• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै

  • खबरदाता

प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदै छ ।

सम्बन्धित जिल्ला र क्षेत्र पुगेर उमेदवारले आज जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा मनोनयन दर्ता गर्नुपर्नेछ । उमेदवारी मनोनयनका लागि बिहान १० देखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उमेदवार दर्ता गर्दै छ ।

आयोगले उमेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उमेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उमेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् । छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्नु पर्नेछ ।

नेपाली कांग्रेसले केही क्षेत्रका उमेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले सबै निर्वाचन क्षेत्रमा उमेदवार छनोट गरिसकेको जनाएको छ ।

एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उमेदवार छनोट गरी उमेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।

उमेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।

कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।

  • प्रकाशित मिति : माघ ६, २०८२, मंगलवार ०६:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८