• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फेरि हेर्न नमिल्नेमा पर्‍यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट

  • खबरदाता

फेरि हेर्न नमिल्नेमा पर्‍यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले पनि हेर्न नमिल्नेमा राखेको छ।

पटक-पटक हेर्न नमिल्नेमा पर्दै आएको उक्त रिट सोमबार प्रधान न्यायाधीश राउत र पाण्डेयको इजलासमा परेको थियो। तर उक्त इजलासमा पनि हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए।

लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडिआइजी छविलाल जोशीको रिट पनि एकसाथ राखिएको थियो।

आइतबार लामिछानेको रिट न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो। उक्त इजलासले पनि हेर्न नमिल्ने भएपछि हेर्न नमिल्नेलाई तर्काएर बाँकीले गोला तान्ने व्यवस्था गर्न आदेश दिएको थियो।

उक्त आदेशसँगै सोमबार प्रधानन्यायाधीश राउत र न्यायाधीश पाण्डेयको इजलासमा परेको थियो।

सामान्यतस् बन्दी प्रत्यक्षीकरणको रिट पहिलो प्राथमिकतामा पर्ने गर्दछ तर लामिछानेको यो मुद्दा योसँगै छैटौं पटक हेर्न नमिल्नेमा परेको छ।

रविको बन्दी प्रत्यक्षीकरणको रिट सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो। तर उक्त इजलासले हेर्न मिलेको थिएन।

वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो।

त्यसपछि वैशाख २८ गते न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल, वैशाख ३० गते हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठ र वैशाख ३१ गते नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासमा हेर्न नमिल्नेमा परेको थियो।

 

  • प्रकाशित मिति : जेठ ५, २०८२, सोमवार १४:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८