• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बोल्दा बोल्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

  • खबरदाता

बोल्दा बोल्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको मृत्यु

बुटवल । रुपन्देहीमा १३ उद्योगमा नेपाल विद्युत् प्राधिकरणले गरेको बिजुली कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।

बिहीबार (कात्तिक १३) अचानक ढलेका गौतमलाई उपचारका निम्ति मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले क्रिमसन अस्पताललाई उद्धृत गर्दै जानकारी दिए ।

गौतमले बुधबार (कात्तिक १२) सिद्धार्थ उद्योग वाणिज्य संघमा भएको बैठकमा संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने बताएका थिए ।

धर्ना कार्यक्रममा उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगीलाई फसाएको आरोप लगाउँदै श्रमिक एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

उनले उद्योगीले नियमित रूपमा मासिक रूपमा विद्युत् महसुल तिर्दै आएकामा एक्कासि चार वर्षको बिल थमाउँदा उनीहरू पीडित भएका बताएका थिए ।

“आमजनमानसमा भ्रम सिर्जना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने पारिएको छ, म यहीँबाट प्रमाण दिन चाहन्छु– उद्योगपतिले ठगेको छैन,” उनले भने, “सरकार र विद्युत् प्राधिकरणको गैरजिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युत्का कर्मचारीहरूले आफ्नो खल्तीबाट तिर्नुपर्छ ।”

श्रमिकलाई गुमाउन नचाहेको बताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । त्यसपछि उनी ढलेका थिए । लगत्तै उपचारका निम्ति उनलाई क्रिमसन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनको मृत्यु भएको अध्यक्ष आचार्यले जानकारी दिए ।

 

  • प्रकाशित मिति : कात्तिक १३, २०८२, बिहीवार १३:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८