• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रास्वपाको चेतावनी– संसद्मा प्रश्न गर्नुअघि नै गृहमन्त्रीको जवाफ स्वीकार्य हुँदैन

  • खबरदाता

रास्वपाको चेतावनी– संसद्मा प्रश्न गर्नुअघि नै गृहमन्त्रीको जवाफ स्वीकार्य हुँदैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसद्बाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । सोमबार (जेठ १२) सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकबाट गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा प्रश्न उठाइएपछि अनुसन्धानका निम्ति मार्गप्रशस्त गर्नुपर्नेमा रास्वपाले जोड दिएको छ । मंगलबार (जेठ १३) बस्ने संसद् बैठकमा सशक्त प्रतिपक्षका रूपमा गृहमन्त्रीको राजीनामा माग गर्ने दलको निर्णय छ ।

सदनमा सांसदले प्रश्न सोध्न नपाई गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य नहुने उनले स्पष्ट पारे । पहिला तथ्यका साथ आफूहरूले गृहमन्त्रीलाई प्रश्न गर्ने र त्यसपछि मात्र जवाफ सुन्ने झाले बताए।

नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा ‘क्लिन चिट’ दिने अधिकार उक्त पार्टीका पदाधिकारीलाई नरहेको उनले तर्क गरे । उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानका निम्ति कांग्रेसले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

आफ्ना नेतामाथि यसअघि प्रश्न उठाइँदा कांग्रेसले २२ पटक संसद् बैठक अवरोध गरेको विषय पनि सदनमार्फत स्मरण गराइने उनले बताए । अरू दलभन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउने उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

  • प्रकाशित मिति : जेठ १२, २०८२, सोमवार २१:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८