर्दा बेला बेला यस्तो समस्या आउने गरेको छ । निगमले खरिद आदेश (पिडिओ) जारी गर्ने र विभिन्न उद्योगीले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास आयात गर्छन् ।
ग्यास अभाव हुँदा गत २८ फागुनदेखि आधा तौलका सिलिन्डर वितरण गर्दै आएको निगमले ३० असारदेखि पूर्ण तौल (१४.२ केजी) भएका सिलिन्डर बजारमा बिक्री खुला गरेको थियो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पूर्ण तौलको ग्यास सिलिन्डर बिक्री खुला गरेसँगै बजारमा खाली सिलिन्डर भर्ने ग्राहक धेरै आउँदा ग्यासको माग बढी भएको दाबी गरे । ग्यासको आयात नियमित रूपमा भइरहेको तर माग बढेकाले अभाव देखिएको उनले जानकारी दिए । ग्यासको आयात नियमित भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उनले उपभोक्तालाई आग्रह गरे ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पछिल्लो समय पूर्ण तौलको सिलिन्डर भर्ने उपभोक्ता बढेकाले अभाव देखिएको जानकारी दिए । “पछिल्लो चार महिना आधा तौलको सिलिन्डर बिक्री गर्दा बढी सिलिन्डर बजारमा गएको र केही ग्राहक पूर्ण तौलको भर्ने भनेर आएनन्,” श्रेष्ठले भने , “अहिले पूर्ण तौलको सिलिन्डर दिन थालेपछि खाली सिलिन्डर भर्न आएपछि माग बढ्दा अभाव देखिएको हो ।”
आधा तौलको सिलिन्डर वितरण गर्दा बजारमा धेरै गएको र पूर्ण तौल गर्दा कम सङ्ख्यामा सिलिन्डर वितरण भएको उहाँको भनाइ छ । ग्यासको आयात नियमित भइरहेकाले हप्ता-१० दिनमा अभाव कम भई ग्यासको आपूर्ति सहज हुने उनको दाबी छ । नेपाल ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले केही उद्योगले रिफिलिङ प्लान्टबाट सिलिन्डर बिक्री गरेकाले बजारमा अभाव भएको जानकारी दिए । माग धेरै भए पनि उद्योगीले डिलर कहाँ कम ग्यास पठाएकाले उपभोक्ताले सहजै पाउन नसकेको उनको भनाइ छ । पश्चिम एसियाली मुलुकको युद्धले गर्दा गत फागुन महिनामा ग्यास कम आयात हुँदा बजारमा ग्यासको अभाव थियो । त्यतिबेला निगमले आपूर्ति व्यवस्था सहज पार्न आधा तौलको सिलिन्डर चार महिना वितरण गर्दा बजारमा ग्यास अभाव हटेको थियो । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले कोटा अनुसार ग्यास नियमित रूपमा दिइरहेकाले आपूर्तिमा समस्या नभएको निगमले जनाएको छ । निगमका अनुसार गत चैतमा ३८ हजार मेट्रिक टन ग्यास आयात भएकोमा वैशाखमा घटेर ३२ हजार मेट्रिक टन आयात भएको थियो ।
यस्तै जेठमा ३३ हजार मेट्रिक टन आयात भएकामा आसारमा बढेर ४४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । साउन १५ सम्म २६ हजार मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । सामान्य अवस्थामा मासिक ४५ हजार मेट्रिक टनदेखि ५० हजार मेट्रिक टन ग्यास खपत हुने गर्छ । निगमका अनुसार बजारमा डेढ करोड सङ्ख्यामा सिलिन्डर छन् । यसैबिच निगमले बजारमा एक्कासि ग्यासको माग बढेपछि आपूर्ति सहज बनाउन शनिबारदेखि टेकु कार्यालयबाट वितरण सुरु गरेको छ । निगमका अनुसार बिहान ११:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण गरिएको छ । टेकु कार्यालयमा आइतबार ग्यास लिनेको भिड लागेको निगमले जनाएको छ । यस्तै साल्ट टे«डिङ कर्पोरेसन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ । ५९ वटा ग्यास उद्योगले ग्यास आयात गरी वितरण गर्दै आएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८